Tuesday, March 17, 2020

मनको कल्पना (कविता)

मनको भाव उम्लियो आज कसरी सम्हलुँ
पानीको थोपा कसरी उड्यो गगन निहारुँ ।
उनको आभा पवित्र मन हृदय कोमल
बैंशको बेला उन्मादी हावा भावना सलिल ।।

बिहानी रुप शीतको थोपा मनमा कम्पन
सुवर्ण तल सरीता पथ सुशिल सम्पन्न ।।
चरीको गित नयन वाण उदार बिचार
आउने उनी बसेर लता नविन प्रहर ।।

आमाको काख धरती माथि उन्नत छहरा
पवन माद क्षितिज भरी शैशव लहरा ।
गगन रुने उदासी मन उनैको सम्झना
प्रकृति छटा मनको भार तनको रञ्जना ।।

लहरी केश उज्जैन कद नयन नशालु
हावामा छरी सुवाष मीठो निस्केकी मायालु ।
मिलेको कृपा इशको आहा उर्वशी रुपमा
कसरी दिउँ कल्पना कहाँ कसको उपमा ।।

फागुन, २०७६

म अनि तिम्रो मौनता (कविता)

हावा किन आयो आफ्नो झोक्का लिएर
अनि कसरी छाडेर गयो यहाँ मलाई
किन भन्ने मेरो सोधाइ होइन मेरो तिमीसँग
तर कसरी भन्ने अब उप्रान्त यहाँ ।

आमाको माया र वाग्मतीको पानी
म कहिले तुलना गर्न सक्दिन ।
तिमी जे भन प्रिय म कृष्ण कसरी बनूँ र !
राधा वा रुक्मिणी को हुन् र ?

मलाई वा मेरो मनका लागि धैर्य मात्र
आवश्यकता कसको भन्ने कुरा
जीवनका कुनै मोडमा पनि म चिप्लिन्न
तिमी बेकारमा शंका नगर न ।

फूल पनि त जूठो हो नि भवँराको
तैपनि भगवान उसैका भोका हुने
शंका वा उपशंकाको महल किन खडा
अनि म किन तिम्रा लागि अछुत र अपवित्र ?

भावनामा बग्दा पानीको वहाव कम हुने होइन
पानी आँफैमा पवित्र हो तर खोट अपवित्र
इशारा मैले गरेको छैन किन तिमी मौन ?
मलाई तोड्ने तागत देऊ तिम्रो मौनता आज ।

माघ, २०७६

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...