Sunday, May 31, 2020

मेरो मन र प्रकृति (कविता)

आहा कति राम्रो छटा तिम्रो मन नै हर्ने सधैं
तर धेरै बेर रहेन तिम्रो त्यो रुप बदिलयो
मन खिन्न भयो अनि अविच्छिन्न यादहरु हराए
तिमी त प्रकृति हौ रुप फेर्न सक्छ्यौ तर म ?

म कहिले पनि तिम्रो सामुन्ने उदाङ्ग हुन सक्दिन
चाहेर पनि तिम्रो चाह भन्दा पृथक हुन सक्दिन
तर मेरो पनि त रक्तरंजित मन न हो खोलेर हेर्दा
जे होस् राम्रोको लागि होस् मात्र भन्न सक्दिन ।

बाढी पहिरो अनि हावाहूरी तिम्रा रुपहरु
केश फैलाउँदै दाह्रा किटेर किन गड्गडाएकी
आज त धूलोको चक्रवातमा तिमी नमिठो मुस्कायौ
म त झसङ्ग भएँ तर के गरूँ मेरो मुटु कामेन ।

आखिर कहिलेसम्म तिमी बिकृत रहने र भन्या
मलाई तिमी सुन्दर भएको मात्र मन पर्छ
सर्वथा त्यो पनि त नहोला कि मैले चाहे जस्तो
आखिर तिमी प्रकृति आफूमा सन्तुलित तिम्रो गुण ।

मलाई केही नभन केही नगर म भन्छु नै तर तिमी नसुन्ने
आमा रोएको अनि तिमी रोएको उस्तै लाग्छ मलाई
सन्तानका सुखका लागि रोऊ अझ रोऊ झमझम रोऊ
म रोक्न सक्ने हेसियत राख्दिन केबल म निरीह हेर्छु मात्र ।

२०७७ जेष्ठ

Saturday, May 23, 2020

देश अनि मानवता (कविता)

वरीपरी छरिएका धूलोका कणहरु
तिमी संगाल्न सक्दिनौ भने कदापी
किन अबिच्छिन्न यादहरु पालेकी छ्यौ र
मान वा नमान तिमी म भन्दा पृथक कण हैन ।

भावनामा तरङ्गित हुने तिम्रो पुरानो बानी हो
तर केशराशी किन फैलाएको तिमीले
उदार हुनु र मन दुख्नु फरक कुरा हो
तैपिन तिमी न उदार न दुःखी किन ??

देशको माटो प्यारो हुने यहाँ अनि कण पनि
विदेशी भूमिमा जीवन उत्सर्ग गर्दा पनि
माया देशकै लाग्ने मलाई हरदम प्रिय
म त छिन्नभिन्न हुन सक्दिन तिमी र देश बीच ।

म भन्दिन किन तिमी उदास अचेल पियारी
हावा सधैं मायालु पनि त नहोला जगमा
माया त आखिर माया नै हो जसरी बहे पनि
पानीमा बहेको माया हावा तिमी नखोज है ।

मलाई ईश बन्नु त छैन केवल मनुष्य हुँ
त्यो त उसै भइने रहेछ किन चाहियो र मानवता
मलाई उदास देखेर मानव भाग्यो भन्न मिल्दैन
उदासीनतामा तिमी र म उस्तो लाग्छ अमानव ।

आमा र प्रेयसी (कविता)

म कहाँबाट आएँ धरतीमा भनी कहिले सोधिन
आमा को हुन् भनि कसैलाई किन सोधुँ म तैपनि
जीवन केवल अंकुरण मात्र पनि त होईन होला
किन सँधै तिमी मेरी आमाको मात्र कुरा गर्छ्यौ ?

आमा मात्र मेरी जननी हैनन् उनी पूजनीय पनि हुन्
तिम्रा धारीदार शब्दहरु पनि हाँसेर सहन्छिन् उनी
मैले पूजा नगरे पनि सदैव आशिर्वाद उनकै हुन्छ
तिमी पनि आमा बन अनि ज्ञान होला महत्ता उनको ।

कोपर्नु अनि चिथोर्नु किन आमालाई दूधको धारा पिएपछि
नमागे पनि त तिमीले पाएकै हो धरतीमा जीवन आज
आमा मात्र तिम्रो मन हुन् न कि थुल शरीरको भारी
म त भन्छु मन्दिर किन जाने जहाँ पत्थर मात्र छ ।

मनको भगवान आमा अनि आमा नै प्रकृति हुन
तिम्रो नशा नशामा आमाका रगत बगेका छन् हैन र
तिमी दोषी नबन है प्रिय तिमी पनि त आमा बनौली
अनि दूधको धारा चुसाउँदै शैशवकाल महसुस गरौली ।

मन्दिर किन धाउने अनि भगवान किन पुज्ने यहाँ
मानव योनीमा जन्म दिएर अमृत पिलाउने काम गर्ने
आमा जब मसँग छिन् भने तिमी पनि सोच एकबार
जीवन कहाँ होला  र बिना आमा अनि तिमी पनि बन एकबार ।

२०७७ जेष्ठ

Saturday, May 2, 2020

माया र पृथकता (कविता)

सबैले दिने माया र मेरो माया फरक होला
आमाको माया एउटै होला जुन म पृथक गर्न सक्दिन
केवल आफ्नो मुटु टुक्रा पारेर त को सन्तुष्ट होला
तिमी पनि त केही योगदान गर न मायामा प्रिय ।

मलाई केही चाहिएको छैन केवल तिम्रो साथ खोजेको
किन तिमी भौंतारिदैं छौ यता उता केवल आशमा
मेरो रगतको रङ्ग मन नपरेको भए बचन लगाउ
म त उस्तै देख्छु यहाँ समय र सान्दर्भिकता सबैको ।

पवन किन वहन्छ यो उसको रित हो धरामा
तिमी किन बहकिन्छौ ऊसँगै मौन रहेर भनत
वर्षा र वादल पर्याय होलान् नदी र समुद्र जस्तै
तर तिमी बाउँडिनु पनि त पर्याय होला ऊ जस्तै ।

केवल माया गरेर हेर हृदय कोमल हुनसक्छ यता पनि
उन्मादमा झाँक्रो फिजाउँदै नहिँड केवल काँडा भनेर
उसको त नियती हो च्यात्ने तिमी होउ या म के भो र
म भन्दिन ईच्छा त्याग केवल तिमी ईर्श्या त्याग आज ।

भोलिको दिन म तिमीलाई देखाउने प्रण त गर्न सक्दिन
तैपनि म आशा गर्छु सुन्दर बिहानीको तिम्रा लागि केवल
मन्द पवन अनि तिमी र म त्यो सुन्दर उपवनमा रमाउँला
धरतीले साथ दिएमा फूलसँगै तिम्रो हात पनि समाउँला ।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...