Saturday, March 6, 2021

अमूर्त मन (कविता)



हुन्न हुन्न किन भन्ने, भावनाका तारहरु जोडिएका बेला

आफ्नै आत्मा बेचेर कतिञ्जेल म अमिर बन्ने होला

तिमी सँधै न्याउरो मुख लिएर आउँदा के भन्ने 

बालुवाको घर कति पल टिक्ला र तिम्रो झल्को झैं ।।


पत्थर कुँदिएर तिम्रो नग्न मूर्ति बनिरहँदा म कहाँ थिएँ

सुकेका अश्रुधाराहरु लिएर म बाग्मतीमा हामफालें

बालुवा कहाँ, त्यहाँ र केवल मिले मानव कङ्काल पो

अनि कसरी तृप्त होला पिशाचहरुको आत्मा हे मानव ।।


शरीरमा के छ मासु, हाड र सुकेका रगताका टाटाहरु

प्रणयकालमा पनि त माधुर्यताको कमी भएकै हो

आफन्तका लामा-लामा नङ्ग्रा र कपालमा अल्झेकै है

अब कतिन्जेल बटुवाको भावमा सडक नाप्ने होला ।।


म संसारमा रहन चाहन्न त भन्न सक्दिन किनभने

मेरै जीवन, मेरो हातमा कहिलो पो थियो र आमा

एक शुक्राणु पनि त अरुको हो, स्थुलताको भर भएन

जाऊँ धुँवा बनेर, आगाका लप्कासँगै गगन बिचरणमा ।।


पंछीको प्वाँख मैले काटेको हैन न त आफ्ना अवयव नै

भावनाको खेती मनमा हुँदैन भन्नेले, तन खोज्ने हो नि त

तर क्षितिज लालीमा रक्तिदाँ म भोको आन्द्रा लिएर कुँदे

तिनै थिए भगवान, जसले साँझमा अवलाको मासु लुछे ।।

तिम्रो भावना र मेरो आत्मा (कविता)


प्रकृतिका आफ्ना कति कति गुनासा होलान्

धर्ती किन कम्पन हुन्छिन बेला बेला थाहा छैन

मनुष्यका अतृप्त आत्माहरु भट्किएका होलान्

तर तिमी तामसी भावमा मलाई नहेर है ।।


मातृत्व को कुनै मूल्य हुँदैन भन्नेहरु यहाँ

आफ्नै सन्तानको हत्या गर्दैछन् दैनिक

उषाको लालि रक्तरंजित भएको म हेर्न सक्दिन

तर तिमी राजसी भावमा मलाई नहेर है ।।


फूलेको फूल नफक्रँदै किन निमोठ्छन् अमानवहरु

आफ्नो आमाको छातीमा लात हान्दै

कोकोहोलो गर्दै उकालीहरु चढ्नु गाह्रो काम हो

तर तिमी सात्विक भावमा मलाई नहेर है ।।


आफ्नो हृदयको चाल अरुले सुनिदिनु पर्ने आज

तर मेरो हृदय मौन पो बसेको रहेछ खै किन

म बाँचे वा मरे मलाई कुनै होश नै छैन, आम्मै

तर तिमी प्रयण भावमा मलाई नहेर है ।।



शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...