Tuesday, December 22, 2020

अतृप्त प्रेम (कविता)


मोहनी रूप पुलती छायाँ स्वरुप मादक

आगँन विषे रविको लालि सुगन्धी चहक

परेली आहा मुस्कान मीठो अधर मोहक

चालमा ह‌ंस उपमा विषे मोहनी पदक ।


केशका राशि सुनौला लता बयान खातिर 

बाहुको पाश सुरम्य अति गाउने किन्नर

आँखाका चाल हृदय भाव छल्किने मुहार

मुटुको कुना स्वप्निल छवि उन्नत उभार ।


मोतिका दाना लहर दन्त गुलाबी कपोल

सुन्दर रुप अप्सरा माथ तन त्यो सुडौल 

बाणीमा बीणा हृदय चाल चन्द्रमा माथमा

जीवन कला पवन रम्य समाउँ हातमा ।


सन्ध्याको बेला सुरम्य चरी गाउने बनमा

उब्जियो भाव देखेर प्रित चञ्चल मनमा

मायाको चिन्ह मनको द्वार शरम भुलेर

प्रकृति आहा दिनको मान फुलमा उनेर ।


दीपको छवि स्वर्णिम तन प्रकाश मधुरो

ललाट भरी पसीना धारा पिरती अुधुरो 

अटल अति हिमाल बनि प्रेमको पथमा

सगर चुम्ने आपसी मोह स्वप्निल रथमा ।


 


बिछोडको काँडा (कविता)

बालुवाको पानी जस्तो पनि जीवन

हावाको झोक्काको त कुनै मूल्य नै रहेन् ।

आस्थाको कमीमा पनि त तिमि साथ मै मेरो

आफन्त त दाउ हेरेर दाऊ रोप्छन् ।


सुकेका पातहरू किन उडेका हावामा

स्वतन्त्रता शायद यहो होला।

मनको भावना कहिले पनि अपूरो रहेन

तर पनि मन भरिएको भने होइन ।


आमाको काखको न्यानो छाडेर

हिमवत प्रेयसी पनि त स्वीकार्य नहोला ।

पुतलीमा रङ्ग दिन सक्ने तिमी तर

मेरो जीवन भने बिना रङ्गको किन त ?


चाहनाको चिहान तिमीले भनेर बन्दैन

मन भित्र अझै पनि त लोभ होला नै ।

शायद मन खाली थियो भने पक्का पनि

म आज नै समिदा किन्ने थिएँ होला ।


चरीले जसरी उडे पनि गन्तव्य पुग्नु नै हो

तर हावाको झोक्काले खलनायकी गरेन भने।

तिमी त्यो बाटो कहिले नहिँड प्रिय

किनकी मैले त्यसमा बिछोडको काँडा रोपेको छु ।।

Wednesday, December 16, 2020

जीवन बामे सरेन !

 कमी के मा थियो थाहा छैन

तिमी र तिम्रा भावनाको कदर

सँधै गरेको मैले

जीवन कहिले बामे सरेन ।


आमाको न्यानो काख छाडेर

जङ्गगली काँडा समातेको बेलैमा 

पानीको मुहान थुनिन कहिले

तर पनि जीवन बामे सरेन ।


आकाशका  पंछी कावा खाँदै

मेरा रहरहरू सल्किए दन्दन्

रगतको भेल बगेकै हो 

तै पनि जीवन बामे सरेन ।


कामना कसैको थिएन मनमा

सजावट तिम्रो मात्र सर्वथा

काँचका भाँडा जसरी फुट्यो मन

तर पनि जीवन बामे सरेन ।

Sunday, October 11, 2020

प्रिय काल (कविता)


भावनाका लासहरु अनायास पछ्याइरहेका छन्

चितासम्म पुग्ने बाटो खोजी गर्ने कसरी होला?

तिम्रा अवयवहरु एकएक गरेर झर्दैछन्

जुन मनोदशा साथ भएपनि चिता भेटिएन।


आमाका दुधका धाराहरु सुकिसकेका छन्

नितान्त तिर्खाएको मन, कहाँ गएर बिसाउने होला

तिमी आउन सक्दैनौ भने धुँवा  नउडाउँदै राम्रो

विकल्प केही न केही पक्कै होला त चिताको?



भाग्य पढ्न सक्दैनौ भने, आँखा बन्द गरेकै राम्रो

कामका बेला अविच्छिन्न यात्रा,  मृत्युवरणका लागि 

नविन विकल्पको खोजि गर्दैगर्दा  घाइते हुनुपर्दछ

झल्यास्स ब्युँझिदा वरिपरि आगो सल्किरहेको किन?



आत्मामा पारिएका घाउहरु एकहोरो दुखिरहेका छन्

तिमी कतै साथ हुन सक्दैनौ भने क्षितिजको लागि के काम

विकल्पको खोजीमा आमा गुमाउन सकिन्न

प्रिय लाग्यो भन्दैमा भगवान बोकेर हिँड्न चाहन्न ।



म त  पहिलेदेखि नै रूष्ट मान्छे, तिम्रो सोचाइमा

कल्पनाका कुरा मबाट सधै टाढा रहेका हुन्छन्

तिमी रमाउन सक्छौ भने कल्पना तिम्रो साथै छ

मलाई त केवल वास्तविकता भित्रको चिता प्यारो छ।



कुमालेको चक्र झैं फनफनी घुमेको मेरो जिन्दगीमा 

तिम्रो आगमनको कुनै अर्थ छैन होला सायद

तर पनि म कसैको व्यग्र प्रतीक्षा गरिरहेको हुन्छु

किनकी काल पनि उत्तिकै प्रिय लाग्छ मलाई। 


२०७७




Saturday, August 15, 2020

रजस्वला र समाज (लेख)


प्रकृति र पुरुषको मिलनबाट मानवजातिको सृष्टि भइ वंश परम्परा कायम रहन्छ। सृष्टिलाई निरन्तरता दिने प्रकृति रुपी नारी जब वसन्त ऋतुमा पक्रेको फूलझैँ गर्भधारण योग्य हुनका लागि 'रजस्वला' हुन्छन् त्यसैलाई आम बोलिको भाषामा 'महिनावारी' वा 'पर सर्ने' वा 'नछुने हुने' भन्ने गरिन्छ। तर अन्धविश्वास तथा भ्रमको कारण हाम्रो समाजमा अझै पनि अनिसेचित अंडा नाश भएपछि नारीको पाठेघर सफा गर्ने प्राकृतिक मासिक चक्रलाई पापको संज्ञा दिँइन्छ जुन सर्वथा प्रकृति र सृष्टिको अपमान हो।
रजस्वलाको समयमा महिलाले केही गर्न हुँदैन, मासिक श्रावका दिनमा पापी हुन्छे भन्दै घर भित्रको सामान्य क्रियाकलापहरु जस्तैः खाना पकाउने, पूजापाठ लगायतका अन्य कुनै पनि कामबाट बन्चित गरिन्छ। कतिपय स्थानमा त रजस्वलाका समयमा घरभन्दा निकै पर सानो अँध्यारो छाप्रो बनाएर एक्लै राख्ने चलन पनि छ जसका कारण निर्दोष नारीले सर्पको टोकाइ तथा बलात्कार जस्ता जघन्य अपराधको शिकार हुनु परिरहेको तितो सत्य हामीमाझ हाँसिरहेको छ।
किशोरी अवस्थामा हुने प्रथम रजस्वलाका समयमा कुनै पुरुष र सूर्यको प्रकाश नहेर्ने, पानी र आगो लगायत अन्य कुनै पनि वस्तु छुनु नहुने भन्ने मूढ मानसिकता व्याप्त छ। खाली जमिनमा समेत टेक्नु हुँदैन भन्ने, कोही कसैसँग भेटघाट गर्न नदिई अन्धकार कोठाभित्र बाइस दिनसम्म थुनेर राख्ने अवैज्ञानिक कुप्रथा अझै पनि कायम नै छ।
कुनै कुनै समुदायमा यस्ता कुराहरुमा विस्तारै परिवर्तन हुन सुरु गरेपनि अझै सोचाइमा परिवर्तन भई सकेको छैन। यो भ्रम हटाउन पुरुषको साथ र सहयोग चाहिने भए तापनि पुरूषहरुमा उदासिनता देखिएको छ। स्वयं महिलाहरुले पनि यसमा आफुबाटै परिवर्तन गर्नुपर्छ भन्ने भावना निक्कै कम पाइन्छ। आफूले भोगेका कुरा आफ्ना कलिला छोरीहरुलाई पनि भोगाउन उद्यत नै देखिन्छन्, कुल घरानाका शिक्षित महिलाहरु पनि। कसैले न कसैले त यसको परिवर्तनका लागि सुरुवात गर्ने पर्छ, पहलकदमी नै नगरी कुनै कुराको परिवर्तन सम्भव हुँदैन।
राज्यको पनि स्पष्ट नीतिको कमजोरी कायमै छ। विद्यालयस्तरका शिक्षामा यस विषयमा पर्याप्त चिन्तन मनन र पढाई हुने गरेको देखिदैंन। रजस्वलाका समयमा कक्षा छाड्ने युवतीहरुको संख्या अझै पनि उल्लेख्य नै छ ग्रामिण तथा अर्धशहरी क्षेत्रमा पनि। शहरी क्षेत्रमा पनि पूर्णरुपमा यसको सकारात्मक पक्षको आशा गर्न सकिन्न।
प्रतिनिधि घटनाः
जब मेरो प्रथम रजस्वलाको संकेत देखियो मैले आफ्नी आमालाई भनें। आमाले मेरो हातमा तान्दै अब घरमा बस्न हुन्न अरुको घरमा जानुपर्छ भन्दै श्रावण महिनाको झरीमा रुझाउँदै मितिनीको घरमा गएर बस्नु भनी लिएर जानुभयो। म घरबाट निस्केर कहिले पनि कहिँ न गएकी छोरी अब कहाँ जाने होला? किन घरमा बस्न नहुने होला? अब के हुने होला? आदि कुराले मनमा पोलिरह्यो। बाटोभरि रुँदै गएँ। त्यहाँ पुगेर घरको मान्छेलाई आमाले सबै कुरा भन्नुभयो र छोडेर आउनु भयो। मितिनीकै भए पनि म त्यो भन्दा पहिले त्यस घरमा बसेकी थिइन। राइ परिवारको घर थियो। हाम्रो घर परिवेशभन्दा फरक। मलाई खाना खान पनि मन लाग्दैनथ्यो। सबै नौलो वातावरणलाई मैले कति दिनसम्म त स्वीकार गर्नै सकिन। आमा र अन्य परिवारको ज्यादै याद आउँथ्यो। रोएर दश दिन बिताएपछि भोलिपल्ट आमा लिन आउनुभयो। बाइस दिनलाई एघार दिनमा झारेको रे भन्दै।
मेरो मनमा यो भोगाइबाट बिद्रोह पैदा भएको थियो तर बिद्रोहलाई मनमा नै बन्द गरेर राखेकी थिएँ। यस्तो गर्नुहुन्न र मैले सक्ने हुँदा कसैलाई यस्तो गर्दिन र गर्न दिन्न भन्ने मनमा अठोट लिएको थिएँ। घर आएपछि मलाई याद भयो आमा रजस्वला हुँदा त सधैं घरमै बस्नु हुन्थ्यो तर मैले र अरु दिदी बहिनी सबैले अर्काको घरमा बस्न जानु पर्ने चाहिँ किन होला भन्ने लाग्थ्यो।
एकदिन आमालाई सोधें। उहाँले 'बुवा, दाजूभाइलाई र घरको धुरी हेर्न हुन्न रे यदी हेरेँ भने माइतीका घरभित्र बसेमा देवता भाग्छन् र घर अपसगुन हुन्छ रे' भन्नु भयो। 'तर विवाह गरेपछि भने चाहिँ पर्दैन' भन्नुभो। आमाले पनि 'रे' मात्र कुरा गर्नु भएकोले मलाई उहाँको तर्कमा चित्त भने बुझेको थिएन।
बाबाले सधैं घरमा धार्मिक ग्रन्थ पढेको सानैदेखि सुनेकी थिएँ। त्यही सम्झना गरेरे फेरि सोधेँ 'आमा देवीहरुलाई पनि यसरी नै रजस्वला हुँदा हामीले झैं बार्थे कि उनीहरु उनीहरुको चाहिँ हुँदैनथे कि उनीहरुको पनि अलग बस्ने ठाउँ हुन्थ्यो र? मैले कतै लेखेको वा देवीको मन्दिरमा उनका लागि अलग्गै ठाउँ बनाएको त देखेकी छैन।' मेरा प्रश्नमा आमा निरुत्तर हुनु भयो। मनमा म यो प्रश्न बाबालाई सोध्छु भन्ने अठोट लिएँ। बाबालाई सोध्ने हिम्मत त आएन। फेरी आमाकै मार्फत् बाबालाई सोधें। बाबाले 'भगवान र मानिस एकनाश हुँदैनन्, छोरी मान्छेले धेरै बोल्न हुन्न' भन्दै मलाई वेवास्ता गर्नुभयो। मेरो मनमा बिद्रोह झन् झाँगियो।
त्यसपछिका दिनहरुमा भने घरको काम सबै मैले नै गर्नु पर्ने भएकोले पनि होला महिनाको चार दिन केही कामा गर्न नपर्दा खुशी नै लाग्थ्यो।
आफूलाई पहिलो पटक रजस्वला हुँदा अर्काको घर गएर बस्दाको पीडा जस्तो अरुले भोग्न नपरोस् भन्ने ठान्थें। मेरा दाजूका दुई छोरीहरू जन्मे। ठूला पनि भए। म पनि शिक्षिका भएँ। विद्यार्थीहरुलाई पनि यो बारेमा सम्झाउने गर्थें। घरमा बहिनीहरुलाई पनि तिमीहरू कहीँ जानु पर्दैन नडराउनु भन्ने गरेको थिएँ। जब ठूली नानीमा रजस्वलाको संकेत देखियो मैले उनीलाई घरबाहिर लाग्ने कुराको डटेर बिरोध गरें। हामी सबै नारीले उनलाई घरमै राख्ने सल्लाह गर्यौं तर फेरी बुवादेखि सबै डराए। मैले हिम्मत गरेर नानीको उमेर सानै भएकाले पनि यति बेला उसलाई घर परिवारकै साथ चाहिन्छ भनेर बुबालाई फकाएँ। यो सामान्य प्रकृतिको नियम त हो नि यसमा अन्यथा लिनु पर्ने कारण केही छैन भनेर नानीलाई कहीँ नलाने अडान कसे पछि बुबा पनि सकारात्मक देखिनुभयो। मैले घरका महिला मण्डलीको मन सजिलै जितेँ। बहिनीहरुलाई रजस्वालका बेला पनि घरमै राख्न सफल भएकोमा मेरो खुशीको सिमा रहेन। एउटा सानो कुरा भए पनि परिवर्तन गर्न सके अरु त हुँदै जान्छ भन्ने लागेर निक्कै खुशी भएँ त्यसदिन।
नानीलाई विद्यालय पनि निरन्तर पठायौं। गाउँमा यो कुराको हल्ला भयो। म र मेरो परिवारको निकै कुरा काटियो। अब त्यो घरमा छोरो जन्मन्छ कि आश पनि यही पापकर्मले मर्योर पनि भन्न भ्याए। तर हामीले कसले के भन्छन् पर्वाह नै गरेनौं। आफ्नो काम निरन्तर जारी नै राख्यौं। नानीको प्रथम रजस्वलकको पाँच महिनापछि मेरो बुबाको निधन भयो। कुरा काट्नेहरु लाई आगोमा घिउ थपे जस्तै भयो। गाउँमा पढे लेखेका शिक्षित भन्नेहरु पनि जम्मा भएर हाम्रो कुरा काट्न थाले।
एक दिन दश बाह्र जनाको महिला समूह बसेर हाम्रै परिवारका कुरा काटिरहेका रहेछन्। गर्न मिल्ने नमिल्ने सबै काम गरेपछि त्यस्तै हुन्छ, बिरामी नै नभएको मान्छे एक्कासी मर्नु पर्योम भन्दै। हाम्री आमाकी कानमा ति कुरा परेछन् र सेतो लुगामा हुनु भएकी आमाले 'तिमीहरुले पढेको यही हो? मेरी छोरीले पढ्ने अक्षर र तिमीहरूले पढ्ने अक्षर फरक-फरक छन् कि उही हुन्? एउटी नारीमा सृष्टि बचाउनका लागि हुने नियमित प्रक्रिया भएकी हाम्री नातिनी घरमै राख्दा मेरो लोग्ने मरेको भए आफ्ना बच्चीहरु घरमा नराख्नेहरूका घरमा पनि त मृत्यु हुन्छ नै। एउटी त राख्यौं अरुपनि छन् उनिहरुलाई पनि घरमा राख्छौं। सक्छौ भने आफ्ना बच्चीहरु पनि घरमै राख नत्र नारी भएर नारीकै माया नगरी कुरा काट्ने काम नगर आफूलाई पनि परिवर्तन गर' भनेर बम्किदिनुभएछ।
आमाले यति भनिरहँदा मेरो खुशीको सीमा रहेन। मैले भन्ने कुरा आमाले भनि रहनुभएको थियो। हिजोकी आमा र आजकी आमामा पुरै परिवर्तन भेटै मैले।
सुरुमा नयाँ कामको थालनी पक्कै गाह्रो नै हुन्छ अब जो जसले त्यसबेला हाम्रो कुरा काटे अहिले उनीहरुका छोरी पनि रजस्वलाका समयमा घरमै राख्न थालेका छन्। यसलाई मैले ठूलो सफलता ठानेकी छु र खुसी पनि।
-0-

यी सबै कुराहरु भ्रम मात्र हुन् नकि कुनै अपराध। प्राचीन समयमा कसले, किन, कुन कुराबाट प्रभावित भएर, कसलाई खुशी बनाउन लेखेका मनगणन्ते लेखाइका पुस्तकहरुका आधारमा यो भ्रम सृजना गरिएको हुनुपर्छ भन्ने ठम्याई छ।
हरेक महिलाले आ-आफ्नो ठाउँबाट यो भ्रम चिर्ने हो भने पक्कै आउँदो पुस्तालाई सहज र सरल हुनेछ। यसमा पुरुषको भूमिका पनि नकार्न सकिने अवस्था भने छैन।
विशेष गरेर ब्राह्मण समुदायमा यो चलन बढी देखिन्छ। जनजाति वा बौद्धिक धर्मलम्बीहरुले यो महिनावारीको कथित (कु)नियम मान्दैनन् किन त्यो समुदायका महिला चाहिँ अलग हुन् र? सृष्टिको जिम्मेवारी पाएका नारी सबै पुजनीय र वन्दनीय छन्।
मैले सुनेको एक प्रसङ्गः धार्मिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार स्वर्गका राजा इन्द्रलाई कुनै बेला ब्रह्महत्याको पाप लाग्यो। पछि इन्द्रलाई त्यो पापबाट बचाउन ब्रह्माले ब्रह्महत्याको पाप अग्नि, जल, वृक्ष र नारीलाई बराबर भाग लगाई इन्द्रको पाप हटाइदिएका थिए रे। र सोही कारण महिलाले महिनामा एक पटक रजस्वला हुनुपर्छ रे।
पाप इन्द्रले गर्ने अनि महिला कसरी पापिनी हुने? फेरि एउटै पाप बाँडेको पानी, अग्नि र वृक्ष कहिले अशुद्ध नहुने नारी मात्र कसरी अशुद्ध हुने? सबैभन्दा पवित्र तिनै अग्नि, जल, बृक्ष नै मानिन्छन्। त्यही अग्निमा हवन गर्नुहुने, हर कुरा सफा गर्न र जीवनलाई चलाउनसमेत जल चाहिने। सँगसँगै पाप बाँडिएका भनिएका सबै मध्ये नारी मात्र कसरी अपवित्र हुने?
महिला भन्दा पनि किशोरीहरूलाई हो बढी समस्या हुने समुदायमा। विद्यालय जाने उमेरकालाई घरमा र विद्यालयमा रजस्वलाका बेला मानसिक प्रभाव पर्न नदिन के कस्ता उपाय गर्न सकिन्छ त्यो सरकारी तवरबाट नै सामुदायिक रुपमा पहल गरिनु पर्ने हुन्छ। विद्यालयमा प्याडको व्यवस्था गर्ने, कसैलाई रजस्वलाका समयमा टाउको दुख्ने, पेट दुख्ने, डर लाग्ने जस्ता समस्या आउन सक्ने भएको कारण विद्यालयमा शिक्षिकाले र घरमा आमा दिदीबहिनीले बुझी उनीहरुको समास्या संवोधन गर्नु पर्ने पनि हुन्छ।
यो मान्ने वा नमान्ने भन्ने भन्दा पनि हाम्रो आफ्नो परम्परा, सामाजिक, धार्मिक कारण र समाजमा फैलाइएको नचाहिने हल्लाले गर्दा नै यस्तो अवस्था आएको हो भन्न सकिन्छ। हिन्दु धर्ममा हरेक चाडपर्व, विवाह, पूजा, मृत्यु संस्कार आदिका सहभिगतामा बन्देज लगाइएको कारणले बार्नैपर्छ भन्ने मानसिकता व्याप्त छ। जतिसुकै पढेलेखेपनि पनि हामी नै मन्दिर जाने, पूजामा जाने या कतै मान्छे मरेको ठाउँमा जाने गर्दैनौं। हाम्रो पुस्ताले दोहोरो भूमिका खेलेको छ जहाँ आमाहरूले भन्दै आउनु भएको कुरा पनि मान्नुपर्छ र आफू पछिको पुस्तालाई पनि यो गलत हो भनेर सिकाउनु पर्ने हुन्छ।
यी सब भ्रम हुन् त्यसैले यो भ्रम हटाएर परिवर्तन गर्दै जानुपर्छ। घनाबृक्षका रुपमा जरा गाडेको यो भ्रम सजिलै नहट्ला तर क्रमैसँग चेतना फैलाएर निर्मूल गर्न अति आवश्यक छ। यो कुनै पाप होइन। एउटी नारीको मानव सृष्टिलाई बचाइराख्न सक्षम हुने प्रक्रिया 'रजस्वला' केवल नियमित प्रकिया मात्र हो, प्राकृतिक नियम हो, यस बारे सकारात्मक सोच बनाई कथित भ्रम हटाउनै पर्छ।

Tuesday, July 14, 2020

अजीवित कामना (कविता)


Pashupati Aryaghat staffers exposed to risks of COVID-19 in lack ...

सँधै आकाशमा छरपष्ट भएका काला बादलहरु
तिम्रा सुन्दर प्रतिरुप लाग्थे मलाई पहिले पनि
आजभोली त तिनमा चाँदीका घेरा थपिएछन्
मायाको रूप पनि किन सँधै एकनाशे हुँदैन
आखिर तिमी कहिले त्यसको पर्याय बन्न सकिनौ।

चिताबाट उठेको धुँवाको मुस्लो अनि मेरो मन
अबिरल बहेका आँशुका धारामा को बग्ने अब ?
मन भित्रको चाहना त उहिल्यै बालुवा भयो
रक्त कोषिकाहरू पूर्णरूपेण सुख्खा भए
मेरा धमनीहरूमा कसैको याद बाँकी हुन नदिनू।

आमाको गर्भमा त मैले पीडा भोगिन होला
तर याद छैन तिमीसँग बितेका सुवर्णपलहरू
प्रकृतिको माया र कसैको सम्झना तुलना कसरी
आफ्नै खुट्टामा बञ्चरो हान्ने प्रयाश विफल भएको छ
तर पनि म आफ्नो मृत्यु आफ्नै हातबाट चाहन्न।

तिमी किन मेरो हृदय चोटका लागि अग्रगामी छौ
आमाको छातीको दूधको धाराले पाप पखाल
सुकेका रक्त बिन्दुहरूमा आफ्नो प्यार नखोज
ति त केवल मृगतृष्णा सावित हुनेछन् तिम्रा लागि
म फूल रोप्छु तिमी काँडाको स्याहार गर्न उद्यत।

रविको लालिमा क्रान्ति खोज्ने तिमी प्रतिक्रान्ति पनि सहू
यदि चाहना मरेकै हो भने पनि आफ्नालाई नमुछ कहिले
किन गोली र बारूदको गन्ध मन पर्दैन तिमीलाई अब
बिना क्रान्ति त केही संभव छैन भन्थेऊ त सदा अनि
रक्त क्रान्तिका गीतहरू अझै कानमै गुन्जने नै छन्।

आजको दिन तिमीले याद गरिनौ भने भोलि कसरी बन्ला
बिना भोलि आजको महत्व कदापी नहोला हाम्रा लागि
फूल नझरी कुनै बीज नबन्ला, तै पनि श्राप नदेऊ है
अमू्र्त जीवन जिउने कला कसले सिकाउला र?
अब हामीले साथ मर्नु वा जीउनु अर्थ बिहीन भयो ।

असारे भेलमा बहेका आफ्ना अन्तिम चाहनाहरू
म किन भदौको उष्णतामा खोज्दैछु बिना अर्थ
बचेराको आवाजले पनि तिम्रो मातृत्व पलाएन त
किन अरूलाई दोष दिने आफ्नै हृदयमा खोट छ भने
लाशको आत्मा वा आत्मामा लाश किमार्थ भेटिन्न ।

म अब आफूमा तिमीलाई खोज्दिन कहिले पनि
मान्नु पनि छैन मलाई ति विष घोलिएको मृदुता
शिरमा हथौडा हानेर पनि जीवन पाउन सकिन्छ
तर त्यति धेर लालसा पनि पलाएको छैन जीवनमा
शत्रुको हातको पानी र आफ्नै प्रतिछाया उस्तै लाग्छ।

शहरका सलहहरू अनि तिम्रा भ्रमका शब्द लहरी
बाबुनानीका क्रन्दन अनि आमाको चित्कारको मूल्य
अविरल बगेका दूधका धाराको मूल्य हीनता कसरी
एक प्रकृति अर्को प्रति निर्दयी कसरी बन्ला हेरूँ त
म त मान्दिन ति सबै भ्रमका खेती हुन् भनेर कदापी।

बागमती धमिलो भइरहदाँ मेरो मनमा स्वच्छता कहाँ र
तिम्रो सुगन्ध पनि त मिहीन भएको छ, लाशको गन्ध सामु
गिद्दहरुको भीडले लुछेका आफ्नै लाशको प्रतिछाया
कसरी शून्यतामा हराउला र हाम्रो माया अनि भाव
म त मरूँला तर तिमीलाई केही नहोस् मेरो कामना ।

२०७७ असार

Saturday, July 11, 2020

प्राकृत चाह (कविता)





बहार कुर्दै बसेको धेरै भयो, तर कुनै संकेत देखिएन
प्रकृतिले त छल गर्न जानेको हुन्न, तर कसरी भयो ।
उनको मोहनी रूप पनि त, आजकल गायब नै छ
फूलको सुवास कहाँ ‍ओझेल परेको होला, खै कुन्नि ।

इन्द्रेणीका रङ्गहरूमा मादकता नभेटिएला, तर पनि
जीवनका अवयवहरू, वालछ्याल छन् भन्ने लाग्छ ।
क्यानभासमा रङ्गको कमी हुँदा, रक्त लेपन अमान्य
बगरका बालुवा उडेको आकृति, मन पर्न थालेको छ।

सपनीका द्वार कसैले खट्खटाएको त हैन कि, शायद
मनको भ्रम मात्र पनि त हुन सक्छ, अन्यथा नमाने मा ।
चित्कार सुनिएको हो, तर रिपु कतै देखिएको छैन
मन भित्रको त्रास अझ उजागर भएर, पो कि भन्ने लाग्छ ।

सागरमा पानीको अंश पनि, बिलिन नभएको हो र
तिमी भित्र माया लुके जस्तै, कण कणमा भर पर्नु
कमिलाका ताँती पनि त आज देखिएन्, उपवनमा
सुरिलो स्वर कहाँ हरायो कोइलीको, डर के को ?

जे होस् भावनाका पुलहरू बाँध्दै गरे पियारी, हिडौंला
रमाईलो जीवनकै हो, मृत्युमा त शोक, अन्यथा नसम्झ
आफन्त पनि अब पराई हुने भन्ने, धराको चाह नै हो
प्रकृतिको माया मार्दिन म त, मिल्छु यसैमा सदाका लागि।


असार २०७७

Friday, July 3, 2020

अहसज माया (कविता)



काँडेतार लगाएको मनमा तिमीलाई छेक्न हैन
आखिर म पनि त सीमाको रैति हुँ आजका दिन
फूलको उपवन उजाडिएको बेला व्यर्थ लाग्ने रहेछ
कि त भँवरा नत्र पुलती मात्र पनि सुन्दरता हैन नि।

धूलोमा लट्पटिएको मेरो स्थुल शरीर किन हेलाँ
मिल्ने धुलो मै त हो नि सबैले आखिर एक दिन
पानीमा छायाँ हेर्दा पानीको स्थीरताको माने के
उम्लिएको रगतका वाफमा म किन माया खोजूँ।

भावना छालहरू कहिले पनि उद्वेलित नहोलान्
तर पनि छरपष्ट भएका मनका टुक्राहरू सँगालू
कलरब पनि मलाई कर्कश लाग्दै छ किन अचेल
पानीको ध्वनी र मुटुको चालमा के भिन्नता छ र।

ओसिलो मन भएकाहरू संसारमा रहन्नन कदापी
ज्वालामूखी विष्फोट नहुँदासम्म सधैं शान्त नै हो
आफ्ना पदचापहरूमा नविनता कहिले आउला र
अब त मलाई आश पनि छैन कि मृत्यु आउला भनेर।

आमाका पीडा अनि देशको माटो मेरा गहना हुन्
म उनलाई कहिले पनि माया नगर्न सक्दिन अब
जसरी पनि जिउनु छ हरदम मात्र सान्त्वना नदेऊ
म आँफै आगो सल्काउँला आफ्नै लाशमा चुपचाप।

असार २०७७

Thursday, July 2, 2020

दलन हृदय (कविता)





पलपल मर्नुको मज्जा पनि त छुट्टै छ जीवनमा
बगरका ढुङ्गाजस्ता असमान ईच्छाहरु पालेर
रङ्गिन फूलहरू पनि लाशमा परिणत भए आज
मन्दिरको घण्टा जस्तो जीवन, मेरो तिम्रै कारण।

पूजा कसैको गरूँ, सुन्ला वा नसुन्ला प्रार्थना उसले
किन बेकारमा, आफ्नो रगत सुकाउँ भन्ने लाग्छ
सुन्नु पर्नेले कहिले सुनेन, अब म पत्थरमा जीवन खोजूँ?
अबिर दल्दैमा भगवान हुने भए, मेरो लाशमा दल।

फूलको बास्नाको मादकता, म तिमीमा खोज्दिन
म फेरी एकैनाशे भूल गरेर, मुटु छियाछिया किन पारूँ?
आफन्त त छैनन धरामा, केवल एक्लो हुनु नियती हो
तिमी वा म र म वा तिमी, पनि त एकाकार हुन सकेनौं ।

व्यर्थको चाहना पालेर, मन दुखाउनु वा मुटु फुलाउनु
किन पानीको मोलमा, तिमी रक्त कोषिका बेच्दै छौ
थाहा छ त, मसँग त्यति धेरै धैर्यता पनि साथमा छैन
कि पानी रगत बनुञ्जेल, आरामले पर्खन सकुँ एक्लै ।

विषको प्यालामा, म आफूलाई हराउन सकूँला कि
नत्र, तिम्रो सम्झना मात्र पनि त काफी नहुँदो होला
अविरल बगेको नदीको धारमा, म त हेलिन सक्दिन
तर तिमी धक्का दिन चाहन्छौ भने, म तयार छु है ।

भाग खोसेर खानेहरू यहाँ, सर्थवा माथि नै रहन्छन्
तर आज म त खोसेर पनि, तल परेको तुच्छ प्राणी हूँ
शितका थोपा पनि उष्ण लाग्ने मौसम, मेरा लागि
हिमवत पात्र कदापी नघुसाऊ है, मेरो दलन हृदयमा ।

असार २०७७

Monday, June 29, 2020

अन्तिम चाहना (कविता)







मानवताको खोल ओडेर, तिमी कुन ओडारमा लुक्यौ
म रगतमा लत्पतिएका पाइला, लिएर आउँदा किन झुक्यौ
धूलो त धरतीको, सबैलाई गन्छ तर तिमी सक्दैनौ किन?
तिम्रो हृदय पाषाण भएको त, म जान्दिन तै पनि भन ।

आकाशबाट झरेका शितका थोपामा प्यास बुझाउँला
अनायाश रक्त पिपाशु लामखुट्टेको झैं भुनभुनाउँला
हावाले गति फेरे पनि, म उस्तै मूर्धन्य नै रहूँला लयमा
आफ्नै हृदयको चाल म सुन्न सक्दिन, आखिरी वयमा ।

जन्मेको पनि त कसैका लागि होईन, आखिर किन पीर
यो, त्यो, मेरो, तेरो पनि त मलाई लालसा छैन, जीवन भर
गर्भ तुहिएको भए पनि मृत्यु नै हो, अन्यथा अबको पनि
बाँचेर सार नहुँदा आफ्ना, कहाँ गनिन्छन् र प्यारो ठानी ?

तिम्रो इशारामा नाच्ने, कठपुतली नबनाऊ न है पियारी
म त जीवन मिमांसा बोकेर हेर्छु, सदा चौकोस उघारी
किन अब पानी अनि, रक्त कोषिका सुके मेरो तनमा
प्रेमिल मातृत्व त कहाँ लुक्यो, आज सफेद बादलमा ।

भगिनी अञ्जुली भरी माया, लिएर आइन मेरा साथमा
किमार्थ उठ्न सक्दिन आमा, तिम्रा हात देउन माथमा
चिताको धूँवा उठ्दै गर्दा आज, म बिकल्प बिहीन भएँ
रहू खुशी र सुखी पियारी तिमी, सदाका लागि बिदा भएँ ।

 २०७७ असार ।

Saturday, June 27, 2020

पोखिएको पिरती (कविता)



सगरमा चन्द्रमा देखिँदा, तिमी किन लुकेको आँचलमा
म मात्र हैन नि तिमीलाई लुकेर हेर्ने संसारमा, अरु नि छन्
आकाश चम्किदाँ म झसङ्ग भएको थिएँ, शायद त्यतिखेर
आफन्त हातमा काँडा बोकेर तिम्रो स्वागत गर्दैनन् र?

किन हो धरती त्यति खुलिनन् आज, म सँग रिस छ र?
लुकेका तिम्रा नजर फेरी झुक्न किन थाले होला
आँशु नबगाऊ तिमी, मसँग पुछ्ने हैसियत छैन
साथमा भएको रेशमी रुमाल पनि हावामा उड्यो।

खहरे झैं म गडगडाउन सक्दिन, म मा त्यति लचकता छैन
तिमी त तैपनि नारी हौ र त, म बाध्य पार्न सक्दिन आज
रुनु हाँस्नु नियती नै होला हाम्रो, र त धड्कन शुन्य छ
म कोषिकामा मात्र बहुँला भन्ने, रगत छरपष्ट छ आज।

पोखिएको पिरती म उठाउन सक्दिन, मेरा हात लुला भए
म अन्यमनस्क हेरिरहुँला तिमीलाई, तिमी न लजाउनु है
धरतीको धूलो पनि हावाको झोक्कामा केही उड्ला
तर रहन नसक्ला धेरै वेर व्योममा, अनि फेरी धरतीमा ।

पानीमा म छायाँ खोज्न पनि लागि परेको हो, तर स्थीर छैन
बहाव उसको उस्तै तर म रोकिन सक्दिन, उसका साथ
घडीको टिकटिक पनि मेरा लागि तोपका गोला लाग्छन
एकनाश सीमामा पड्किएका बन्दुकहरुले धुवाँ उडाए झैं ।

असार २०७७

Thursday, June 25, 2020

आमा, तिमी र चिताको धुँवा (कविता)

चाह म किन नगरुँला र तिम्रो समिप हुने सदैव
केवल बालुवामा पानी नहाली के को स्वार्थ होला र
आकाशले क्षितिज छोए झैं लाग्ने पनि उनलाई नै हो
म त उपवन भित्रको पतझड बूढो पंछी बिहिन रुख ।

आस्था केवल मनमा मात्र भएर हुने हैन नि त यहाँ
मन भन्दा माथी के होला र उत्पातै गर्नु पर्ने तिमीले
आमा अनि म सँधै साथमा हुँदा किन माया कम भन्नू
तिमी पनि आफ्ना ति सन्तानलाई दिनू नि मायाँ टन्न।

उदाउँदो सूर्यको लालिमा अनि पंछीको कलरब
तिमी चाहन्नौ चिहानको बाटो म हिँडेको केवल
देखेका कुरा मात्र सही नहोलान् भनेर पनि मान न
म त सधैं फूल बोकेर मन्दिर जान्न तर नि भगवान् छ।

आत्मा रोएको कसले देख्छ म त जन्मै नेत्रहीन हुँ
उनको हात नसमाएको पनि शताब्दि भए झैं लाग्ने
आमा थिइन् र पनि तिमी चाहिएको हो कि मलाई
ईशको दया होईन मलाई केवल प्रकृति भए हुन्छ।

म पूजा गर्दिन तिम्रो तर बरदान माग्छु मनले मात्र
भाव बुझ वा नबुझ त्यो तिम्रो साक्षरता हो है प्रिय
कल्पना पनि सुन्दर गर्न नसक्दा बेहाल छ मन यहाँ
किन आफूलाई जलाएको धुँवा देख्न सक्दिन र, म ??

२०७७ असार

Wednesday, June 10, 2020

बसन्त मन पर्दैन र ? (कविता)

तिमी नजिक हुन सक्दिनौ किन मलाई दोष दिन्छ्यौ
तिम्रो मन सँधै फराकिलो नै भयो केवल म संकुचित
चाहना हावामा कौवा खाने बेला तिमी मौन रह्यौ
मैले त्यो पनि त कहिले सिकिन तिमीबाट किन?

परिदृश्यहरु फेरिदैं गए तर मेरो मन कहिले फेरिएन
तिम्रा लागि मैले सँधै द्वार खुल्ला गरें तर केही लागेन
अरु कसैको प्रवेश पनि त स्वाकार्य भएन होला शायद
किन म आफूलाई एक्लो महसुस गर्न पाउँदिन र ?

आकाशले क्षितिज छोएको देखिन्छ सदा कसरी
तर तिमी नजिक हुनासाथ फेरी टाढा हुन्छ भ्रम मात्र
मृगतृष्णा पनि त बेकार नै साबित भएको भन्ने होइन
चाहनाका पुलती किन बेमौसमी फूलमा आकर्षित भए?

पवनलाई मन्द हुनु पर्ने अनि तिमी चाहिँ सदा तिब्र कसरी
आमाका माया  तिमीमा पाउन थालें भने त्यो के होला
उनी त गइन् तर तिमी साथमा हुन पनि त सकिनौ नि
दूधको मूल्य त चुकाउन सक्दिन तर म बिर्सन पनि चाहन्न।

केवल आफ्नो नियतीमा मात्र स्वार्थ तिमी नदेख न है
हावा र पानी पनि त जीवनका अंश हुन् ति तिमी समान
माया त पाउँला तर कहिले मन दुखाउनु हुन्न मैले
तिमी सदा त्याग्न उद्यत किन हो र बसन्त मन पर्दैन र ?

२०७७ जेष्ठ

Sunday, May 31, 2020

मेरो मन र प्रकृति (कविता)

आहा कति राम्रो छटा तिम्रो मन नै हर्ने सधैं
तर धेरै बेर रहेन तिम्रो त्यो रुप बदिलयो
मन खिन्न भयो अनि अविच्छिन्न यादहरु हराए
तिमी त प्रकृति हौ रुप फेर्न सक्छ्यौ तर म ?

म कहिले पनि तिम्रो सामुन्ने उदाङ्ग हुन सक्दिन
चाहेर पनि तिम्रो चाह भन्दा पृथक हुन सक्दिन
तर मेरो पनि त रक्तरंजित मन न हो खोलेर हेर्दा
जे होस् राम्रोको लागि होस् मात्र भन्न सक्दिन ।

बाढी पहिरो अनि हावाहूरी तिम्रा रुपहरु
केश फैलाउँदै दाह्रा किटेर किन गड्गडाएकी
आज त धूलोको चक्रवातमा तिमी नमिठो मुस्कायौ
म त झसङ्ग भएँ तर के गरूँ मेरो मुटु कामेन ।

आखिर कहिलेसम्म तिमी बिकृत रहने र भन्या
मलाई तिमी सुन्दर भएको मात्र मन पर्छ
सर्वथा त्यो पनि त नहोला कि मैले चाहे जस्तो
आखिर तिमी प्रकृति आफूमा सन्तुलित तिम्रो गुण ।

मलाई केही नभन केही नगर म भन्छु नै तर तिमी नसुन्ने
आमा रोएको अनि तिमी रोएको उस्तै लाग्छ मलाई
सन्तानका सुखका लागि रोऊ अझ रोऊ झमझम रोऊ
म रोक्न सक्ने हेसियत राख्दिन केबल म निरीह हेर्छु मात्र ।

२०७७ जेष्ठ

Saturday, May 23, 2020

देश अनि मानवता (कविता)

वरीपरी छरिएका धूलोका कणहरु
तिमी संगाल्न सक्दिनौ भने कदापी
किन अबिच्छिन्न यादहरु पालेकी छ्यौ र
मान वा नमान तिमी म भन्दा पृथक कण हैन ।

भावनामा तरङ्गित हुने तिम्रो पुरानो बानी हो
तर केशराशी किन फैलाएको तिमीले
उदार हुनु र मन दुख्नु फरक कुरा हो
तैपिन तिमी न उदार न दुःखी किन ??

देशको माटो प्यारो हुने यहाँ अनि कण पनि
विदेशी भूमिमा जीवन उत्सर्ग गर्दा पनि
माया देशकै लाग्ने मलाई हरदम प्रिय
म त छिन्नभिन्न हुन सक्दिन तिमी र देश बीच ।

म भन्दिन किन तिमी उदास अचेल पियारी
हावा सधैं मायालु पनि त नहोला जगमा
माया त आखिर माया नै हो जसरी बहे पनि
पानीमा बहेको माया हावा तिमी नखोज है ।

मलाई ईश बन्नु त छैन केवल मनुष्य हुँ
त्यो त उसै भइने रहेछ किन चाहियो र मानवता
मलाई उदास देखेर मानव भाग्यो भन्न मिल्दैन
उदासीनतामा तिमी र म उस्तो लाग्छ अमानव ।

आमा र प्रेयसी (कविता)

म कहाँबाट आएँ धरतीमा भनी कहिले सोधिन
आमा को हुन् भनि कसैलाई किन सोधुँ म तैपनि
जीवन केवल अंकुरण मात्र पनि त होईन होला
किन सँधै तिमी मेरी आमाको मात्र कुरा गर्छ्यौ ?

आमा मात्र मेरी जननी हैनन् उनी पूजनीय पनि हुन्
तिम्रा धारीदार शब्दहरु पनि हाँसेर सहन्छिन् उनी
मैले पूजा नगरे पनि सदैव आशिर्वाद उनकै हुन्छ
तिमी पनि आमा बन अनि ज्ञान होला महत्ता उनको ।

कोपर्नु अनि चिथोर्नु किन आमालाई दूधको धारा पिएपछि
नमागे पनि त तिमीले पाएकै हो धरतीमा जीवन आज
आमा मात्र तिम्रो मन हुन् न कि थुल शरीरको भारी
म त भन्छु मन्दिर किन जाने जहाँ पत्थर मात्र छ ।

मनको भगवान आमा अनि आमा नै प्रकृति हुन
तिम्रो नशा नशामा आमाका रगत बगेका छन् हैन र
तिमी दोषी नबन है प्रिय तिमी पनि त आमा बनौली
अनि दूधको धारा चुसाउँदै शैशवकाल महसुस गरौली ।

मन्दिर किन धाउने अनि भगवान किन पुज्ने यहाँ
मानव योनीमा जन्म दिएर अमृत पिलाउने काम गर्ने
आमा जब मसँग छिन् भने तिमी पनि सोच एकबार
जीवन कहाँ होला  र बिना आमा अनि तिमी पनि बन एकबार ।

२०७७ जेष्ठ

Saturday, May 2, 2020

माया र पृथकता (कविता)

सबैले दिने माया र मेरो माया फरक होला
आमाको माया एउटै होला जुन म पृथक गर्न सक्दिन
केवल आफ्नो मुटु टुक्रा पारेर त को सन्तुष्ट होला
तिमी पनि त केही योगदान गर न मायामा प्रिय ।

मलाई केही चाहिएको छैन केवल तिम्रो साथ खोजेको
किन तिमी भौंतारिदैं छौ यता उता केवल आशमा
मेरो रगतको रङ्ग मन नपरेको भए बचन लगाउ
म त उस्तै देख्छु यहाँ समय र सान्दर्भिकता सबैको ।

पवन किन वहन्छ यो उसको रित हो धरामा
तिमी किन बहकिन्छौ ऊसँगै मौन रहेर भनत
वर्षा र वादल पर्याय होलान् नदी र समुद्र जस्तै
तर तिमी बाउँडिनु पनि त पर्याय होला ऊ जस्तै ।

केवल माया गरेर हेर हृदय कोमल हुनसक्छ यता पनि
उन्मादमा झाँक्रो फिजाउँदै नहिँड केवल काँडा भनेर
उसको त नियती हो च्यात्ने तिमी होउ या म के भो र
म भन्दिन ईच्छा त्याग केवल तिमी ईर्श्या त्याग आज ।

भोलिको दिन म तिमीलाई देखाउने प्रण त गर्न सक्दिन
तैपनि म आशा गर्छु सुन्दर बिहानीको तिम्रा लागि केवल
मन्द पवन अनि तिमी र म त्यो सुन्दर उपवनमा रमाउँला
धरतीले साथ दिएमा फूलसँगै तिम्रो हात पनि समाउँला ।

Sunday, April 26, 2020

कसरी एक्लो बनूँ (कविता)

म तिमीलाई खोज्न शहर पस्न सक्दिन
त्यहाँ मेरा लागि मृत्युशैया छ ।
तिमीलाई म गाउँमा पाउन सक्दिन
त्यहाँ केवल निष्पट्ट अन्धकार मात्र छ ।

शहर मेरो रहर मात्र हुन पुग्यो प्रिय
त्यहाँ तिम्रो छाया मात्र छ ।
गाउँ मेरो वाध्यता हो भनेर स्वीकार गर
तर त्यहाँ तिम्रो छायाँ पनि छैन ।

तिमीलाई म व्याकरणको शुद्धाशुद्धिमा खोजिरहेँ
तिमी त नदेखिने गरी हरायौ ।
म तिमीलाई श्लिल साहित्यमा खोजिरहेँ
तिमी त वायुपंखी घोडा जस्तै अलप भयौ ।

तिमीलाई म सुख र सम्बृद्धिमा खोजिरहेँ
तिमी त नेपाल छिरेर फगत अल्पियौ ।
मनमा चाह बढेकै थिए तिम्रो खोजमा सदा
तर तिमी त धूमिल वाग्मतीमा पो भेटियौ ।

अब म खोज्ने छैन तिमीलाई मसँग रहू सदैव
तर तिमी फेरी किन छालहरुमा बिलाउँदै छौ ?
मलाई एक्लो भएको तिमी किन हेर्न चाहन्छौ र
म एक्लो कसरी बनूँ हृदय भरी तिमीलाई बोकेर  ??

वैशाख ०७७

Friday, April 24, 2020

देश, आमा र प्रिय (कविता)

अचानक नआउ भनिन मैले तिमीलाई
तर यसरी तर्साउन नआउ मात्र भनेको हुँ ।
मन दुखाई मुख फुलाएर नबस प्रिये
देश दुखेको बेला म तिम्रो मन कसरी सम्हालूँ ?
माटो, मातृभूमि र आमा छाडेर म कसरी तिमीलाई रोजूँ ?
दूधको भार र माटोको ऋण नतिरी कसरी प्रेम खोजूँ ?
सुख्खा माटोलाई आँशुले सिँचित गर्न त सक्दिन
तर पनि तिमी साथ दिन्छौ भने त केही होला ।
प्रेयसीको माया र आमाको माया तुलना नहोला
तर दुवै माया नै हो प्रिये त्यो त बुझ कृपया ।
आमालाई चटक्क छाडेर तिम्रो आँचलमा कसरी आउँ ?
तिमी पनि त तिम्री आमालाई छाड्न सक्दिनौ नि हैन र ?
हामी एक हुनुमा मेरो पनि त चाह छ सदैब
तर पनि बाध्य छु म यहाँ देशका लागि ।
रमाउ तिमी पनि साथमा चाहना गर्दछु प्रिये म
धरतीको भार तिरौंला सँगै अनि सौचौंला आफ्नो माया ।
मायाका शब्द फरक होलान् पात्र फरक होलान्
तर भाव एउटै तिमीले सिकाएको हैन र ।
फेरी आज किन त्यही अमूर्त कुरामा हामी जेलिएका
अब भन माया एक अनि भावार्थ पनि एक ।
प्रकृति, देश र आमा एक हुन् र तिमी पनि आमा कसैकी
एक दिन अवश्य होला संयोग र कुरा बुझौली भन्ठान्छु म ।

वैशाख ०७७

Wednesday, April 22, 2020

आमा (कविता)

ममता खानी अपार माया हृदय उदार
दिएर यहाँ अमूल्य काया देखायौ संसार
समाई हात खुवाई दूध मुसारी शिरमा
सकूँला तिर्न ऋणको भार जीवन भरमा ॥

उदर बीच बोकेर अहा गरेकी रचना
भावना ठूलो मनको बीच प्रकृति कल्पना
मायालु बोली नरम छाती वात्सल्य अपार
कसरी बिर्सुँ जननी आज देवत्व पियार ॥

रहर धेर राखेर थाति सुम्पियौ संसार
हुर्कायौ आमा धरामा हैन छातिमा च्यापेर
मुस्कान आहा स्वर्णिम वय रोजिनौ कन्चन
छुटाई गाँस सदैव आफ्ना खोलिनौ क्रन्दन ॥

गर्दछु पूजा हृदय बीच सजाई तस्विर
जननी तिमी सर्जक मेरी सृजना खातिर
नयन सदा ब्याकुल तिम्रा भेटुँ म जसरी
तिरौंला ऋण दूधको आमा लौन म कसरी !!

मातातिर्थ ‍औंसी २०७७



Thursday, April 2, 2020

शहरमा मृत्यु सजिलो छ अब (कथा)


चौबिस वर्ष भएछ यो सुकुम्बासी टोलको टहरोमा बसेको पनि ।
बसाई शहरको हो तर वस्तुस्थिती बिल्कुलै भिन्न छ बस्तिको । टीनले छाएका साना साना टहराहरु छन् वरिपरी । साँगुरो गल्लीमा हिँडिरहँदा कसका भान्छामा के पाकेको छ सजिलै थाहा हुन्छ । कसैको घरमा रुवाबासी छ भने पनि वल्लोकुना पल्लोकुना सबै थाहा हुन्छ र भीड जम्मा भैहाल्छ ।
म यता आउँदा त्यस्तै सोह्र सत्र वर्षको थिएँ होला । माइक्रोबसको खलाँसी गरेका ति दिनदेखि नै म यहाँको बासिन्दा हुँ । नेपाल भर कतै मेरो नाममा एक आना जग्गा पनि भएको मलाई थाहा छैन । पुर्ख्यौली सम्पत्तीका नाममा मैले मेरा बा बाट पाएको यही गरीबी मात्र हो । बा ले उहिल्यै छाडेर गैहाले । उनले शायद मैले भन्दा धेर गरीबी भोगेका कारण मलाई चाँडै नै छाडेर गएको हुनुपर्छ । आमाको त म मुहार सम्म पनि सम्झन्न ।
बा बितेको ११ दिनमा आफू जन्मेको पश्चिम नेपाललाई छाडेर शहर छिरेको हुँ । भरियाको साथ लागेर पोखरा सम्म आएपछि ट्रक चढेर काठमाण्डौ छिरेको थिएँ झिसमिसेमा । भोकले आन्द्रा झुत्ति खेलिरहेका बेला कलंकीमा एउटी चिया पसले आइमाईले चिया र बिस्कुट खान दिएकी थिइन् जुन म कहिले पनि बिर्सन्न ।
झुत्रे लुगा र मैलो अनुहार लिएर कलंकी तिर दिनभरी भोकै भौंतारिएको थिएँ । उस्तै लुगा लगाएका एकनासे स्कुले बच्चाहरु देखेर धेरै बेर टोलाएको थिएँ । अहिले ति सबै सामान्य लाग्छन तर त्यतिबेला निकै अनौठो लागेको थियो ।
बिस्तारै घाम ढल्दै गए, ति आमैले दिएको चिया र विस्कुटले पहिले नै धर्म छाडीसकेको थियो । पानी पिउनका लागि धेरै ठाउँ घुमेको थिएँ तर गाउँमा जस्तो मैले बाँसका झाँग मुनी पलाएको पानीको मुहान कतै भेटिन । धेरै पल्ट पानी पनि पिउन नपाउने कस्तो ठाउँमा आएछु भनेर आफैँलाई धेरै पल्ट धिक्कारेको थिएँ । फेरी पनि तिनै आमैले पानी पिलाएर मलाई अर्को गुन लगाएकी थिइन् ।
दिन त बित्यो गाडी गुडेको रमाइलो हेर्दै । जब रात पर्न लाग्यो तब मनमा चिन्ता शुरु भयो कहाँ जाने के खाने । खल्तीमा पैसा पनि थिएन । झमक्क साँझ परेपछि म दिशाहीन त्यत्तिकै बरालिइरहेको थिएँ । रात अलि छिप्पिएपछि भने मनमा डर पनि लाग्न थालेको थियो ।
सडका गुडेका गाडीको बत्तीको उज्यालोमा आफूलाई दिशाहीन घिसार्दै थिएँ । म सँग कुनै अन्य विकल्प थिएन । केही पर पुगेपछि सडक किनारामा रोकी राखेको सानो गाडी देखें । यसो वरीपरी घुमेर हेरें भित्र कोही रहेनछ । हल्का प्रयाशले नै ढोका खुल्यो । मेरो रातकाट्ने समस्या समाधान भयो । तर पेट भने भोकले दोब्रि सकेको थियो । यताउता हेरें केही छ कि भनेर तर केही भेटिन र उसै पल्टिएँ अलिक लामो सीट छानेर ।
कसैले जोडले बोलाएको आवाजले म बिउँझिएँ । बिहान भैसकेको रहेछ । एकजना हेर्दै डरलाग्दो मान्छेले मलाई बोलाउँदै थियो मेरो मनमा डर भरिएर आयो । म डराउँदै उठें । उसले मेरो बारेमा सोध्यो मैले सबै कुरा डराइ डराइ भनें । मेरो कुरा सुनेर मलाई उसैले त्यही गाडीमा खलासीको काम दियो । टन्न खान पाइने अनि हातभरी पैसा बोकेर बिन्दास जिउन पाइने हुनाले मलाई त्यो कम एकदम रमाइलो लाग्दै गयो र धेरै समय मैले त्यही काममा बिताएँ ।
दश वर्ष मैले उसैको गाडीमा काम गरेँ । मैले काम गर्ने गाडी कलंकी देखि कोटेश्वर सम्म गएर त्यही बाटो फर्कन्थ्यो । हप्तामा दुई दिन हाम्रो गाडीका पहिलो रुटको समय एउटै पर्थ्यो । त्यतिबेला भने यात्रुहरु प्रायः दोहोरिन्थे । यसै क्रममा मेरो भेट एउटी केटीसँग भयो । हरेक सोमबार र शुक्रबार म उसलाई मेरो गाडीमा बानेश्वरदेखि कलंकी सम्मको यात्रामा पाउँथे । पहिलो केही दिन त अरु सामान्य यात्रीलाई झैं उसलाई पनि मैले उस्तै व्यवहार गरें । तर एक महिना जति पछि भने ऊ मसँग विस्तारै बोल्न थाली । उसको नाम रमा रहेछ । मैले पनि घरछाडेदेखि पहिलो पल्ट कसैलाई आफ्नो नाम बताएको थिएँ पुरन भट्ट । गाडी साहूले जहिले पनि कान्छा भनेर बोलाउँथ्यो मैले झण्डै आफ्नो नाम बिर्सिसकेको थिएँ ।
यसरी बोलचाल हुन थालेको दुई वर्षपछि मलाई रमाले उसको घरमा लिएर गई । शंखमुल सुकुम्बासी बस्तीमा उसको १ कोठाको घर थियो टीनले छाएको । घरमा बुढी आमा र रमा मात्र बस्थे । आमा बिरामी भएर काम गर्न नसक्ने भएपछि नौ कक्षाको पढाई छाडेर रमाले असनको कुनै लुगा पसलमा चारहजार महिनामा काम गर्न शुरु गरेकी थिई । त्यो दिन अबेला साँझसम्म म रमाको घरमा बसेर फर्कें । हामी यसरी बेला बेला भेट्दै गर्थ्यौं । नियमित भेटले हामीलाई नजिक बनाइसकेको थियो ।
दिनहरु बित्दै थिए । धेरै दिन रमालाई मैले भेटिन । मेरो गाडीको रुट परेका बेला पनि ऊ मेरो गाडीमा आएको थिइन । कामको व्यस्तताका कारण म उसको घर जान पनि सकेको थिइन । मेरो मनमा बेचैनी बढीरहेको थियो । तर म काम छाडेर जान सक्ने अवस्थामा पनि थिइन ।
त्यस्तै दश बाह्र दिनपछि मैले मलिनो अनुहारमा रमालाई देखें । काममा जान मेरै गाडीमा आएकी थिई । ऊ गाडीमा रहुन्जेल मैले उसलाई नै हेरिरहें । उसका अधरहरु केही बोल्न खोज्दै थिए तर मान्छेका अगाडी उसको हिम्मत जुटिरहेको थिएन । उनको मुहारको बेचैनी मैले राम्रैसँग पढ्न सकेको थिएँ । सुन्धारामा गाडी रोकिएपछि सबै उत्रिए । म रामलाई आशातित भएर हेर्दै थिएँ केही भन्छे कि भनेर । म अरु यात्रुसँग पैसा उठाउँदै थिएँ अकस्मात रमा मलाई अंगाल्न आइपुगी । म अक्कबक्क भएँ । के भएको मैले ठम्याउन नपाउँदै रमाका आखाँबाट बलिन्द्रधारा आँशु झर्दैथिए । अरु यात्रुहरु हामीलाई अचम्म मानेर हेर्दै थिए ।
मैले विस्तारै रमालाई आफूबाट अलग्याएर सडक पेटीमा लगेँ र सोधें के भयो भनेर । उसले यी दिनहरुमा आफूले पाएको दुःखको बारेमा मलाई बताई । आमा बित्नु भएछ । एकपटक मात्र भेटेको भए पनि मलाई आमालाई सम्झेर नरमाइलो लागेर आयो । अब के गर्ने भन्ने हाम्रो कुरा हुँदैथियो । गाडी साहूले हाम्रो कुरा सुनिरहेको रहेछ । उसले मलाई पाँचसय दिएर आज छुट्टी बस् भन्यो । मैले पैसा लिएर टाउको हल्लाएँ ।
रमालाई एउटा चिया पसलमा लगेँ । सबै कुरा सुने राम्रोसँग । मलाई पनि रुन मन लाग्यो तर म रुन सकिन । रमालाई भने आफ्नो काँधमा टाउको राखेर आँखा रित्तिउन्जेल रुन दिएँ । दश मिनेट जति पछि उसको रुवाई कम भयो । उसले विस्तारै मलाई उसको घर जान भनी । हामी चियाको पैसा तिरेर बानेश्वरतिर लाग्यौं ।
उसको घरमा पुगेपछि हामीले अब के गर्ने भन्ने सल्लाह गर्‍यौं । हामीले बिहे गर्ने निर्णय गर्‍यौं । दुवै तर्फ आफन्त नभएकाले हामीले बगलामुखी मन्दिर गएर सामान्य बिहे गर्‍यौं । रिती अनुसार मैले उसलाई मेरो घर लिएर आउनु पर्ने थियो तर मेरे घर भनेपनि अफिस भने पनि त्यही गाडी थियो । म उसलाई त्यहाँ लिएर जान सक्दिन थिएँ । मैले उसलाई त्यो कुरा भनें उसले सहज उपाय दिई र मलाई उसले उसको घरमा भित्र्याई ।
साहूले दिएको पैसाले कति नै पुग्ने थियो र । भोलि पल्टदेखि नै हामी दुबै जना आफ्नो काममा जान थाल्यौं । उसले बनाएको रोटी र अचार बोकेर म बिहानै निस्कन्थें । कान्छीको भात पसलमा खाएको मासु र भात भन्दा रमाको हातले बनाएका सुख्खा रोटी नै मेरा लागि प्रिय थिए । बिहे गरेको थाहा पाएर साहूले एक हजार तलब पनि बढाइदियो । होटेलमा खान नपरेपछी खाना बापत पाउने भत्ता पनि बचत गर्न थालें ।
दिनचर्या सामान्य बितेकै थियो । हाम्रो बिहे भएको तीन महिना पछि मैले काम गर्ने गाडीको बानेश्वर चोकमा ठूलो दुर्घटना भयो । मलाई त खासै ठूलो चोटपटक लागेन तर गाडी साहूको भने निधन भयो । मलाई यस घटनाले ज्यादै मर्माहत बनायो । मेरो आफ्नै बा ले छाडेर जाँदा पनि म त्यति टुकेको थिइन तर गाडी साहूको निधनले मलाई पूर्ण रुपमा टुटायो ।
अब के गर्ने भन्ने भविष्यको चिन्ताले सताउन थाल्यो । रमा एक जनाको कमाईले हामीलाई ज्यान पाल्न धौ धौ नै पर्थ्यो । पैसा बचाउनका लागि भनेर रमा घरदेखि काम गर्ने पसलसम्म पैदल नै जान थाली । म घरमा दिनभरी सुतेर बस्थें । मनमा राम्रो त लागेको थिएन तर हातमा अन्य सीप नभकाले मैले काम पाउन सकेको थिइन ।
एक दुई गाडी साहूसँग कुरा पनि गरेर हेरें तर केहो जुगाड हुन सकेन ।
एक दिन बस्तीकै एकजना दिदीले बाटो बनाउने काममा ज्यामी चाहिएको छ जाने भए आऊ भनेर उतै लगिन । दिनभरी सुख्खा काम गर्दा चारसय पाइने रहेछ । ठीकै छ भनेर रमासँग सल्लाह गरेर त्यही काम थालें ।
एक दिन बिहानै टोलमा निक्कै हल्ला भयो । के रहेछ भनेर बाहिर निस्केँ । एउटा ठूलो डोजर आँ मुख बाएर हाम्रो बस्ती भत्काउन भनेर आउँदै रहेछ । सबै डराएर हल्ला गर्दै रहेछन् । पुलिसको पनि बाक्लै उपस्थिती थियो । हेर्दा हेर्दै हाम्रो लाईनको बस्तीका टहरा भत्काउन शुरु गर्‍यो । हामीलाई आफ्नो सामान झिक्नो मौका पनि दिइएन । रमा पानी थाप्न स्कुलको धारमा गएकी थिइ । रमा पानी थापेर घर आउँदासम्म हाम्रो घरको अवशेष मात्र बाँकी थियो । म आवाज बिहीन भएर हेरी रहेको थिएँ । रमाको हातबाट पानी भरिएको गाग्रो भुइँमा झर्‍यो र ऊ त्यहीँ लडी । मलाई रमालाई उठाउन जाने होश पनि आएन । अकस्मात एउटा इँटाको टुक्रा उठाएर हावामा हुत्याएँ । डोजरको चालकको टाउकोमा गएर इँटा बज्र्यो । डोजर रोकियो तर त्यहाँ उपस्थित सबै पुलिसहरु मतिर हुत्तिएर आए । मलाई कर्‍यापकुरुप पारेर समाए । लात्ति र लौरो बर्साए । सक्ने अवस्थासम्म म प्रतिवाद गरिरहेँ । बस्तिका अरु आइमाई केटाकेटीहरु पनि ढुंगा लिएर पुलिसतिर आइलागे । मलाई छाडेर उनीहरु उता लागे । रमा म भए ठाउँ आइ ।
केहीबेर दोहोरो भिडन्त कायम रह्यो । पुलिसका अरु गाडी आए र आइमाई केटाकेटी बाहेक हामी सबैलाई समातेर ट्रकमा कोचियो । छेउका पन्ध्र घर भत्किएका थिए । त्यति हुलदंगा भएपछि बाँकी घरहरु बचे ।
हामीलाई चौकीमा राखियो । खाने व्यवस्था पनि थिएन । सानो कोठामा पैंतालिस जनालाई राखिएको थियो । दुईदिन पछि कुन्नि कुन हो संस्थाले हामीलाई पानीजस्तो पातलो दाल र आधा पाकेको मोटादानाको चामलको भात दियो । सकी नकसी त्यो सबैले खाए । बाँच्नु थियो जसरी पनि मैले रमाका लागि र अरुले आफ्ना परिवारका लागि । छ दिनपछि पुलिस चौकी अगाडी कसैले नाराबाजी गरेको सुनियो । हाम्रो पक्षमा बोल्ने कोही त रहेछन् भनेर हामी थुनामा बस्दा खुशी भएका थियौं । पछि ति बाहिर कराउनेलाई पुलिसले समातेर भित्र ल्याएपछि पो थाहा भो ति त हाम्रै परिवार पो रहेछन् ।
पुलिसले धरपकड गर्न छाडेन । बस्तीवालाहरुले पनि चौकी अगाडी धर्ना दिन छाडेनन् । पैंतालिस दिनको दोहोरी पश्चात बल्ल हामीलाई कागज गरेर छाडियो साँझपख ।
घर पुगें । टुक्रिएर छरिएका इँटा र जुटका बोरा बारेर घरलाई पुनः ठड्याइएको रहेछ । रमाको हिम्मत देखेर खुशी पनि लाग्यो । चौकीको खान्की र अनिन्द्राले गलेको शरीर रमाको काखमा ढलेको कतिबेरमा निदाएँ थाहै भएन ।
भोलिपल्टदेखि फेरी उही हातमुख जोर्ने समस्या अगाडी छँदैथियो । पुरानो ठेकेदारसँग काम माग्न गएँ तर उसले काम दिएन । मलाई मात्र हैन सुकुम्बासी बस्तिका कसैलाई पनि उसले काम दिएन । पापी पेटको सवाल थियो हामीले बिद्रोह गर्न पनि सकेनौं । निराश भएर फर्कनु भन्दा अरु उपाय हाम्रो केही रहेन ।
दुईतिन काम खोज्नमा मै बित्यो । तर केही जोहो बन्न सकेन ।
एकहप्ता पछि एकजना बस्ती कै भाईले फोहोर उठाउने काम दिलायो । मसँग काम रोज्ने न योग्यता थियो न शक्ति नै । जे काम पाए पनि गर्न म बाध्य थिएँ । काम शुरु गरें । फेरी हाम्रो जीवन पटरीमा फर्क्यो । बिहानै रिक्सा लिएर सिठी बजाउँदै घर घर गएर फोहोर संकलन गरिन्थ्यो अनि छाँटेर बेच्न मिल्ने चिज कवाडीवालालाई बेचिन्थ्यो । कामको स्तर जस्तो भएपनि कमाई प्रति म सन्तुष्ट नै थिएँ ।
जीवनको रथ घस्रदैं थियो । यही क्रममा रमा दोजिया भई । अब मैले उसलाई काममा जान रोकें । मेरो कमाई अब हाम्रा लागि पर्याप्त नै थियो । जीवनमा अर्को खुशी थपियो रमाले प्रसुति गृह अस्पतालमा छोरीलाई जन्म दिई । हाम्रो खुशीको सीमा रहेन । अस्पतालबाट फर्केपछी गच्छे अनुसार हामीले बस्तीका सबैलाई भोज खुवायौं । सबैले छोरीको नाम पूर्णिमा राखे हामीलाई पनि स्वीकार्य भयो ।
छोरी छ महिनाकी भइन रमा उनलाई लिएर नै काममा जान थाली म आफ्नै काममा लागें । रमाइलोसँग हाम्रो जीवन बित्दै थियो । देशमा भने के के घटना बेला बेला भइरहेको थियो । के के कारणले देशमा आन्दोलन शुरु भयो । यी सबैकुरा बुझ्ने मसँग क्षमता पनि थिएन न त समय नै ।
एकदिन दिउँसो अकस्मात शहरका यत्ति धेरै मान्छे आए कि मैले कहिले पनि त्यति धेरै मान्छे देखेकै थिइन । रमा काममा गएकी थिइ अब के हुने हो भनेर मलाई चिन्ता लाग्यो । दिउँसो खासै मेरो काम नहुने हुनाले म घरै थिएँ । रेडियोमा खबर सुनेपछि म रमालाई लिन भनेर उसको काम गर्ने पसलतिर लागें । म बानेश्वरबाट भिड छिचोलेर असनसम्म पुग्नै सकिन । मसँग अरु कुनै उपाय थिएन रमा र छोरीलाई जसरी नि मैले भेट्नै पर्ने थियो । तर मैले दिनको उज्यालोमा भेट्न सकिन । साँझपख त्रिपुरेश्वरमा गोली चल्यो भागाभाग भयो त्यसमा म पनि परें । भाग्ने क्रममा मेरो खुट्टामा चोट लाग्यो । जसरी तसरी घस्रेर अँध्यारो भएपछि मात्र म निराश भएर घर पुगें । घरमा रमा र छोरीलाई सकुशल देखेर मेरो दुखाई आधा कम भयो ।
मनमा त दुखाई थिएन तर खुट्टाका घाउ दुखेर रातभर सुत्नै सकिन । रमाले खै के घरेलु औषधि लागाइदिइ र खान पनि दिइ । केहीबेरमा हल्का कम भएको महसुश भयो र निदाएँ पनि ।
केही दिन काम बन्द भयो । देशमा ठूलो उथलपुथल भयो राजालाई हटाए रे भन्ने खबर आयो तर हामीलाई त्यसले केही फरक पार्दैनथ्यो । काम गरे खाना पुग्ने नत्र भोकै रहनुपर्ने हाम्रो परिवारलाई देशको कुनै राजनैतिक परिवर्तनले कहिले छोएन र छुँदैन पनि ।
पन्ध्र सोह्रदिन पछि फेरी हाम्रो दैनिक जीवन सामान्य भयो । देशमा जे भएपनि हामीलाई केही असर परेन । काममा दुवै जना जान थाल्यौं । यसरी नै जीवन चल्दैथियो ।
समय बित्दै गयो । छोरी ठूली भइन् । दुःख सुख हामीले नजिकैको सरकारी स्कुलमा उनलाई पढ्न पठायौं । हामी आफूले पढ्न नपाए पनि छोरीलाई पढाउन पाएकोमा खुशी थियौं हामी ।
समय बित्न केही बेर नलाग्ने रहेछ । पूर्णिमा अब तेह्र वर्षकी भइसकिन् ।
आज फेरी देशमा फैलिएको कोरोना रोगका कारण छोरीको स्कुल बन्द छ । रमाको काम गर्ने पसल पनि बन्द छ तर मेरो फोहोर उठाउने काम भने बन्द छैन । बिहानै घर घरै गएर फोहोर उठाउने काम हामी गर्दै आएका छौं ।
अस्ति बिहान पनि म सदा झैं काममा गएको थिएँ । बिहानभरी काम गरेर घर फर्कंदा खाना पाकेको थिएन । रमा र पूर्णिमा औछ्यान मै थिए । काम केही नभएकाले सुतेका होलान् भन्ने लाग्यो । आफैंले खाना बनाएँ । खाना पाकेपछि उठाएँ दुबैलाई । दुबैले खाना खान इन्कार गरे । उनीहरुलाई त ज्वरो आएको रहेछ ।
सामान्य ज्वरोमा झैं मैले घरमा भएको ट्याब्लेट खान दिएँ आमा छोरी दुवैलाई । ट्याब्लेट खाएर दुबै फेरी सुते । मलाई पनि खाना खान मन लागेन म पनि भुँइमा ढल्किएँ ।
बिहानभरी काम गरेकाले मलाई निन्द्रा लागेछ । बिउँझिदा साँझ पर्न थालिसकेछ । उठेर आमा छोरी दुबैलाई उठाएँ तर ज्वरो त झन् बढेको रहेछ । ट्याब्लेटले काम गरेनछ । अब जसोतसो अस्पताल लानु पर्ने भन्ने लाग्यो । बाहिर निस्कें गाडीको लागि तर कुनै पनि गाडी नचलेको हुनाले केही पाइएन । बस्तीकै एकजना दिदीको सहयोग लिएर मैलै आफ्नै फोहोर बोक्ने रिक्शामा बोरा ओछ्याएर आमा छोरीलाई राखेर अस्पताल तिर लगें । नीजि अस्पतालमा लाने हैसियत थिएन त्यसैले बीर अस्पताल तिर लागें ।
बाटोमा धेरैले सोधे ज्वरो आएको भनेपछि नजिक पर्न चाहेनन् किन हो मैले कुरो बुझिन । माइतीघर पुग्दा पुलिसले रोक्यो । ज्वरो आएर अस्पताल लान लागेको भन्ने बित्तिकै पुलिसले सहयोग गर्‍यो । म रिक्शा लिएर पछि पछि लागें आमा छोरी र छिमेकी दिदीलाई पुलिसले गाडीमा राखेर अस्पताल पुर्‍याइदियो । बस्तिमा पुलिसको कुटाइ खाएर चौकीमा थुनिन परेको दिनदेखि म पुलिससँग नजिक पनि भएको थिइन तर त्यो दिन सहयोगी रुपमा पनि देखें ।
अस्पताल पुग्दा रात परिसकेको थियो । अस्पतालले बेड छैन भनेर बाहिरै राखिदियो । धेरै रात छिप्पिसक्दा पनि कोही हामीलाई सोधखोज गर्न कोही नआएपछि गरीबको लागि सरकार रहेनछ भन्ने भावनाले मन कुँडियो ।
साथ आएकी दिदीसँग सल्लाह गरेर अर्को अस्पताल लाने निधो गर्‍यौं । भुइँमा लडिरहेका आमा छोरीलाई दुवै मिलेर फेरी रिक्शामा राखेर टिचिङ अस्पतालतिर लाग्यौं । पानीपोखरीको उकालोमा गाह्रो भयो रिक्शा तान्न । दिदी तल ‍ओर्लेर पछाडीबाट धकेलिन मैले बल्लबल्ल उकालो कटाएँ । राष्ट्रपति भवननेर पुगेपछी सेनाले रोकेर सोध्यो, बिरामी हो भनेर रिक्शा नरोकी कराउँदै कुदाएँ । सेनाले केही भनेन पनि । जवाफमा जाऊ भन्ने इशाराले हात हल्लायो मात्र ।
अस्पतालको गेटमा पुग्दा गार्डले रोक्यो । ज्वरो आएको बिरामी भनेर भित्रै जान दिएन । बिरामीलाई त दिएन दिएन म डाक्टरलाई भेटेर कुरा गरेर आउँछु भन्दा मलाई पनि जान दिएन । चार घण्टा अनुरोध गर्दा पनि गार्डले भित्र जान दिएन । कुनै उपायले भित्र जान पाएको भए डक्टरसँग कुरा गर्थें भन्ने लागिरह्यो तर मेरो सीप लागेन ।
रमाले पानी मागेको आवाजले मलाई झस्कायो । मैले उसलाई पानी पिउन दिएँ । छोरी अचेत नै थिइन् । रिक्शा रोकेर सडकको पेटीमा बसेको थिएँ । कतिखेर झपक्क आँखा लागेछन् थाहा नै भएन ।
बाबू ए बाबू भनेर कराएको आवाजले झस्किएँ । दिदी काराउँदै रहिछिन् । के भयो भनेर म हतार हतार उठेर रिक्शा तिर हामफालें । दिदीले छोरी त शान्त भइछिन् भनेर देखाइन् । यसो निधारमा हात राखें पूर्णिमालाई त ‍औंशीको कालो रातले छोपिसकेछ । कतिखेर हामीलाई छाडेर गइसकिछिन् । रमाको भने धुकधुकी बाँकी नै रहेछ । अब के गर्ने भन्ने कुरा हामीले सोच्न सकेनौं । त्यहाँ हाम्रो मद्दतको लागि कोही पनि थिएन । हाम्रो हासिलो संसार कतिखेर उजाडियो थाहै भएन । दैव निष्ठुरी हुन्छ भन्थे हो रहेछ  भन्ने लाग्यो ।
बज्रपात पर्‍यो जीवनमा । तीन जनाको रमाइलो संसार छिन्नभिन्न भयो । दुःखीका लागि भगवान पनि नहुने रहेछ भन्ने पक्का भयो ।
शवलाई यसै राखिरहनु ठीक थिएन । संस्कार गर्नै पर्‍यो ।
रिक्शा पशुपतितिर मोडें । पशुपति आर्यघाट पुग्दा झिसमिसे उज्यालो भएको थियो । सकिनसकी रमालाई रिक्शाबाट भुइँमा बस्न लगायौं । उसको ज्वरो कम भएको रहेछ । छोरीको शव निकालेर जमिनमा राखियो । खल्तीमा सय रुपियाँको एक नोट भन्दा केही थिएन मसँग । सँगै आएकी दिदीको पनि त्यही हालत थियो । हामी तीन जनासँग गरेर जम्मा दुईसय पचास रहेछ ।
दाहसंस्कारका लागि जोहो गर्न तिर लागेँ तर हामीसँग भएको पैसाले पुगेन । छोरीको शक जमिनमा राखेर कुरेर बस्नुभन्दा हामीसँग अब अर्को बिकल्प रहेन । बिहान बित्यो दिउँसो बित्यो रात पर्‍यो । तर पूर्णिमाको दाहसंस्कार गर्न सकिएन । शवलाई कुरेर बस्दै गर्दै दुईचार जनाले पाँच दश रुपियाँ दिएर पनि गए तर त्यसले केही हुनेवाला थिएन ।
भोलिपल्ट दुईचार जना भाइहरु क्यामेरा लिएर आए । हाम्रा दुःखलाई क्यामरामा कैद गरेर गए । तर सहयोग केही गरेनन् । दुनियाँबाट मानवता मेरी छोरीसँगै मरेको भान भयो ।
साँझपख एकजना बाहुन बाजे आएर सबै कुरा सोधे । हामीले बतायौं फेरी पनि । एकैछिन हाम्रा कुरा सुनेर उनी गए । दुई घण्टा पछी शवको दाहसंस्कारका लागि चाहिने सामग्री लिएर हामीतिरै आए । विधीपूर्वक उनले शवदहन गरे । पछिमात्र हामीलाई थाहा भयो सरकारले हाम्रा लागि त्यो व्यवस्था गरेको रहेछ सित्तैंमा । जे होस् हामी बेरोजगार भएर भोकै बस्दा वा बिरामी भएर अस्पताल जाँदा हाम्रा लागि सरकार नभएपनि मरेपछि लाश जलाउन भने हाम्रा साथमा सरकार थियो । अब मर्न असजिलो नहुने पक्का भएको पूर्ण आभाष भयो हामी गरिबलाई ।
२०७६ चैत्र

Tuesday, March 17, 2020

मनको कल्पना (कविता)

मनको भाव उम्लियो आज कसरी सम्हलुँ
पानीको थोपा कसरी उड्यो गगन निहारुँ ।
उनको आभा पवित्र मन हृदय कोमल
बैंशको बेला उन्मादी हावा भावना सलिल ।।

बिहानी रुप शीतको थोपा मनमा कम्पन
सुवर्ण तल सरीता पथ सुशिल सम्पन्न ।।
चरीको गित नयन वाण उदार बिचार
आउने उनी बसेर लता नविन प्रहर ।।

आमाको काख धरती माथि उन्नत छहरा
पवन माद क्षितिज भरी शैशव लहरा ।
गगन रुने उदासी मन उनैको सम्झना
प्रकृति छटा मनको भार तनको रञ्जना ।।

लहरी केश उज्जैन कद नयन नशालु
हावामा छरी सुवाष मीठो निस्केकी मायालु ।
मिलेको कृपा इशको आहा उर्वशी रुपमा
कसरी दिउँ कल्पना कहाँ कसको उपमा ।।

फागुन, २०७६

म अनि तिम्रो मौनता (कविता)

हावा किन आयो आफ्नो झोक्का लिएर
अनि कसरी छाडेर गयो यहाँ मलाई
किन भन्ने मेरो सोधाइ होइन मेरो तिमीसँग
तर कसरी भन्ने अब उप्रान्त यहाँ ।

आमाको माया र वाग्मतीको पानी
म कहिले तुलना गर्न सक्दिन ।
तिमी जे भन प्रिय म कृष्ण कसरी बनूँ र !
राधा वा रुक्मिणी को हुन् र ?

मलाई वा मेरो मनका लागि धैर्य मात्र
आवश्यकता कसको भन्ने कुरा
जीवनका कुनै मोडमा पनि म चिप्लिन्न
तिमी बेकारमा शंका नगर न ।

फूल पनि त जूठो हो नि भवँराको
तैपनि भगवान उसैका भोका हुने
शंका वा उपशंकाको महल किन खडा
अनि म किन तिम्रा लागि अछुत र अपवित्र ?

भावनामा बग्दा पानीको वहाव कम हुने होइन
पानी आँफैमा पवित्र हो तर खोट अपवित्र
इशारा मैले गरेको छैन किन तिमी मौन ?
मलाई तोड्ने तागत देऊ तिम्रो मौनता आज ।

माघ, २०७६

Monday, January 27, 2020

पहिलो पाहुना (कथा)



झण्डै हानेको बाइकले । कसरी चलाउँछन् आजकालका केटाकेटीहरु सवारी साधन । आफ्नो ज्यानको समेत ख्याल राख्दैनन् अरुको त कुरै नगरे भो यो शहरमा ।

हतार हतार अफिसको काम सकाएर घर जानै हतार हुन्छ मलाई सँधै । यो मेरो विगत चौध वर्षदेखिको दैनिकी हो जसबाट म सन्तुष्ट छु र छैन पनि । अफिसमा नयाँ हाकिम आएको छ दिन भयो आज बल्ल उसले परिचयात्मक कार्यक्रम राखेको थियो । त्यसैको अलमलमा आज घर फर्कन ढिला भयो । नत्र त म सँधै सात बजेको हाराहारीमा घर पुग्थेँ ।

हुन त बेलैमा घर पुगेर पनि कसलाई  पो समय दिनु थियो र कोही त थिएन साथमा । विगत बाइस वर्षदेखि एक्लै बस्दै आएकी छु । मलाई राम्रोसँग याद पनि छैन कि म यो घरमा कसरी आइपुगेँ भनेर ।

म बस्दै गरेको घर भाडाको हो तर मैले भाडा तिर्नु पर्दैन । घर मालिक को हो पनि मलाई थाहा छैन । यो कोलोनीमा उसको सयवटा भन्दा बढी घर छन् भन्ने थाहा छ सबैलाई तर कसैले पनि उसलाई आजसम्म देखेका छैनन् । महिनाको समाप्ति पछि सबैजना लाईन लागेर बैंकमा उसको घरको भाडा जम्मा गरिदिन्छन् तर म गर्दिन ।

म दश वर्षकी हुँदा सम्म एक विदेशी दम्पतिसँग बस्थें । उनीहरुले नै हो रे मलाई सात महिनाको उमेरमा यहाँ लिएर आएका आफ्नो सन्तानको रुपमा अनाथालयबाट । तर मलाई त याद हुने कुरै भएन । म करिब तीन या चार वर्षदेखि हुँदा देखिका कुराहरु भने सम्झन्छु । जीवन सामान्य नै थियो । मलाई अरु त ठीकै लाग्छ तर यो बिराटनगरको गर्मी भने पटक्कै मन पर्दैन ।

म फोर्थ स्ट्याण्डर्डमा हुँदा मेरा धर्म मातापिताको रानी भन्सार इलाकामा कार दुर्घटनामा परेर देहान्त भयो म पनि त्यो घटनाको प्रत्यक्षदर्शी थिएँ । सम्झदाँ पनि मुटु काम्नेगरी डर लाग्छ । आमाले कार चलाउनु भएको थियो बाबा अगाडीको सीटमा र म पछाडी थिएँ । मलाई सम्झना भएसम्म बाबा आमालाई कार चलाउन सिकाउँदै हुनुहुन्थ्यो । एक्कासी हाम्रो कार विपरित दिशाबाट बेगले आएको दुग्ध संस्थानको ट्याङ्करसँग जुध्यो र उक्त ट्याङ्कर हाम्रो कारमाथि चढ्यो । आमाको तत्काल र बाबाको मोरङ जिल्ला अस्पतालमा तीन दिन पछि देहान्त भयो त्यसबेलादेखि नै म पुन टुहुरी भएँ ।
हामी बस्दै आएको घरको तल्लो फ्लोरमा नेवार परिवार बस्छन् । आमाबाबाको देहान्त पछि उनीहरुले नै मलाई हुर्काए बढाए । तर आफ्नै सन्तान जस्तो चाहिँ कहिले गरेनन् न त बोझ नै सम्झे । मेरो खानापिना स्कुलको खर्च घर भाडा सबै उनिहरुले नै गरिदिएका हुन् म आफू कमाउन सक्षम नभएसम्म । त्यसमा के स्वार्थ थियो वा विशुध्द समाज सेवा मैले अहिलेसम्म चाल पाएकी छैन ।
कुनै बेला घर मालिकलाई मेरो बारेमा कसैले भनिदियो होला शायद । म बाह्र क्लासमा हुँदा एकदिन घरको मुल ढोकामा एउटा लिफाफा आएको थियो । उक्त लिफाफा भित्र मैले चाहुन्जेल यो घरको म बसिरहेको फ्लोर बिना भाडा प्रयोग गर्न पाउने गरी ईच्छापत्रका रुपमा लेखिएको पत्र आएको थियो । मैले कानुनीरुपमा यसको आधार हुने कि नहुने भनेर अरुसँग सल्लाह गर्दा यो कानुनी मान्यता प्राप्त काजग हो भन्ने जानकारी पाए देखि घरको भाडा तिर्ने गरेकी छैन ।

बेला बेलामा मलाई ति घरधनी भगवान हुन् पनि लाग्छ अनि बेला बेलामा चाहिँ कुनै स्वार्थ !  तर अहिले यत्रो वर्षसम्म केही नकारात्मक कुराको संकेतसम्म पनि नआएको हुँदा मन आँफै बुझ्छ पनि ।
अटोबाट झरेर घर पुगेँ । कहिले काहिँ मात्र म रिक्सा प्रयोग गर्छु वास्तवमा मलाई यहाँका रिक्सावालाहरु मन पर्दैनन् । जति भेटेँ सबै एकोहोरा र जिद्दी टाइपका मात्र भेटेँ ।

बिहानको भात थियो फ्रिजमा । तताएँ । तरकारी केही थिएन । शिशीमा भएको मुलाको अचार र तातो दुधसँग बासी भात खाएँ । बेलुका प्रायः यस्तै हुन्छ मेरो खान्की । अल्छि लाग्छ दिनभरी अफिसमा काम गरेर बेलुका खाना बनाउन । बिहान जानाजान अलिक बढि पकाउने गर्छु रोटी होस् या भात ।

एकजनाको धन्दा कति नै हुन्छ र ? धन्दा सकेर बेडरुममा लागें । टिभी हेर्ने कक्ष पनि त्यही हो मेरो । हुन त लिभिङ्ग रुममा पनि टिभी छ तर एक्लै भएको बेला म प्रायः त्यो टिभी अन गर्दिन । कहिले काँहि अफिसका साथीहरु आएकाबेला भने त्यो टिभी चल्ने गर्छ ।

यसरी नै म बिराटनगरमा आफ्ना दिनहरु काटिरहेकी थिएँ । काठमाण्डौ जान मन लागेको थियो, आफ्नै अफिसको ब्रान्च पनि नभएको होइन तर किन र कता जाने के गर्ने भन्ने तर्कले कहिले राजधानी जान दिएन मलाई आजसम्म ।

हिजोको थकाई अलिक बढि नै भएछ क्यारे बिहान ढिलै आँखा खुले । सँधै म सँगै वाकमा जानेहरु आज फर्कँदै थिए म वाक जानेबेलामा । मलाई हेर्दै हाँस्दै पनि थिए परिचित अनुहारहरु, यसमा अंकलहरु धेरै थिए अंटीहरुभन्दा । कोलोनीका परिचित अंकलहरु सबैजना मलाई "बेटी" भन्छन् । म सबैलाई अंकल । अंटीहरु भने त्यति ध्यान दिदैँनन् मलाई । मलाई यो सँग केही लेनादेना छैन । यस्ता कुराहरुलाई म सँधै सामान्य रुपमा लिने गर्छु ।

वाकबाट आएर सामान्य ब्रेकफास्ट तयार गरेँ । लञ्चबक्समा त्यही खाजा खाँदेर म अफिसका लागि निस्केँ ।

सँधै जस्तो अटो अनि बस चढेर म अफिस पुगेँ । फाट्टफुट्ट साथीहरु आउँदै थिए । म अलिक छिटो पनि भएछु । नयाँ हाकिम भने अघि नै आइसकेको रहेछ । गुडमर्निङ्ग भन्न जान मन पनि लागेन । जतिबेला देखापर्ला वा क्याविनमा बोलाउला त्यति नै बेला अभिवादन गरुँला भन्ने लाग्यो र लागे आफ्नो क्याबिन तिर ।

कुर्सीमा बस्दै गर्दै पहेँलो स्टिकर नोटमाथि आँखा पर्‍यो जुन मेरो कम्प्युटरको स्क्रिनमा टाँसिएको थियो, जसमा मलाई कार्यालयमा आउनासाथ हाकिमको क्याबिनमा जानू भन्ने खालको उर्दी थियो । हाकिमको क्याबिनमा जानु भन्दा पहिले जो स्टाफको मनमा पनि केही गल्ती भएको छ कि भन्ने एक प्रकारको अज्ञात त्रास भइ नै रहन्छ । यति बेला मेरो मनमा पनि त्यही अवस्था थियो ।
क्याबिन भित्र पुगेर अभिवादन गरेँ । हाकिमको बस्ने इशारा पाएर बसें ।

"सरिता, तपाइँको काम गर्ने तरिका मलाई एकदम मन पर्‍यो । म भन्दा पहिलेको बोसले पनि तपाइँको तारिफ नै गरेका थिए । तपाइँलाई पुरस्कार स्वरुप हामीले सेन्ट्रल अफिसमा सिनियर ब्रान्च मेनेजरको रुपमा प्रोमोट गरेर पठाउने निर्णय गरेका छौं ।"
"……"
"किन मौन हुनुहुन्छ ? हाम्रो अफर मन परेन र यहाँलाई ?"
"हैन सर त्यस्तो त तर यहाँ भन्दा सेन्ट्रल अफिसको काम टफ छ भन्ने थाहा पाएकी छु मबाट संभव होला र त्यो सब भन्ने सोचमा परेकी हुँ सर ।"
"त्यो कुनै नयाँ कुरा भएन नि काव्या मल्टिनेशनल कम्पनीका लागि । हरेक प्रदेशका नियम कानुन अनुसार काम गर्ने तरिका अलिक फरक हुने मात्र हो अरु केही टफ छैन । त्यो पनि तपाइँका लागि त झन् छँदैछैन । "
"ओके सर आई अण्डरस्ट्याण्ड । ह्वेन सुड आइ ज्वाइन सेन्ट्रल अफिस ?"
"एजसुनएज पोसिबल ।"

म क्याबिनबाट निस्केँ । अरु साथीहरु पनि आइसकेका रहेछन् । ह्वाट्सएपको ग्रुप मेसेजबाट सबैलाई मेरो सरुवाको बारेमा जानकारी भै सकेछ । सबैले प्रमोशन भएकोमा बधाई दिए । कत्तिले चाहिँ मिस गर्ने छौं भन्ने खालका भाव व्यक्त गरे । यो सामान्य नै हो अफिसियल बातावरणमा । मैले पनि सामान्य रुपमा नै लिएँ । एक हप्ता भित्र मैले सिटि अफिस छाडेर राजधानी जानु पर्ने भयो । त्यसका तयरीका लागि मलाई पाँचदिनको लागि छुट्टी पनि मिल्यो ।

आफ्नो निवासमा आएर तल्लो फ्लोरमा बस्ने अंकल अंटीसँग सबैकुरा छलफल गरेँ । उहाँहरुले आफ्नो चाहिने सामान बाहेक अरु यहीँ छाडेर जानु भन्ने सल्लाह दिए । घरवालासँग कुनै विवाद भएमा वा घर खाली गर्नुपर्ने अवस्था आएमा हामी हेर्छौं भनेर मलाई सान्त्वना पनि दिनुभयो । उहाँहरुको ममता देखेर आँशु पनि आयो हल्का ।

काठमाण्डौ एअरपोर्टमा उत्रनासाथ आफू भित्र भएको राजधानी प्रतिको कोतुहलता र माया एक्कासी बढेर आयो आँखा रसायो पनि ।

अफिसले नै बस्ने फ्ल्याटको व्यवस्था नक्साल तिर गरेको हुनाले सिधै त्यतैतिर लागेँ ट्याक्सी लिएर । ट्याक्सी चालकसँग ठेगानाको बारेमा कुरा गरें । उसले मलाई भनिएकै ठेगानाको घरमा पुर्‍याइदियो । पैसा दिएर सामान लिएर घरतिर लागें ।

सेक्युरिटि गार्डसँग मागेर आफ्नो फ्ल्याटको साँचो लिएँ । आफ्नो परिचय पत्रको फोटोकपी पनि बुझाउनु पर्ने रहेछ त्यो पनि बुझाएँ ।

बिराटनगरको जस्तो फराकिलो घर थिएन । ठूलो अपार्टमेन्टमा चार तल्ला माथिको एउटा फ्ल्याट रहेछ । बढीमा एक सानो परिवारका लागि मात्र हुने गरी चिटिक्क गरी बनाइएको ।
मूल ढोकाबाट छिर्ने बित्तिकै लिभिङ् रुम,  दाहिने तिर किचन र डाइनिङ्ग, देब्रे तिर रेस्ट रुम, अनि सिधा अगाडि बेडरुम । भित्तामा ठूलो टिभी, सबै सामानहरु राम्रोसँग मिलाएर राखिएको थियो । एकदम सफा पनि । काठमाण्डौमा पानीको हाहाकार छ भन्ने थाहै भएको हो । धारा त थिए तर पानी आउँछ कि आउँदैन भनेर चेक गर्न मन लाग्यो । नजिकै को वास बेसिनको धारा घुमाएँ बेतोडले पानीको फोहोरा छुट्यो मेरो लुगा भिज्ने गरी । मनमनै आफ्नै बचकाना हर्कतसँग हाँसो पनि उठ्यो । पालैपालो भएभरका सबै धाराहरु चेक गरें सबैमा पानी आइरहेको थियो । मन खुशी नै भयो । एकछिन पानीको धार हेरिरहेँ त्यसैमा रमाएँ । पानीको दुरुपयोग गर्न हुन्न भन्ने लागेर हतार हतार सबै धाराहरु बन्द गरें ।

ब्यागका सामानहरु सबै निकालेर मिलाउन थालेँ ।

डोरबेल बज्यो । म आउन नपाउँदै को आयो होला भन्ने कोतुहलताले छिटो छिटो ढोका खोलेँ ।

"म्याडम नमस्कार । म सागर" बीस बाइसको हँसमुख काले केटोले हात जोड्यो । काले भए पनि उ अति हँसिलो थियो । हाँस्दा उसका गालाका खोपिल्टा राम्रै देखिन्थे । कालो अनुहारमा सेतो दाँत सुहाएको थियो । गठिलो शरिर, ठूला आँखा, सपक्क मिलाएर कोरिएको कपाल, म त हेरेर दंग परेँ । अलिक बेरपछि आफूलाई सम्हालेँ ।
"नमस्कार । म सरिता ।"
"यात्रामा कुनै अप्ठेरो त भएन नि म्याडम ?"
"भएन खासै । नयाँ ठाउँ रमाइलो नै लाग्यो ।"
"हस् म्याडम भोलि अफिसमा भेटुलाँ अब । हजूर आराम गर्नुस् । म सरलाई हजूर राम्ररी आइपुग्नु भएको जानकारी दिन्छु ।"
"मैले सरलाई जानकारी दिइसकें सागरजी ।"
"हो र हस् हस् । अनि म्याडम मलाई सागर मात्र भन्दा हुन्छ जी भन्नु पर्दैन । म हजूर भन्दा जुनियर स्टाफ हुँ ।"
"मैले सिनियर वा जुनियर भन्ने सोचेर सागरजी भनेको होइन यो मेरो बानी हो सागरजी ।"
सेता दाँत देखाएर केटो हाँस्यो । मलाई औधि मन पर्‍यो ।
"बस्नुस म चिया बनाउँछु ।"
"पर्दैन म्याडम मैले भर्खर चिया पिएर आएको । हजूरले दुःख नगर्नुस् ।"
"मलाई दुःख छैन चिया बनाउन रमाइलो लाग्छ । मैले पनि पिएको छैन । तपाईं मेरो नयाँ निवासको पहिलो पाहुना हुनुहुन्छ । म चिया पनि नपिलाई कसरी बिदा गर्न सक्छु र ! "
"हस् हजूरको चाहना हो भने म केही भन्दिन अब म्याडम ।"
ऊ नजिकैको कुर्सिमा अलिक असजिलो गरेर बस्यो ।
"सजिलो सँग बस्नुस् आफ्नै घर सम्झेर ।"

केही नबोली अलिक सहज तरिकाले ऊ बस्यो ।

म किचनमा लागें । सबै सामानहरु पहिले नै राखिएका हुनाले चिया पकाउन मलाई धेरै समय लागेन । म चिया लिएर निस्कदाँ सागर कुनै म्यागाजिन पल्टाएर बसेको थियो ।
"ल सागरजी चिया पिउनुस् ।"
"………." मौनता मा नै उसले चियाको कप उठायो । पत्रिका मै हेर्दै चियाको चुस्कि लिन थाल्यो ।
"चिया पिउँदा बोल्ने बानी छैन हो ?" मैले ठट्टा गरेँ ।
ऊ अलिक अहसज महसुस गर्दै मतिर हेरेर फिस्स हाँस्यो । उसको हाँसो मलाई मन पर्न थालिसकेको थियो ।

चियाको चुस्कीसँगै नयाँ अफिस र स्टाफहरुको बारेमा मैले सामान्य कुराहरु सागरलाई सोधेँ । उसले आज्ञाकारी बालकले झैं सबै प्रश्नको उत्तरहरु दियो ।

सामान्य कुराकानी पछि "धन्यवाद !" भन्दै ऊ बिदा भयो । मेरो मनमा भने उसको हाँसो नै बसिरहेको थियो । म जीवनमा पहिलो पल्ट कुनै केटालाई देखेर मोहित भएकी थिएँ । मैले सम्झेसम्म मलाई यस अघि कहिले यस्तो भएको थिएन । भोलि अफिसमा भेट भैहाल्छ भनेर मन बुझाएँ ।

बिहान नौबजे फेरी डोरबेल बज्यो । मनमा सागरको चित्र अंकित गर्दै ढोका खोलेँ । अर्कै अधवैंशे खालको मान्छे पो थियो ढोकामा ।

"नमस्कार म्याडम । म हरि । हजूरको ड्राईभर । हाकिम साबले पठाउनु भएको ।"
"ए हरिजी नमस्ते । सरसँग मेरो कुरा भएको थियो । तर कति छिटो आउनु भएको त ?"
"सरले तुरुन्त जानू भन्नु भएकोले नि म्याडम ।"
"तपाईं बस्दै गर्नुस् म तयार भएर आउँछु अनि निस्कौला ।"
"हस् ।"

घरबाट निस्केको पैंतिस मिनेटमा हामी अफिस पुग्यौं । पहिलो पल्ट काठमाण्डौ आएको हुँदा ठाउँहरुका बारेमा हरिजीलाई सोध्दै सोध्दै आएकी थिएँ । अफिस भएको ठाउँ टेकु रहेछ ।

अफिसमा मेरो स्वागतको राम्रो तयारी गरिएको रहेछ । सबै स्टाफसँग सरले चिनजान गराउनु भयो । सागर सबै तिरको काम सम्हाल्दै फुरफुर गरिरहेको थियो । उसको हँसिलो मुहारले मलाई पनि उर्जा प्राप्त भैरहेको थियो । सरसँग भने मेरो पहिले नै बिराटनगरमा नै चिनजान भएको थियो कार्यक्रमको शिलशिलामा ।

नयाँ क्याबिनमा नयाँ जिम्मेवारी ।

आफ्ना मातहतका सबै स्टाफहरुलाई मिटिङ हलमा बोलाएर परिचय गरेँ । सबैले गरिरहेको कामको बारेमा पनि जानकारी लिएँ । मैले काम गर्ने शाखा नयाँ अवधारणामा आधारित थियो त्यसैले सबै कर्मचारीहरु म भन्दा साना नै थिए उमेरमा । सागर पनि मेरै कर्मचारीको लिस्टमा थियो । सबैका अगाडि मैले सागरप्रतिको मेरो मनलाई लुकाएँ अनि सामान्य रुपमा नै प्रस्तुत भएँ । मिटिङ् सकियो । म पहिले आफ्नो क्याबिन तिर लागें अनि अरु सबै बिस्तारै ।

कुर्सीमा बस्नासाथ पानी पिउन मन लाग्यो मैले टेबलको कलबेल बजाएँ ।
ढोकामा सागर देखा पर्‍यो ।

"हजूर म्याडम ।"
"ए तपाईं पो सागरजी । असिस्टेन्ट छैनन् र मलाई पानी पिउन मन लागेको थियो ।"
"हजूर म्याडम छन् असिस्टेन्ट पनि । तर हजूरले १०२० मा इन्टरकम गर्नुपर्छ पानी वा अरु खानेकुराका लागि । हाम्रो किचनस्टाफले सर्भ गर्छन् ।"
"हस् धन्यवाद सागरजी ।"
"हस् म्याडम ।" ढोका बन्द गरेर सागर बाहिरियो ।

मैले पानी मगाएँ सागरले भने झैं कल गरेर ।

नयाँ अफिस अनि आफूले पाएको नयाँ जिम्मेवारीका बारेमा सोच्दै र अध्ययन गर्दै खाजा खाने बेला भएछ । सबैलाई अफिसले नै खाजा दिने रहेछ । मलाई मन पर्‍यो यो सिस्टम । उता बिराटनगरमा त म आफ्नै घरबाट बोकेर जाने गरेको थिएँ ।

खाजा पछि फेरी आफ्नै काममा मगन भएँ ।

साढेचार तिर मैले सागरलाई क्याबिनमा बोलाएँ ।

म भन्दा जुनियर स्टाफ भएपनि ऊ त्यहाँको पुरानो स्टाफ भएकाले सबैकुरा उसलाई सोध्ने गर्न थालेँ । उसले झर्को मान्छ किन भनेर अन्त अन्तका कुराहरु पनि सोध्न थालेँ । तर उसले झर्को नमानी बढो अदवका साथ सबै कुराहरुको राम्रो जानकारी मलाई दियो ।

यो क्रम अब सधैं चल्न थाल्यो अफिसमा । यसरी नै छ महिना बितेको पत्तो भएन मलाई ।
सागरसँगको सामिप्यता मलाई प्यारो लाग्न थालेको थियो । विभिन्न बहानामा अफिसको क्याबिन र बिदाको दिन घरमा बोलाउन थालेकी थिएँ म । ऊ पनि मलाई सजिलै साथ दिइरहेको थियो । हुँदा हुँदा हामी सपिङमा पनि सँगै जान थालेका थियौं । हाम्रो बारेमा अरुले त खासै वास्ता गरेको मलाई थाहा छैन तर मेरो ड्राइबरले चाहिँ याद गरेको रहेछ । म एक्लै हुँदा के के भन्न खोजे जस्तो पनि गर्थ्यो तर मुख खोल्न भने सकेको थिएन ।

सागर र मेरो घनिष्टता झन् झन् बढ्दै गयो । मलाई उसको अनि उसलाई मेरो सामिप्यता मन पर्न थाल्यो । मैले एकदिन उसलाई मेरो मनको कुरा भनें । उसले केही उत्तर दिएन । म उसको उत्तरको प्रतिक्षामा नै थिएँ ।

शनिबारको दिन थियो । म घरमा नै टिभी हेरेर बसेकी थिएँ । सागर आयो घरमा । ऊ करिब पन्ध्र दिनपछि आएको थियो । म खुशी भएँ उसलाई देखेर । तर उसको मुहार भने मलिनो थियो ।

"के भयो सागर तिमी किन दुःखि देखिन्छौ नि"
"म्याडम म के भनुँ । हामी नजिक भएको कुरा हाकिम साबलाई मन परेको छैन । हुन त मलाई पनि राम्रो लागेको छैन । हाम्रो स्तर पनि मिल्दैन र जात पनि ।"
"किन त्यस्तो भन्छौ तिमी । सरले केही भन्नु भयो र"
"धेरै हिमचिम गरिस् भने निकाल्दिन्छु कामबाट भन्नुभएको छ ।"
"यसमा तिम्रो केही दोष छैन । मैले नै तिमीलाई नजिक आउने इशारा गरेकी थिएँ । म सरसँग कुरा गर्छु ।"
"…………" ऊ निक्कै बेर मौन रह्यो । मैले पनि उसको मौनता भंग गरिन ।

उसको हात मैले आफ्नो हातमा लिएँ । उसले म तिर हेर्‍यो अनि मुसुक्क हाँस्यो । केही नबोली हातमा हात लिएर हामी धेरै बेर बसिरह्यौं ।

बिस्तारै मेरो हात छुटाएर सागर उठ्यो । केही नबोली सरासर ढोका खोलेर बाहिर गयो । मैले केही सोच्न नपाउँदै ऊ भर्‍याङ्ग ओर्लिसकेको थियो । मैले अगाडीको झ्यालबाट उसलाई जाँदै गरेको देखेँ ।
केही दिनसम्म हाम्रो बोलचाल भएन न त हेरा हेर नै । मेरो मनमा आँधि चलिरहेको थियो । सरसँग म कुरा गर्ने पक्षमा थिएँ । यो जे भइरहेको थियो मेरो मनको चाहना अनुरुप भइरहेको थियो । म सागरलाई माया गर्न थालेकी थिएँ । एउटै अफिसका स्टाफका बीचमा माया बस्न सक्दैन भन्ने कुरा पनि त होइन । मायाले न जात देख्छ न रुप न त धन वा वैभव नै । मेरो मायाले त उमेर पनि देखिरहेको थिएन । सागर म भन्दा १०/१२ वर्ष जति कान्छो थियो त्यसमा मलाई कुनै आपत्ति थिएन । सागरले पनि उमेरको विषयलाई लिएर कहिले कुरा गरेन । कहिले काहिँ स्तर र जातको कुरा गर्थ्यो तर म हाँसेर उडाउँथे ।

मैले सरसँग यो बिषयमा कुरा गरेँ । 

"एकपल्ट सोधेको मात्र हो अरु मैले केही भनेको छैन म्याडम सागरलाई । यो तपाईंको व्यक्तिगत कुरा हो म हस्तक्षेप गर्दिन"  भन्ने जवाफ दिनु भयो ।

सरले यति भनिसक्दा पनि सागर किन म बाट टाढा हुन खोजिरहेको थियो मैले बुझेकी थिइन ।
शनिबार साँझ मैले उसलाई घरमा बोलाएँ । ऊ मेरो घरमा आयो । हामीबीच धेरै कुराहरु भए । सरले मलाई भनेका कुराहरु मैले उसलाई भनेँ । उसले केही प्रतिक्रिया दिएन । मैले धेरै कुराहरु उसलाई सम्झाएँ ।

"तिम्रो हृदयको कुनै सानो कुनामा पनि म प्रति माया छ भने तिमीले भन्नै पर्छ किन म बाट टाढा हुन खोज्दैछौ ?"
"मसँग केही छैन म्याडम । म गरिब छु, टुहुरो हुँ, तल्लो जातको हुँ, कम पढेको छु, कुनै पक्षबाट पनि म हजूरको बराबरी गर्न सक्दिन भन्ने कुरा मेरो मनले मलाई बारम्बार भनिरहन्छ त म के गरुँ !"
"ह्या सागर तिमी पनि । यस्तो सानो कुरालाई लिएर म तिमीलाई गुमाउन चाहन्न । म पनि त टुहुरी हुँ, मेरो पनि जात थाहा छैन मलाई, म नेपाली हुँ । तिमी पनि नेपाली हौ यति भए पुग्छ मलाई । म तिमीलाई माया गर्छु र तिमी पनि मलाई । यो भन्दा बढि योग्यता वा समानता केही पनि चाहिन्न मलाई ।"

मैले धेरै प्रयाश गरेर उसलाई सम्झाएँ । उसले मान्यो । हाँस्यो पनि । उसको त्यो हाँसो देख्न नपाएको धेरै नै भैसकेको थियो मैले ।

मेरो धेरै अनुनय पछि सागर आज मेरो घरमा बस्न राजी भयो । मैले मिहेनत गरेर आफूले जानेका र सागरलाई मनपर्ने धेरै परिकारहरु बनाएँ । म भान्छामा बसुन्जेल ऊ टिभी हेरेर बस्यो । खानेकुराहरु तयार भए पछि मैले उसलाई वाइन खाने प्रस्ताव राखेँ । पहिले त उसले इन्कार गर्‍यो तर मैले हाम्रो मायाको कसम दिएपछि भने उसलाई मान्न कर लाग्यो ।

राति अबेला सम्म हामीले वाइन पियौं र खाना खायौं । अनि एक अर्काका अँगालोमा बाँधिएर धेरै माया पिरती लगायत अन्य ब्यवहारिक कुराहरु पनि गर्‍यौं । कुरा गर्दै कतिबेला निदायौं थाहा नै भएन ।

म बिहान ब्युँझिएर सागरलाई बेडमा खोजेँ । तर भेटिन । यताउता हेरेँ । सागर त घोसे मुन्टो लगाएर सोफामा बसिरहेको रहेछ ।

"के भयो सागर तिमीलाई । ह्याङ्गओभर भयो कि के हो ?"
"हैन म्याडम मलाई केही भएको छैन ।"
"अनि किन पुर्पुरोमा हात राखेर बस्या त ?"
"म्याडम हजुरलाई केही थाहा छैन ?"
"के थाहा हुनु पर्ने मलाई । क्लियर्लि भन त ।"
"बिहे अघि जे नहुनु पर्ने हो हाम्रो बिचमा त्यो सबै भयो । सरी म्याडम । मैले आफुलाई रोक्न सकिन ।"
"हा हा हा तिमीले आफूलाई रोक्न नसकेको पो । हैन त्यस्तो त्यो मेरै राजीखुशीमा भएको हो सबै मेरै चाहनामा सागर ।"

उसले शिर उठाएर मलाई कर्के नजरले हेर्‍यो । तर केही बोलेन ।

म उसको नजिक गएँ उसलाई अँगाले । फेरी पनि हामी बीच गतरात जे भयो त्यो एक अर्काको चाहनामा नै भएको भन्ने कुरामा उसलाई आश्वस्त पारेँ र नुहाउन पठाएँ ।
अब सागर र मेरो बीचमा त्यस्तो दूरी केही रहेन । हाम्रो प्रेम सम्बन्धका बारेमा अफिसमा पनि सबैलाई थाहा भयो ।

बिदाका दिनमा सँगै घुम्न जाने गर्थ्यौं । रमाईलोसँग दिनहरु बितिरहेका थिए । एक अर्काका मनका एवम् तनका चाहनाहरु पनि पुरा भइरहेका थिए ।

अफिसको सेमिनारमा मलाई जर्मनी जानुपर्ने भयो केही दिनका लागि । मैले धेरै प्रयाश गरेर पनि सागरलाई आफूसँग लान सकिन । अफिसले अनुमति दिएन । सागर कुरा बुझ्थो उसले कुनै विवाद गरेन मसँग । एअरपोर्टसम्म पुर्‍याउन आयो । आँखाभरी आँशु पार्दै हामी छुट्टियौं । थोरै दिनका लागि भए पनि छुट्टिनु गाह्रो नै रहेछ । म बल्ल नाता सम्बन्धको बारेमा बुझ्दैथिएँ ।

एक्काइस दिन पछि म नेपाल फर्कें । एअरपोर्टमा सागरलाई खोजें तर ऊ मलाई रिसिभ गर्न आएको रहेनछ । सरको पिए र ड्राईभरदाई मात्र आएका थिए । मैले सागरको बारेमा सोधेँ तर कोही बोलेन । उताबाट मैले सागरलाई फोन गरेकी थिएँ । उसलाई म फर्कने दिन पनि थाहा थियो । मैले एसएमएस पनि गरेको थिएँ तर पनि ऊ मलाई रिसिभ गर्न आएको थिएन किन ?

मलाई सरासर अफिस नै जान मन लाग्यो । अफिसमा सरहरुसँग भ्रमण र यसका उपलब्धिका बारेमा कुरा गरिरहँदा पनि मेरो आखाँले सागरलाई नै खोजिरहेको थियो । बल्ल बल्ल कुराकानी सिध्याएर आफ्नो क्याबिनमा गएँ । सहयोगी स्टाफलाई बोलाएर सागरको बारेमा सोधेँ । उसले सागर दुईदिन देखि अफिस नआएको कुरा बताई । मैले कारण सोधे उसले केही भनिन ।

सरसँग पनि मैले सोधें । कहिले पनि केही नभनी कतै नजाने मान्छे दुईदिन देखि अफिस आएको थिएन । सरले पनि केही थाहा नभएको जानकारी दिनु भयो । मोबाइल पनि अफ नै थियो उसको ।
हरीदाईलाई भनेर गाडी लिएर उसको बस्ने क्वाटरमा गएँ । उसको ढोकामा बडेमानको ताल्चा झुण्डिएको थियो । वल्लो पल्लो क्वाटरकाले पनि केही थाहा नभएको भने । म निराश भएँ । अज्ञात भयले मलाई सताउन थाल्यो ।

अफिसका सबै स्टाफ मिलेर सागरको खोजी गर्‍यौं । तर ऊ कतै भेटिएन । आउला कि भनेर कुरेको पनि महिना दिन भयो तर सागर आएन न त उसको खबर नै ।

एक महिना पछि हामीले सागरको फोटो सहित नेपाल प्रहरीलाई खोजिको लागि गुहार्‍यौं । तर केही पत्ता लागेन ।

मेरो स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । काममा मन थिएन न त खानपिन मा नै । साँझ पर्नासाथ म वाईनको सहारा लिन थालेकी थिएँ । अफिसमा राम्रो काम गर्ने भनेर लागेको बिल्ला पनि खस्किदैं थियो ।

करिब तीन महिना पछि प्रहरी कार्यालयबाट फोन आयो तर खबर राम्रो थिएन । अफिसका सबै साथीहरु गयौं ।

हामीलाई सरासर मुर्दाघरमा लगियो । मेरो मनमा डडेलो लाग्न थाल्यो । आखाँबाट अश्रुधारा अबिरल बग्न थाले । सबैले मलाई नै हेरिरहेका थिए तर मलाई वास्ता थिएन, वास्ता थियो त केबल सागरको ।

क्षतविक्षत भएर कुहिन लागेको एउटा केटामान्छेको लाशको पहिचान गर्न भनियो । सबैले मेरो मुखमा हेरे । मसँग त्यत्रो हिम्मत थिएन कि म लाश हेरुँ त्यो पनि सागर हो कि भनेर !!
तर हेर्नै पर्‍यो । हिम्मत गरेर हेरें । चेहराबाट पहिचान पाउन सकिएन । मैले उसको हातमा हेरें अब मलाई पक्का भयो कि यो सागर नै हो । उसको हातमा मैले दिएको गणेशजीको मुर्ति अंकित धातुको ‌औंठी थियो ।

मेरो होश उड्यो । अकस्मात मेरो हृदयमा कसैले भाला रोपेको जस्तो भयो । भक्कानो छुट्यो । सबैले सम्हाले मलाई । मेरो दुःखमा अरु पनि सहभागि भए अफिसको स्टाफको नाताले तर मेरो त सागरसँग जीवन मरणको नाता थियो । सामान्य सरकारी कागजात पछि प्रहरीले लाश हामीलाई दियो । आर्यघाटमा हामीले उसको सद्गत गर्‍यौं । तर सागरको मरणको कारण हामीलाई थाहा भएन ।

सागरको लाश जलिरहेको थियो । मेरो मन व्याकुल थियो । म बेचैन थिएँ । आफ्नै आँखा अगाडी माया जलेको हेरीरहेकी थिएँ अन्यमनष्क भावमा । सागरमा मिल्नु पर्ने सरिता यहाँ आफैं सागरलाई जलाउँदै थिई । मेरो मनको डडेलो कसैले देखेको थिएन । भगवान पनि कति निष्ठुर हुने रहेछन् ।

सागरको लाशका आगोको लप्का माथि माथि उठ्दैथियो । म टोलाई रहेकी थिएँ त्यही हेरेर । अकस्मात मेरो पेटमा केही चलेको जस्तो भान भयो मलाई । यसो दाहिने हात पेटमा राखें । पक्का पनि केही चल्दै थियो भित्र । मलाई पूरा विश्वास भयो सागरले मलाई छाडेको रहेनछ । उसको भौतिक शरिर मेरो सामु नभएपनि म भित्र उसको मायाको अँङ्कुरण हुँदै रहेछ ।

निष्ठुर भनेकोमा भगवानसँग माफी मागेँ र धन्यवाद दिएँ मलाई सागरको अभावमा बाँच्ने सहारा दिएकोमा ।
प्रवास, २०७६

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...