Sunday, October 11, 2020

प्रिय काल (कविता)


भावनाका लासहरु अनायास पछ्याइरहेका छन्

चितासम्म पुग्ने बाटो खोजी गर्ने कसरी होला?

तिम्रा अवयवहरु एकएक गरेर झर्दैछन्

जुन मनोदशा साथ भएपनि चिता भेटिएन।


आमाका दुधका धाराहरु सुकिसकेका छन्

नितान्त तिर्खाएको मन, कहाँ गएर बिसाउने होला

तिमी आउन सक्दैनौ भने धुँवा  नउडाउँदै राम्रो

विकल्प केही न केही पक्कै होला त चिताको?



भाग्य पढ्न सक्दैनौ भने, आँखा बन्द गरेकै राम्रो

कामका बेला अविच्छिन्न यात्रा,  मृत्युवरणका लागि 

नविन विकल्पको खोजि गर्दैगर्दा  घाइते हुनुपर्दछ

झल्यास्स ब्युँझिदा वरिपरि आगो सल्किरहेको किन?



आत्मामा पारिएका घाउहरु एकहोरो दुखिरहेका छन्

तिमी कतै साथ हुन सक्दैनौ भने क्षितिजको लागि के काम

विकल्पको खोजीमा आमा गुमाउन सकिन्न

प्रिय लाग्यो भन्दैमा भगवान बोकेर हिँड्न चाहन्न ।



म त  पहिलेदेखि नै रूष्ट मान्छे, तिम्रो सोचाइमा

कल्पनाका कुरा मबाट सधै टाढा रहेका हुन्छन्

तिमी रमाउन सक्छौ भने कल्पना तिम्रो साथै छ

मलाई त केवल वास्तविकता भित्रको चिता प्यारो छ।



कुमालेको चक्र झैं फनफनी घुमेको मेरो जिन्दगीमा 

तिम्रो आगमनको कुनै अर्थ छैन होला सायद

तर पनि म कसैको व्यग्र प्रतीक्षा गरिरहेको हुन्छु

किनकी काल पनि उत्तिकै प्रिय लाग्छ मलाई। 


२०७७




शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...