Monday, January 27, 2020

पहिलो पाहुना (कथा)



झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा ।

हतार हतार अफिसको काम सकाएर घर जानै हतार हुन्छ मलाई सँधै । यो मेरो विगत चौध वर्षदेखिको दैनिकी हो जसबाट म सन्तुष्ट छु र छैन पनि । अफिसमा नयाँ हाकिम आएको छ दिन भयो आज बल्ल उसले परिचयात्मक कार्यक्रम राखेको थियो । त्यसैको अलमलमा आज घर फर्कन ढिला भयो । नत्र त म सँधै सात बजेको हाराहारीमा घर पुग्थेँ ।

हुन त बेलैमा घर पुगेर पनि कसलाई  पो समय दिनु थियो र कोही त थिएन साथमा । विगत बाइस वर्षदेखि एक्लै बस्दै आएकी छु । मलाई राम्रोसँग याद पनि छैन कि म यो घरमा कसरी आइपुगेँ भनेर ।

म बस्दै गरेको घर भाडाको हो तर मैले भाडा तिर्नु पर्दैन । घर मालिक को हो पनि मलाई थाहा छैन । यो कोलोनीमा उसको सयवटा भन्दा बढी घर छन् भन्ने थाहा छ सबैलाई तर कसैले पनि उसलाई आजसम्म देखेका छैनन् । महिनाको समाप्ति पछि सबैजना लाईन लागेर बैंकमा उसको घरको भाडा जम्मा गरिदिन्छन् तर म गर्दिन ।

म दश वर्षकी हुँदा सम्म एक विदेशी दम्पतिसँग बस्थें । उनीहरुले नै हो रे मलाई सात महिनाको उमेरमा यहाँ लिएर आएका आफ्नो सन्तानको रुपमा अनाथालयबाट । तर मलाई त याद हुने कुरै भएन । म करिब तीन या चार वर्षदेखि हुँदा देखिका कुराहरु भने सम्झन्छु । जीवन सामान्य नै थियो । मलाई अरु त ठीकै लाग्छ तर यो बिराटनगरको गर्मी भने पटक्कै मन पर्दैन ।

म फोर्थ स्ट्याण्डर्डमा हुँदा मेरा धर्म मातापिताको रानी भन्सार इलाकामा कार दुर्घटनामा परेर देहान्त भयो म पनि त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ । सम्झदाँ पनि मुटु काम्नेगरी डर लाग्छ । आमाले कार चलाउनु भएको थियो बाबा अगाडीको सीटमा र म पछाडी थिएँ । मलाई सम्झना भएसम्म बाबा आमालाई कार चलाउन सिकाउँदै हुनुहुन्थ्यो । एक्कासी हाम्रो कार विपरित दिशाबाट बेगले आएको दुग्ध संस्थानको ट्याङ्करसँग जुध्यो र उक्त ट्याङ्कर हाम्रो कारमाथि चढ्यो । आमाको तत्काल र बाबाको मोरङ जिल्ला अस्पतालमा तीन दिन पछि देहान्त भयो त्यसबेलादेखि नै म पुन टुहुरी भएँ ।
हामी बस्दै आएको घरको तल्लो फ्लोरमा नेवार परिवार बस्छन् । आमाबाबाको देहान्त पछि उनीहरुले नै मलाई हुर्काए बढाए । तर आफ्नै सन्तान जस्तो चाहिँ कहिले गरेनन् न त बोझ नै सम्झे । मेरो खानापिना स्कुलको खर्च घर भाडा सबै उनिहरुले नै गरिदिएका हुन् म आफू कमाउन सक्षम नभएसम्म । त्यसमा के स्वार्थ थियो वा विशुध्द समाज सेवा मैले अहिलेसम्म चाल पाएकी छैन ।
कुनै बेला घर मालिकलाई मेरो बारेमा कसैले भनिदियो होला शायद । म बाह्र क्लासमा हुँदा एकदिन घरको मुल ढोकामा एउटा लिफाफा आएको थियो । उक्त लिफाफा भित्र मैले चाहुन्जेल यो घरको म बसिरहेको फ्लोर बिना भाडा प्रयोग गर्न पाउने गरी ईच्छापत्रका रुपमा लेखिएको पत्र आएको थियो । मैले कानुनीरुपमा यसको आधार हुने कि नहुने भनेर अरुसँग सल्लाह गर्दा यो कानुनी मान्यता प्राप्त काजग हो भन्ने जानकारी पाए देखि घरको भाडा तिर्ने गरेकी छैन ।

बेला बेलामा मलाई ति घरधनी भगवान हुन् पनि लाग्छ अनि बेला बेलामा चाहिँ कुनै स्वार्थ !  तर अहिले यत्रो वर्षसम्म केही नकारात्मक कुराको संकेतसम्म पनि नआएको हुँदा मन आँफै बुझ्छ पनि ।
अटोबाट झरेर घर पुगेँ । कहिले काहिँ मात्र म रिक्सा प्रयोग गर्छु वास्तवमा मलाई यहाँका रिक्सावालाहरु मन पर्दैनन् । जति भेटेँ सबै एकोहोरा र जिद्दी टाइपका मात्र भेटेँ ।

बिहानको भात थियो फ्रिजमा । तताएँ । तरकारी केही थिएन । शिशीमा भएको मुलाको अचार र तातो दुधसँग बासी भात खाएँ । बेलुका प्रायः यस्तै हुन्छ मेरो खान्की । अल्छि लाग्छ दिनभरी अफिसमा काम गरेर बेलुका खाना बनाउन । बिहान जानाजान अलिक बढि पकाउने गर्छु रोटी होस् या भात ।

एकजनाको धन्दा कति नै हुन्छ र ? धन्दा सकेर बेडरुममा लागें । टिभी हेर्ने कक्ष पनि त्यही हो मेरो । हुन त लिभिङ्ग रुममा पनि टिभी छ तर एक्लै भएको बेला म प्रायः त्यो टिभी अन गर्दिन । कहिले काँहि अफिसका साथीहरु आएकाबेला भने त्यो टिभी चल्ने गर्छ ।

यसरी नै म बिराटनगरमा आफ्ना दिनहरु काटिरहेकी थिएँ । काठमाण्डौ जान मन लागेको थियो, आफ्नै अफिसको ब्रान्च पनि नभएको होइन तर किन र कता जाने के गर्ने भन्ने तर्कले कहिले राजधानी जान दिएन मलाई आजसम्म ।

हिजोको थकाई अलिक बढि नै भएछ क्यारे बिहान ढिलै आँखा खुले । सँधै म सँगै वाकमा जानेहरु आज फर्कँदै थिए म वाक जानेबेलामा । मलाई हेर्दै हाँस्दै पनि थिए परिचित अनुहारहरु, यसमा अंकलहरु धेरै थिए अंटीहरुभन्दा । कोलोनीका परिचित अंकलहरु सबैजना मलाई "बेटी" भन्छन् । म सबैलाई अंकल । अंटीहरु भने त्यति ध्यान दिदैँनन् मलाई । मलाई यो सँग केही लेनादेना छैन । यस्ता कुराहरुलाई म सँधै सामान्य रुपमा लिने गर्छु ।

वाकबाट आएर सामान्य ब्रेकफास्ट तयार गरेँ । लञ्चबक्समा त्यही खाजा खाँदेर म अफिसका लागि निस्केँ ।

सँधै जस्तो अटो अनि बस चढेर म अफिस पुगेँ । फाट्टफुट्ट साथीहरु आउँदै थिए । म अलिक छिटो पनि भएछु । नयाँ हाकिम भने अघि नै आइसकेको रहेछ । गुडमर्निङ्ग भन्न जान मन पनि लागेन । जतिबेला देखापर्ला वा क्याविनमा बोलाउला त्यति नै बेला अभिवादन गरुँला भन्ने लाग्यो र लागे आफ्नो क्याबिन तिर ।

कुर्सीमा बस्दै गर्दै पहेँलो स्टिकर नोटमाथि आँखा पर्‍यो जुन मेरो कम्प्युटरको स्क्रिनमा टाँसिएको थियो, जसमा मलाई कार्यालयमा आउनासाथ हाकिमको क्याबिनमा जानू भन्ने खालको उर्दी थियो । हाकिमको क्याबिनमा जानु भन्दा पहिले जो स्टाफको मनमा पनि केही गल्ती भएको छ कि भन्ने एक प्रकारको अज्ञात त्रास भइ नै रहन्छ । यति बेला मेरो मनमा पनि त्यही अवस्था थियो ।
क्याबिन भित्र पुगेर अभिवादन गरेँ । हाकिमको बस्ने इशारा पाएर बसें ।

"सरिता, तपाइँको काम गर्ने तरिका मलाई एकदम मन पर्‍यो । म भन्दा पहिलेको बोसले पनि तपाइँको तारिफ नै गरेका थिए । तपाइँलाई पुरस्कार स्वरुप हामीले सेन्ट्रल अफिसमा सिनियर ब्रान्च मेनेजरको रुपमा प्रोमोट गरेर पठाउने निर्णय गरेका छौं ।"
"……"
"किन मौन हुनुहुन्छ ? हाम्रो अफर मन परेन र यहाँलाई ?"
"हैन सर त्यस्तो त तर यहाँ भन्दा सेन्ट्रल अफिसको काम टफ छ भन्ने थाहा पाएकी छु मबाट संभव होला र त्यो सब भन्ने सोचमा परेकी हुँ सर ।"
"त्यो कुनै नयाँ कुरा भएन नि काव्या मल्टिनेशनल कम्पनीका लागि । हरेक प्रदेशका नियम कानुन अनुसार काम गर्ने तरिका अलिक फरक हुने मात्र हो अरु केही टफ छैन । त्यो पनि तपाइँका लागि त झन् छँदैछैन । "
"ओके सर आई अण्डरस्ट्याण्ड । ह्वेन सुड आइ ज्वाइन सेन्ट्रल अफिस ?"
"एजसुनएज पोसिबल ।"

म क्याबिनबाट निस्केँ । अरु साथीहरु पनि आइसकेका रहेछन् । ह्वाट्सएपको ग्रुप मेसेजबाट सबैलाई मेरो सरुवाको बारेमा जानकारी भै सकेछ । सबैले प्रमोशन भएकोमा बधाई दिए । कत्तिले चाहिँ मिस गर्ने छौं भन्ने खालका भाव व्यक्त गरे । यो सामान्य नै हो अफिसियल बातावरणमा । मैले पनि सामान्य रुपमा नै लिएँ । एक हप्ता भित्र मैले सिटि अफिस छाडेर राजधानी जानु पर्ने भयो । त्यसका तयरीका लागि मलाई पाँचदिनको लागि छुट्टी पनि मिल्यो ।

आफ्नो निवासमा आएर तल्लो फ्लोरमा बस्ने अंकल अंटीसँग सबैकुरा छलफल गरेँ । उहाँहरुले आफ्नो चाहिने सामान बाहेक अरु यहीँ छाडेर जानु भन्ने सल्लाह दिए । घरवालासँग कुनै विवाद भएमा वा घर खाली गर्नुपर्ने अवस्था आएमा हामी हेर्छौं भनेर मलाई सान्त्वना पनि दिनुभयो । उहाँहरुको ममता देखेर आँशु पनि आयो हल्का ।

काठमाण्डौ एअरपोर्टमा उत्रनासाथ आफू भित्र भएको राजधानी प्रतिको कोतुहलता र माया एक्कासी बढेर आयो आँखा रसायो पनि ।

अफिसले नै बस्ने फ्ल्याटको व्यवस्था नक्साल तिर गरेको हुनाले सिधै त्यतैतिर लागेँ ट्याक्सी लिएर । ट्याक्सी चालकसँग ठेगानाको बारेमा कुरा गरें । उसले मलाई भनिएकै ठेगानाको घरमा पुर्‍याइदियो । पैसा दिएर सामान लिएर घरतिर लागें ।

सेक्युरिटि गार्डसँग मागेर आफ्नो फ्ल्याटको साँचो लिएँ । आफ्नो परिचय पत्रको फोटोकपी पनि बुझाउनु पर्ने रहेछ त्यो पनि बुझाएँ ।

बिराटनगरको जस्तो फराकिलो घर थिएन । ठूलो अपार्टमेन्टमा चार तल्ला माथिको एउटा फ्ल्याट रहेछ । बढीमा एक सानो परिवारका लागि मात्र हुने गरी चिटिक्क गरी बनाइएको ।
मूल ढोकाबाट छिर्ने बित्तिकै लिभिङ् रुम,  दाहिने तिर किचन र डाइनिङ्ग, देब्रे तिर रेस्ट रुम, अनि सिधा अगाडि बेडरुम । भित्तामा ठूलो टिभी, सबै सामानहरु राम्रोसँग मिलाएर राखिएको थियो । एकदम सफा पनि । काठमाण्डौमा पानीको हाहाकार छ भन्ने थाहै भएको हो । धारा त थिए तर पानी आउँछ कि आउँदैन भनेर चेक गर्न मन लाग्यो । नजिकै को वास बेसिनको धारा घुमाएँ बेतोडले पानीको फोहोरा छुट्यो मेरो लुगा भिज्ने गरी । मनमनै आफ्नै बचकाना हर्कतसँग हाँसो पनि उठ्यो । पालैपालो भएभरका सबै धाराहरु चेक गरें सबैमा पानी आइरहेको थियो । मन खुशी नै भयो । एकछिन पानीको धार हेरिरहेँ त्यसैमा रमाएँ । पानीको दुरुपयोग गर्न हुन्न भन्ने लागेर हतार हतार सबै धाराहरु बन्द गरें ।

ब्यागका सामानहरु सबै निकालेर मिलाउन थालेँ ।

डोरबेल बज्यो । म आउन नपाउँदै को आयो होला भन्ने कोतुहलताले छिटो छिटो ढोका खोलेँ ।

"म्याडम नमस्कार । म सागर" बीस बाइसको हँसमुख काले केटोले हात जोड्यो । काले भए पनि उ अति हँसिलो थियो । हाँस्दा उसका गालाका खोपिल्टा राम्रै देखिन्थे । कालो अनुहारमा सेतो दाँत सुहाएको थियो । गठिलो शरिर, ठूला आँखा, सपक्क मिलाएर कोरिएको कपाल, म त हेरेर दंग परेँ । अलिक बेरपछि आफूलाई सम्हालेँ ।
"नमस्कार । म सरिता ।"
"यात्रामा कुनै अप्ठेरो त भएन नि म्याडम ?"
"भएन खासै । नयाँ ठाउँ रमाइलो नै लाग्यो ।"
"हस् म्याडम भोलि अफिसमा भेटुलाँ अब । हजूर आराम गर्नुस् । म सरलाई हजूर राम्ररी आइपुग्नु भएको जानकारी दिन्छु ।"
"मैले सरलाई जानकारी दिइसकें सागरजी ।"
"हो र हस् हस् । अनि म्याडम मलाई सागर मात्र भन्दा हुन्छ जी भन्नु पर्दैन । म हजूर भन्दा जुनियर स्टाफ हुँ ।"
"मैले सिनियर वा जुनियर भन्ने सोचेर सागरजी भनेको होइन यो मेरो बानी हो सागरजी ।"
सेता दाँत देखाएर केटो हाँस्यो । मलाई औधि मन पर्‍यो ।
"बस्नुस म चिया बनाउँछु ।"
"पर्दैन म्याडम मैले भर्खर चिया पिएर आएको । हजूरले दुःख नगर्नुस् ।"
"मलाई दुःख छैन चिया बनाउन रमाइलो लाग्छ । मैले पनि पिएको छैन । तपाईं मेरो नयाँ निवासको पहिलो पाहुना हुनुहुन्छ । म चिया पनि नपिलाई कसरी बिदा गर्न सक्छु र ! "
"हस् हजूरको चाहना हो भने म केही भन्दिन अब म्याडम ।"
ऊ नजिकैको कुर्सिमा अलिक असजिलो गरेर बस्यो ।
"सजिलो सँग बस्नुस् आफ्नै घर सम्झेर ।"

केही नबोली अलिक सहज तरिकाले ऊ बस्यो ।

म किचनमा लागें । सबै सामानहरु पहिले नै राखिएका हुनाले चिया पकाउन मलाई धेरै समय लागेन । म चिया लिएर निस्कदाँ सागर कुनै म्यागाजिन पल्टाएर बसेको थियो ।
"ल सागरजी चिया पिउनुस् ।"
"………." मौनता मा नै उसले चियाको कप उठायो । पत्रिका मै हेर्दै चियाको चुस्कि लिन थाल्यो ।
"चिया पिउँदा बोल्ने बानी छैन हो ?" मैले ठट्टा गरेँ ।
ऊ अलिक अहसज महसुस गर्दै मतिर हेरेर फिस्स हाँस्यो । उसको हाँसो मलाई मन पर्न थालिसकेको थियो ।

चियाको चुस्कीसँगै नयाँ अफिस र स्टाफहरुको बारेमा मैले सामान्य कुराहरु सागरलाई सोधेँ । उसले आज्ञाकारी बालकले झैं सबै प्रश्नको उत्तरहरु दियो ।

सामान्य कुराकानी पछि "धन्यवाद !" भन्दै ऊ बिदा भयो । मेरो मनमा भने उसको हाँसो नै बसिरहेको थियो । म जीवनमा पहिलो पल्ट कुनै केटालाई देखेर मोहित भएकी थिएँ । मैले सम्झेसम्म मलाई यस अघि कहिले यस्तो भएको थिएन । भोलि अफिसमा भेट भैहाल्छ भनेर मन बुझाएँ ।

बिहान नौबजे फेरी डोरबेल बज्यो । मनमा सागरको चित्र अंकित गर्दै ढोका खोलेँ । अर्कै अधवैंशे खालको मान्छे पो थियो ढोकामा ।

"नमस्कार म्याडम । म हरि । हजूरको ड्राईभर । हाकिम साबले पठाउनु भएको ।"
"ए हरिजी नमस्ते । सरसँग मेरो कुरा भएको थियो । तर कति छिटो आउनु भएको त ?"
"सरले तुरुन्त जानू भन्नु भएकोले नि म्याडम ।"
"तपाईं बस्दै गर्नुस् म तयार भएर आउँछु अनि निस्कौला ।"
"हस् ।"

घरबाट निस्केको पैंतिस मिनेटमा हामी अफिस पुग्यौं । पहिलो पल्ट काठमाण्डौ आएको हुँदा ठाउँहरुका बारेमा हरिजीलाई सोध्दै सोध्दै आएकी थिएँ । अफिस भएको ठाउँ टेकु रहेछ ।

अफिसमा मेरो स्वागतको राम्रो तयारी गरिएको रहेछ । सबै स्टाफसँग सरले चिनजान गराउनु भयो । सागर सबै तिरको काम सम्हाल्दै फुरफुर गरिरहेको थियो । उसको हँसिलो मुहारले मलाई पनि उर्जा प्राप्त भैरहेको थियो । सरसँग भने मेरो पहिले नै बिराटनगरमा नै चिनजान भएको थियो कार्यक्रमको शिलशिलामा ।

नयाँ क्याबिनमा नयाँ जिम्मेवारी ।

आफ्ना मातहतका सबै स्टाफहरुलाई मिटिङ हलमा बोलाएर परिचय गरेँ । सबैले गरिरहेको कामको बारेमा पनि जानकारी लिएँ । मैले काम गर्ने शाखा नयाँ अवधारणामा आधारित थियो त्यसैले सबै कर्मचारीहरु म भन्दा साना नै थिए उमेरमा । सागर पनि मेरै कर्मचारीको लिस्टमा थियो । सबैका अगाडि मैले सागरप्रतिको मेरो मनलाई लुकाएँ अनि सामान्य रुपमा नै प्रस्तुत भएँ । मिटिङ् सकियो । म पहिले आफ्नो क्याबिन तिर लागें अनि अरु सबै बिस्तारै ।

कुर्सीमा बस्नासाथ पानी पिउन मन लाग्यो मैले टेबलको कलबेल बजाएँ ।
ढोकामा सागर देखा पर्‍यो ।

"हजूर म्याडम ।"
"ए तपाईं पो सागरजी । असिस्टेन्ट छैनन् र मलाई पानी पिउन मन लागेको थियो ।"
"हजूर म्याडम छन् असिस्टेन्ट पनि । तर हजूरले १०२० मा इन्टरकम गर्नुपर्छ पानी वा अरु खानेकुराका लागि । हाम्रो किचनस्टाफले सर्भ गर्छन् ।"
"हस् धन्यवाद सागरजी ।"
"हस् म्याडम ।" ढोका बन्द गरेर सागर बाहिरियो ।

मैले पानी मगाएँ सागरले भने झैं कल गरेर ।

नयाँ अफिस अनि आफूले पाएको नयाँ जिम्मेवारीका बारेमा सोच्दै र अध्ययन गर्दै खाजा खाने बेला भएछ । सबैलाई अफिसले नै खाजा दिने रहेछ । मलाई मन पर्‍यो यो सिस्टम । उता बिराटनगरमा त म आफ्नै घरबाट बोकेर जाने गरेको थिएँ ।

खाजा पछि फेरी आफ्नै काममा मगन भएँ ।

साढेचार तिर मैले सागरलाई क्याबिनमा बोलाएँ ।

म भन्दा जुनियर स्टाफ भएपनि ऊ त्यहाँको पुरानो स्टाफ भएकाले सबैकुरा उसलाई सोध्ने गर्न थालेँ । उसले झर्को मान्छ किन भनेर अन्त अन्तका कुराहरु पनि सोध्न थालेँ । तर उसले झर्को नमानी बढो अदवका साथ सबै कुराहरुको राम्रो जानकारी मलाई दियो ।

यो क्रम अब सधैं चल्न थाल्यो अफिसमा । यसरी नै छ महिना बितेको पत्तो भएन मलाई ।
सागरसँगको सामिप्यता मलाई प्यारो लाग्न थालेको थियो । विभिन्न बहानामा अफिसको क्याबिन र बिदाको दिन घरमा बोलाउन थालेकी थिएँ म । ऊ पनि मलाई सजिलै साथ दिइरहेको थियो । हुँदा हुँदा हामी सपिङमा पनि सँगै जान थालेका थियौं । हाम्रो बारेमा अरुले त खासै वास्ता गरेको मलाई थाहा छैन तर मेरो ड्राइबरले चाहिँ याद गरेको रहेछ । म एक्लै हुँदा के के भन्न खोजे जस्तो पनि गर्थ्यो तर मुख खोल्न भने सकेको थिएन ।

सागर र मेरो घनिष्टता झन् झन् बढ्दै गयो । मलाई उसको अनि उसलाई मेरो सामिप्यता मन पर्न थाल्यो । मैले एकदिन उसलाई मेरो मनको कुरा भनें । उसले केही उत्तर दिएन । म उसको उत्तरको प्रतिक्षामा नै थिएँ ।

शनिबारको दिन थियो । म घरमा नै टिभी हेरेर बसेकी थिएँ । सागर आयो घरमा । ऊ करिब पन्ध्र दिनपछि आएको थियो । म खुशी भएँ उसलाई देखेर । तर उसको मुहार भने मलिनो थियो ।

"के भयो सागर तिमी किन दुःखि देखिन्छौ नि"
"म्याडम म के भनुँ । हामी नजिक भएको कुरा हाकिम साबलाई मन परेको छैन । हुन त मलाई पनि राम्रो लागेको छैन । हाम्रो स्तर पनि मिल्दैन र जात पनि ।"
"किन त्यस्तो भन्छौ तिमी । सरले केही भन्नु भयो र"
"धेरै हिमचिम गरिस् भने निकाल्दिन्छु कामबाट भन्नुभएको छ ।"
"यसमा तिम्रो केही दोष छैन । मैले नै तिमीलाई नजिक आउने इशारा गरेकी थिएँ । म सरसँग कुरा गर्छु ।"
"…………" ऊ निक्कै बेर मौन रह्यो । मैले पनि उसको मौनता भंग गरिन ।

उसको हात मैले आफ्नो हातमा लिएँ । उसले म तिर हेर्‍यो अनि मुसुक्क हाँस्यो । केही नबोली हातमा हात लिएर हामी धेरै बेर बसिरह्यौं ।

बिस्तारै मेरो हात छुटाएर सागर उठ्यो । केही नबोली सरासर ढोका खोलेर बाहिर गयो । मैले केही सोच्न नपाउँदै ऊ भर्‍याङ्ग ओर्लिसकेको थियो । मैले अगाडीको झ्यालबाट उसलाई जाँदै गरेको देखेँ ।
केही दिनसम्म हाम्रो बोलचाल भएन न त हेरा हेर नै । मेरो मनमा आँधि चलिरहेको थियो । सरसँग म कुरा गर्ने पक्षमा थिएँ । यो जे भइरहेको थियो मेरो मनको चाहना अनुरुप भइरहेको थियो । म सागरलाई माया गर्न थालेकी थिएँ । एउटै अफिसका स्टाफका बीचमा माया बस्न सक्दैन भन्ने कुरा पनि त होइन । मायाले न जात देख्छ न रुप न त धन वा वैभव नै । मेरो मायाले त उमेर पनि देखिरहेको थिएन । सागर म भन्दा १०/१२ वर्ष जति कान्छो थियो त्यसमा मलाई कुनै आपत्ति थिएन । सागरले पनि उमेरको विषयलाई लिएर कहिले कुरा गरेन । कहिले काहिँ स्तर र जातको कुरा गर्थ्यो तर म हाँसेर उडाउँथे ।

मैले सरसँग यो बिषयमा कुरा गरेँ । 

"एकपल्ट सोधेको मात्र हो अरु मैले केही भनेको छैन म्याडम सागरलाई । यो तपाईंको व्यक्तिगत कुरा हो म हस्तक्षेप गर्दिन"  भन्ने जवाफ दिनु भयो ।

सरले यति भनिसक्दा पनि सागर किन म बाट टाढा हुन खोजिरहेको थियो मैले बुझेकी थिइन ।
शनिबार साँझ मैले उसलाई घरमा बोलाएँ । ऊ मेरो घरमा आयो । हामीबीच धेरै कुराहरु भए । सरले मलाई भनेका कुराहरु मैले उसलाई भनेँ । उसले केही प्रतिक्रिया दिएन । मैले धेरै कुराहरु उसलाई सम्झाएँ ।

"तिम्रो हृदयको कुनै सानो कुनामा पनि म प्रति माया छ भने तिमीले भन्नै पर्छ किन म बाट टाढा हुन खोज्दैछौ ?"
"मसँग केही छैन म्याडम । म गरिब छु, टुहुरो हुँ, तल्लो जातको हुँ, कम पढेको छु, कुनै पक्षबाट पनि म हजूरको बराबरी गर्न सक्दिन भन्ने कुरा मेरो मनले मलाई बारम्बार भनिरहन्छ त म के गरुँ !"
"ह्या सागर तिमी पनि । यस्तो सानो कुरालाई लिएर म तिमीलाई गुमाउन चाहन्न । म पनि त टुहुरी हुँ, मेरो पनि जात थाहा छैन मलाई, म नेपाली हुँ । तिमी पनि नेपाली हौ यति भए पुग्छ मलाई । म तिमीलाई माया गर्छु र तिमी पनि मलाई । यो भन्दा बढि योग्यता वा समानता केही पनि चाहिन्न मलाई ।"

मैले धेरै प्रयाश गरेर उसलाई सम्झाएँ । उसले मान्यो । हाँस्यो पनि । उसको त्यो हाँसो देख्न नपाएको धेरै नै भैसकेको थियो मैले ।

मेरो धेरै अनुनय पछि सागर आज मेरो घरमा बस्न राजी भयो । मैले मिहेनत गरेर आफूले जानेका र सागरलाई मनपर्ने धेरै परिकारहरु बनाएँ । म भान्छामा बसुन्जेल ऊ टिभी हेरेर बस्यो । खानेकुराहरु तयार भए पछि मैले उसलाई वाइन खाने प्रस्ताव राखेँ । पहिले त उसले इन्कार गर्‍यो तर मैले हाम्रो मायाको कसम दिएपछि भने उसलाई मान्न कर लाग्यो ।

राति अबेला सम्म हामीले वाइन पियौं र खाना खायौं । अनि एक अर्काका अँगालोमा बाँधिएर धेरै माया पिरती लगायत अन्य ब्यवहारिक कुराहरु पनि गर्‍यौं । कुरा गर्दै कतिबेला निदायौं थाहा नै भएन ।

म बिहान ब्युँझिएर सागरलाई बेडमा खोजेँ । तर भेटिन । यताउता हेरेँ । सागर त घोसे मुन्टो लगाएर सोफामा बसिरहेको रहेछ ।

"के भयो सागर तिमीलाई । ह्याङ्गओभर भयो कि के हो ?"
"हैन म्याडम मलाई केही भएको छैन ।"
"अनि किन पुर्पुरोमा हात राखेर बस्या त ?"
"म्याडम हजुरलाई केही थाहा छैन ?"
"के थाहा हुनु पर्ने मलाई । क्लियर्लि भन त ।"
"बिहे अघि जे नहुनु पर्ने हो हाम्रो बिचमा त्यो सबै भयो । सरी म्याडम । मैले आफुलाई रोक्न सकिन ।"
"हा हा हा तिमीले आफूलाई रोक्न नसकेको पो । हैन त्यस्तो त्यो मेरै राजीखुशीमा भएको हो सबै मेरै चाहनामा सागर ।"

उसले शिर उठाएर मलाई कर्के नजरले हेर्‍यो । तर केही बोलेन ।

म उसको नजिक गएँ उसलाई अँगाले । फेरी पनि हामी बीच गतरात जे भयो त्यो एक अर्काको चाहनामा नै भएको भन्ने कुरामा उसलाई आश्वस्त पारेँ र नुहाउन पठाएँ ।
अब सागर र मेरो बीचमा त्यस्तो दूरी केही रहेन । हाम्रो प्रेम सम्बन्धका बारेमा अफिसमा पनि सबैलाई थाहा भयो ।

बिदाका दिनमा सँगै घुम्न जाने गर्थ्यौं । रमाईलोसँग दिनहरु बितिरहेका थिए । एक अर्काका मनका एवम् तनका चाहनाहरु पनि पुरा भइरहेका थिए ।

अफिसको सेमिनारमा मलाई जर्मनी जानुपर्ने भयो केही दिनका लागि । मैले धेरै प्रयाश गरेर पनि सागरलाई आफूसँग लान सकिन । अफिसले अनुमति दिएन । सागर कुरा बुझ्थो उसले कुनै विवाद गरेन मसँग । एअरपोर्टसम्म पुर्‍याउन आयो । आँखाभरी आँशु पार्दै हामी छुट्टियौं । थोरै दिनका लागि भए पनि छुट्टिनु गाह्रो नै रहेछ । म बल्ल नाता सम्बन्धको बारेमा बुझ्दैथिएँ ।

एक्काइस दिन पछि म नेपाल फर्कें । एअरपोर्टमा सागरलाई खोजें तर ऊ मलाई रिसिभ गर्न आएको रहेनछ । सरको पिए र ड्राईभरदाई मात्र आएका थिए । मैले सागरको बारेमा सोधेँ तर कोही बोलेन । उताबाट मैले सागरलाई फोन गरेकी थिएँ । उसलाई म फर्कने दिन पनि थाहा थियो । मैले एसएमएस पनि गरेको थिएँ तर पनि ऊ मलाई रिसिभ गर्न आएको थिएन किन ?

मलाई सरासर अफिस नै जान मन लाग्यो । अफिसमा सरहरुसँग भ्रमण र यसका उपलब्धिका बारेमा कुरा गरिरहँदा पनि मेरो आखाँले सागरलाई नै खोजिरहेको थियो । बल्ल बल्ल कुराकानी सिध्याएर आफ्नो क्याबिनमा गएँ । सहयोगी स्टाफलाई बोलाएर सागरको बारेमा सोधेँ । उसले सागर दुईदिन देखि अफिस नआएको कुरा बताई । मैले कारण सोधे उसले केही भनिन ।

सरसँग पनि मैले सोधें । कहिले पनि केही नभनी कतै नजाने मान्छे दुईदिन देखि अफिस आएको थिएन । सरले पनि केही थाहा नभएको जानकारी दिनु भयो । मोबाइल पनि अफ नै थियो उसको ।
हरीदाईलाई भनेर गाडी लिएर उसको बस्ने क्वाटरमा गएँ । उसको ढोकामा बडेमानको ताल्चा झुण्डिएको थियो । वल्लो पल्लो क्वाटरकाले पनि केही थाहा नभएको भने । म निराश भएँ । अज्ञात भयले मलाई सताउन थाल्यो ।

अफिसका सबै स्टाफ मिलेर सागरको खोजी गर्‍यौं । तर ऊ कतै भेटिएन । आउला कि भनेर कुरेको पनि महिना दिन भयो तर सागर आएन न त उसको खबर नै ।

एक महिना पछि हामीले सागरको फोटो सहित नेपाल प्रहरीलाई खोजिको लागि गुहार्‍यौं । तर केही पत्ता लागेन ।

मेरो स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । काममा मन थिएन न त खानपिन मा नै । साँझ पर्नासाथ म वाईनको सहारा लिन थालेकी थिएँ । अफिसमा राम्रो काम गर्ने भनेर लागेको बिल्ला पनि खस्किदैं थियो ।

करिब तीन महिना पछि प्रहरी कार्यालयबाट फोन आयो तर खबर राम्रो थिएन । अफिसका सबै साथीहरु गयौं ।

हामीलाई सरासर मुर्दाघरमा लगियो । मेरो मनमा डडेलो लाग्न थाल्यो । आखाँबाट अश्रुधारा अबिरल बग्न थाले । सबैले मलाई नै हेरिरहेका थिए तर मलाई वास्ता थिएन, वास्ता थियो त केबल सागरको ।

क्षतविक्षत भएर कुहिन लागेको एउटा केटामान्छेको लाशको पहिचान गर्न भनियो । सबैले मेरो मुखमा हेरे । मसँग त्यत्रो हिम्मत थिएन कि म लाश हेरुँ त्यो पनि सागर हो कि भनेर !!
तर हेर्नै पर्‍यो । हिम्मत गरेर हेरें । चेहराबाट पहिचान पाउन सकिएन । मैले उसको हातमा हेरें अब मलाई पक्का भयो कि यो सागर नै हो । उसको हातमा मैले दिएको गणेशजीको मुर्ति अंकित धातुको ‌औंठी थियो ।

मेरो होश उड्यो । अकस्मात मेरो हृदयमा कसैले भाला रोपेको जस्तो भयो । भक्कानो छुट्यो । सबैले सम्हाले मलाई । मेरो दुःखमा अरु पनि सहभागि भए अफिसको स्टाफको नाताले तर मेरो त सागरसँग जीवन मरणको नाता थियो । सामान्य सरकारी कागजात पछि प्रहरीले लाश हामीलाई दियो । आर्यघाटमा हामीले उसको सद्गत गर्‍यौं । तर सागरको मरणको कारण हामीलाई थाहा भएन ।

सागरको लाश जलिरहेको थियो । मेरो मन व्याकुल थियो । म बेचैन थिएँ । आफ्नै आँखा अगाडी माया जलेको हेरीरहेकी थिएँ अन्यमनष्क भावमा । सागरमा मिल्नु पर्ने सरिता यहाँ आफैं सागरलाई जलाउँदै थिई । मेरो मनको डडेलो कसैले देखेको थिएन । भगवान पनि कति निष्ठुर हुने रहेछन् ।

सागरको लाशका आगोको लप्का माथि माथि उठ्दैथियो । म टोलाई रहेकी थिएँ त्यही हेरेर । अकस्मात मेरो पेटमा केही चलेको जस्तो भान भयो मलाई । यसो दाहिने हात पेटमा राखें । पक्का पनि केही चल्दै थियो भित्र । मलाई पूरा विश्वास भयो सागरले मलाई छाडेको रहेनछ । उसको भौतिक शरिर मेरो सामु नभएपनि म भित्र उसको मायाको अँङ्कुरण हुँदै रहेछ ।

निष्ठुर भनेकोमा भगवानसँग माफी मागेँ र धन्यवाद दिएँ मलाई सागरको अभावमा बाँच्ने सहारा दिएकोमा ।
प्रवास, २०७६

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...