Thursday, July 2, 2020

दलन हृदय (कविता)





पलपल मर्नुको मज्जा पनि त छुट्टै छ जीवनमा
बगरका ढुङ्गाजस्ता असमान ईच्छाहरु पालेर
रङ्गिन फूलहरू पनि लाशमा परिणत भए आज
मन्दिरको घण्टा जस्तो जीवन, मेरो तिम्रै कारण।

पूजा कसैको गरूँ, सुन्ला वा नसुन्ला प्रार्थना उसले
किन बेकारमा, आफ्नो रगत सुकाउँ भन्ने लाग्छ
सुन्नु पर्नेले कहिले सुनेन, अब म पत्थरमा जीवन खोजूँ?
अबिर दल्दैमा भगवान हुने भए, मेरो लाशमा दल।

फूलको बास्नाको मादकता, म तिमीमा खोज्दिन
म फेरी एकैनाशे भूल गरेर, मुटु छियाछिया किन पारूँ?
आफन्त त छैनन धरामा, केवल एक्लो हुनु नियती हो
तिमी वा म र म वा तिमी, पनि त एकाकार हुन सकेनौं ।

व्यर्थको चाहना पालेर, मन दुखाउनु वा मुटु फुलाउनु
किन पानीको मोलमा, तिमी रक्त कोषिका बेच्दै छौ
थाहा छ त, मसँग त्यति धेरै धैर्यता पनि साथमा छैन
कि पानी रगत बनुञ्जेल, आरामले पर्खन सकुँ एक्लै ।

विषको प्यालामा, म आफूलाई हराउन सकूँला कि
नत्र, तिम्रो सम्झना मात्र पनि त काफी नहुँदो होला
अविरल बगेको नदीको धारमा, म त हेलिन सक्दिन
तर तिमी धक्का दिन चाहन्छौ भने, म तयार छु है ।

भाग खोसेर खानेहरू यहाँ, सर्थवा माथि नै रहन्छन्
तर आज म त खोसेर पनि, तल परेको तुच्छ प्राणी हूँ
शितका थोपा पनि उष्ण लाग्ने मौसम, मेरा लागि
हिमवत पात्र कदापी नघुसाऊ है, मेरो दलन हृदयमा ।

असार २०७७

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...