Monday, November 25, 2019

प्रतिक्षा-चितामा (कविता, २०७५)

सुनौलो आकाशमा तुँवालो देखिएको छ आज
मनमा भावनाहरु उद्वेलित भएका छन् किन ?
कामेका तिम्रा अधरहरु शब्द बिहिन छन सदा झैं
प्रकृति क्रोधित छैन तर तिमी मौन किन त ?

प्रेमिल भाव उत्पन्न गर्न सक्दिनौ भने यथा
प्रेमिल बन्ने बहाना पनि नगरे हुन्छ सर्वथा प्रिय
शब्दजालमा बेरिन सक्छु म तिम्रो, तर
तिम्रो यथार्थले भावशून्य बनाउँछ मलाई किन किन ।

तरिका तिम्रो सही होला मायाको तर म मान्दिन
कायरता मेरो रगतमा छैन र नहोस् पनि कहिले
सगरमाथा शिर मेरो अनि गौरब तिमी थियौ कुनै बेला
तर अचेत तुँवालोमा हरायौ तिमी शित बिलाए झैं ।

प्रेमिल बैंश पनि मरुभूमि भएको छ तिम्रो अनुपस्थितिमा
आउने मन थिएन त किन नक्कल पारेर फसायौ फेरी ?
कामना त हजार वर्ष थियो साथ पाउने तर सकिन
के म मरुँ अब तिम्रो मायाको धुमिल धुमिल आशामा ?

मसान घाटमा प्रतिक्षारत छु आज म सबैका सामु
एक मुठि दाउरा अनि दुई फूलको थुँगा को आशमा
अब, चाहिएन मलाई केही पनि तिम्रो हातबाट प्रिय
म भष्म हुन चाहन्न मायाको अभावमा कदापी अब ॥

Sunday, November 17, 2019

ईर्श्यालु प्रकृति (कविता, २०७६)

हराउने रहर भयो मनमा तिमी भित्र सदा
लाग्दछ संसार शुन्य एवम् बिचित्र किन ?
मनको उमङ्ग हटेको हैन कामना तिब्र छ
रहरहरु माथि उड्दैछन्, जगत शून्य छ
चाहेर मात्र हुने त कहाँ हो र ?

मान्छु म मन त चोर हो जहाँ पनि पुग्छ
तर के तिमीमा समाहित हुन सक्ला त ?
व्यर्थको चाहना हो भने, सुकोस् नदी पनि
समुद्र भेट्न किन सधैं उद्यत रहन्छ ?
आफ्नो अस्तित्व मेट्ने के रहर होला नदीमा ?

कामनाका पुलहरु माथि चाहना शयर गर्छन्
तत्काल सपनी बुन्छन् आँखाहरु दिनमा पनि
अनि हृदय धड्कन बढ्न शुरु गर्छ
आकर्षण मायाको रहला त मनमा यत्तिकै ?
तर, तनको जीर्णता तिम्रो अघि फिक्का छ ।

अनुनय गर्दछु सदैव रहोस् उन्माद तिमीमा
तर ब्रह्मा किन निष्ठुर भए आखिर हाम्रा लागि ?
यमराजको त बास नै दैलोमा रहन्छ हरदम
छलकपट गर्न अनि आत्माहरु रमाउन
किन पारपाचुके गर्दैनन् ईच्छाहरु ?

धमिराको गोलोमा पानी परे झैं अस्तव्यस्त
तिमी, तिमी, अनि तिमी मात्र सर्वत्र आहा !
आँखा भरी, मन भरी अनि यो लघु जीवन भरी
चाहना प्रबल थियो तैपनि भैदियो प्रकृति ईर्श्यालु
सक्दिन थाम्न मनको भार चिता नै काफी छ मलाई ।

Friday, November 15, 2019

जीवनको मूल्य (कथा, २०६९)

हाम्रो घर नजिकै एकजना भिखारी बस्थ्यो । हामी सानो बेला देखि नै उसलाई सधैँ एउछै स्थानमा देख्ने गर्थ्यौं । कहिले काहिँ स्कूलबाट घर फर्कदाँ हाम्रो सानो टिफिन बक्समा केहि खाजा बचेको हुन्थ्यो भने हामी उसलाई दिने गर्थ्यौं । ऊ अत्यन्त प्रेमका साथ हामीले दिएकाे रहलपहल खानेकुरा खान्थ्यो र कालो न कालो मैलो बाेतलको पानीले पखालेर हाम्रो टिफिन बक्स फिर्ता दिन्थ्यो । एक प्रकारले त्यो हाम्रो नियमित काम जस्तै बनेको थियो ।

यसरी नै हाम्रो बालापन बिति रहेको थियो। हामी कक्षा १० मा पढ्ने बेला त्यो भिखारीको सधैं बस्ने स्थान परिबर्तन भएर पुतली सडकको पद्मोदय स्कुलअगाडीको पेटी हुन थाल्यो। अहिले त भिखारी अलिक बुढो पनि भएको देखिन्थ्यो । तर हामीले उसलाई आफ्नो टिफिन र कहिले काहिँ खल्तीमा भएको एक दुइ रुपियाँ दिन भने छाडेका थिएनौं  ।

केहि दिन पछि हामीले त्यो भिखारी बिस्तारै दुब्लाउदै गएको देख्यौँ । एकदिन आँट गरेर हामी मध्येको अलिक सुरिलो साथीले सोध्यो र त्यो भिखारी बिरामी भएको भन्ने थाहा भयो । हामीले के गर्न सकिन्छ भनेर धेरै पल्ट विचार गर्‍यौं तर के गर्ने भन्ने कुरा हाम्रो मनमा फ़ुर्न सकेन । 

त्यो दिन मनमा नरमाइलो पन राखेर हामी घर फर्कियौ । रात भरि मनमा खल्लो लागि रह्यो । सपनामा पनि त्यही भिखारीको जीर्ण शरीर आइरह्यो ।

भोलिपल्ट बिहान हामी स्कुल जाने बेलामा सधैं भेट हुने ठाउँमा भेट गरेर केही गरम् भनेर त्यो भिखारी नजिक गयौं । उसको अवस्था झन् नाजुक भएको पायौं । त्यतिबेला काठमाडौँमा कालो रंगको मिटरवाला टेम्पो चल्थ्यो । हामीले आफुसँग भएको खाजा खाने पैसा बटुलेर भिखारीलाई बिस्तारै उठायौँ अनि त्यही मिटरवाला कालो टेम्पोमा हालेर हस्पिटल लिएर गयौं ।
इमर्जेन्सीमा लिएर गयौं तर कोही डक्टर तथा नर्सले हाम्रो कुरा सुन्न तयार पनि भएनन् र त्यो भिखारीलाई छुँदा पनि छोएनन् उपचारको त कुरै भएन । हामीले धेरै अनुनय बिनय गर्‍यौं तर पनि हामी साना केटाकेटीको कुरा सुन्न कोही तयार भएनन् ।

हामीलाई धेरै नै नरमाइलो लाग्यो तर पनि हामी केहि गर्न सक्ने अवस्थामा थिएनौँ । भिखारीको अवस्था झन् नाजुक हुँदै गएको थियो । तर उपचार हुन सकेको थिएन । हामीले धेरै प्रयाश गर्दै गर्दा हाम्रो स्कुल को समय पनि सकियो ।
हामी निकै दु:खी भयौं तर केहि गर्न सक्ने हाम्रो हैसियत थिएन त्यतिबेला ।


करिब दिनको ५ बजे पछि एकजना डाक्टर आएर हामीलाई सोध्नु भयो स्कुल को ड्रेसमा किन यहाँ बसेको भनेर । हामीले भिखारीलाई देखाएर बिहान देखि भएको सबै कुराहरुको बेलिबिस्तार लगायौं। उहाँले भिखारीलाई भुँइमा बसेकै ठाउँमा चेक गर्नु भयो । मुख नराम्रो परेर हामीतिर हेर्दै भन्नु भयो बाबु नानी हो धेरै ढिला भैसक्यो यो मान्छे त मरिसक्यो । हाम्रो मनले ढ्यांग्रो ठ्योक्यो र आँखामा आँसु भरियो । हामीले केहि भन्न वा गर्न सकेनम । एक अर्कालाई हेर्दै बसेका थियौं । 


मनमा ति अस्पतालका डाक्टर नर्स हरु प्रति घृणा पनि लाग्यो । हाम्रो आँखा अगाडी नै एउटा अमुल्य मानब जीवनको अन्त्य भएको थियो कसैको लापरबाहीले गर्दा। हामीले लागेको बेला नै उपचार सुरु भएको थियो भने शायद त्यो भिखारी बच्न पनि सक्थ्यो होला ।

एकछिन पछि गुडाउने खाट लिएर अस्पतालका केहि कर्मचारी आए र त्यो भिखारीलाई उठाएर खाटमा राखेर भित्र तिर लागे । हाम्रो मन अमिलो भयो र आँखा आशुले भरिएर धमिलो । 

जे होस् जिउँदोमा भुइँमा लड्नु परेको त्यो मान्छे ले मरेपछि भने गुडाउने खाट पायो ।

धेरै पछि हामीलाई थाहा भयो त्यो भिखारीलाई ढिलै भएपनि चेक गर्ने डाक्टर गोविन्द के.सी.रहेछन् ।

कर्तव्य बोध (कथा, २०७२)

कुरा म कक्षा ९ मा हुँदाको हो । त्यो बेला बोर्डिंग स्कुलमा दार्जेलिङ्गका टिचरहरुको खुब डिमाण्ड हुन्थ्यो । हाम्रो स्कुलमा पनि बिज्ञान टिचरको रुपमा एकजना दार्जेलिंगे सर आउनु भएको थियो । सरको घर दार्जेलिङ्ग होइन कि सरले दार्जेलिङ्गमा पढेर आउनु भएकोले फेमस हुनुन्थ्यो । घर त उहाँ को चितवन थियो रे । हामी ३ जना केटीहरु बिज्ञान बिषयमा अलिक कम्जोर थियौं । त्यो भएर बिज्ञान सरले हामीलाई छुट्टै ट्युसन पढाउनु हुन्थ्यो । हामी तिन मध्ये म अलिक जान्ने थिएँ जस्तो लाग्थ्यो तर परीक्षाको नतिजा आउने बेला सधैं मेरो नम्बर कम कम आउँथ्यो । त्यहि भएर बिज्ञान सरले हामीलाई ट्युसन पढाउन थाल्नु भएको थियो ।

३ महिना जति पढे पछि हाम्रो बिज्ञान बिषय अलिक सुध्रिन थाल्यो सर को भनाइमा । हामी २ जना ले पढ्न छाड्यौ तर समिराले भने पढ्न छाडेकी थिइन ।

हाम्रो बार्षिक परीक्षा पछि केहि समय स्कुल बन्द हुने गर्थ्यो । सधै झैँ येसपाली पनि स्कुल बन्द भयो । एकदिन मेरो घरमा रुँदै समिरा आइ । उसको रुनुको कारण हामीलाई थाहा त भएन तर आमाले शंका गर्नु भएछ हाम्रो कुरा सुने पछि। समिराको महिनावारी रोकिएको रहेछ । आमाले राम्रो सँग भने पछि भने हामीलाई थाहा भयो कि समिरा ले एक्लै ट्युसन पढेको फल रहेछ त्यो बिज्ञान सर सँग ।


हाम्री आमालाई लिएर हामी बिज्ञान सर बस्ने घर तिर लाग्यौ । घर पुगेपछि थाहा भयो सर त स्कुल बन्द भएको दिन नै कोठा छाडेर जानु भएको रहेछ । कहाँ जानु भयो केहि थाहा हुन सकेन । भोलिपल्ट स्कुल को पाले दाइलाई भेट भयो । पाले दाईलाई मैले बिज्ञान सरको बारेमा सोधेँ र थाहा भयो कि सर चितवन जानु भएको रहेछ तर कहिले यता नफर्कने गरी ।

अब हामीलाई डर लाग्न थाल्यो । समिराको घरमा कसरि कुरा गर्ने भनेर । हाम्री आमाले निक्कै आँट गरेर समिराको मम्मी सँग कुरा गर्नु भयो । समिरा सँग ट्युसन पढ्न हामी पनि जाने गरेकोले हामी माथि पनि शंका भयो तर हामी २ जना भने त्यो सबैबाट टाढा नै थियौ ।

पुलिसलाई भन्ने कुरा भयो तर समिराको मम्मीले आफ्नो इज्जतको कारणले गर्दा पुलिसको मा जान नसकिने कुरा गर्नु भयो ।
घर फर्केर आएपछि मलाई निक्कै गाह्रो भयो कसरी समिरालाई हेल्प गर्ने भनेर । भोलिपल्ट मैले समिरालाई भेटेर हामी दुई जना भए पनि सर लाई खोज्न जाउँ भन्ने कुरा गरेँ । समिराले पहिले त मानिन तर मैले फकाए पछि भने मानी ।

अब समस्या रह्यो पैसाको । हामीले प्लान गरेर आफुसँग भएको गहना बेचेर भएपनि घर बाट निस्कने निर्णय गर्‍यौँ । प्लान अनुसार भोलिपल्ट कसैलाई नभनी समिरा र म घरबाट निस्क्यौं ।

घरबाट हामी चितवन पुगेर नारायणघाट बजार भरी सरको हुलिया बताउँदै भेटे जति मान्छे हरुलाई सोध्न थाल्यौं । त्यो दिन भरि खोज्दा पनि भेटिएन । साँझ परे पछि एउटा सस्तो लज बुक गरेर भात खाएर सुत्यौं । दिनभरि नारायणघाट बजार हिँडेको हुनाले कति बेला निदायौ थाहा नै भएन । भोलिपल्ट बिहानै उठेर फेरी सरलाई खोज्ने क्रम सुरु भयो । भरतपुर उकालो नजिकैको चिया पसलमा चियाको कप हातमा लिएर नजिकैको सब्जी पसलतिर हेरेर बसेकी थिएँ म ।


झुलुक्क हामीले खोजी गरेको सर जस्तै देखिने मान्छे तरकारी किन्न आयो । मैले समिरालाई इशारा गरेर देखाएँ सर भन्ने पक्का भयो । हामीले थाहा नदिइ सरको पछि पछि लाग्यौं छेक पर्दै पर्दै । १२-१३ मिनेट जति हिंडे पछि एउटा पुरानो घरमा सर छिर्नु भयो हामी पनि पछि पछि छिर्‍यौं । सरको कोठामा पुग्ने बेला सरले हामीलाई देख्नु भयो र अलिक हच्किनु पनि भयो । हामीलाई कोठा भित्र आउने संकेत दिनुभयो ।


कोठा भित्र छिर्ने बित्तिकै समिरा सरलाई अंगालो हालेर रुन लागि । मलाइ पो अप्ठेरो भयो म भित्ता तिर फर्किएँ । ३-४ मिनेट पछि मैले फर्केर हेरेको उनीहरु अझै अंगालोमा नै थिए । मलाई देखेर अलिक सम्हालिए । अब कुरा सुरु भयो सरले आफ्नो कर्तुत स्वीकार गर्नुभयो तर अहिले समिराको उमेर सानै भएकोले बिहे गर्न भने नसक्ने पनि बताउनु  भयो । अनि फकाएर हामीलाई गाउँ फर्किन सल्लाह दिनुभयो। 

स्कुल लाग्ने बेलामा आउँछु चिन्ता नगर बच्चा पनि म गाउँलेहरुकाे अगाडी नै स्वीकार्छु तिमीलाई सबै स्कुलको अगाडी बिहे गर्छु भनेर हामीलाई आस्वासन दिइयो । हाम्रो कलिलो दिमागले त्यो कुरा पत्यायो । सरले हामीलाई १०००/१००० रुपियाँको नोट दिएर बससम्म पुर्‍याउन पनि आउनुभयो । हामी खुशी खुशी गाउँ फर्कियौ ।

मेरो घरमा पुगेपछि आमाले निक्कै गाली गर्नु भयो तर हामीलाई त्यो गाली पनि प्रिय लग्यो समिराको खुसिको अगाडी ।

समय बित्दै गयो स्कुल पनि खुल्यो । समिराको पेट ठुलो ठुलो हुँदै गयो तर सर आउनु भएन । लाजले समिरा घर मै बस्थि कहले कहिँ मा उसलाई भेट्न जाने गर्थें । सर न आउनुभएको कारण हामी दुखित थियौ । हाम्रो कलिलो मस्तिस्क लाई सरले सजिलै झुक्याउनु भएछ हामीले बल्ल कुरा बुझ्यौ ।

दशैंको फूलपातीको दिन समिराले छोरी पाई। समाजले समिराको परिवार लाई छि: छि: दुर दुर गर्न थाल्यो । उनीहरु गाउँमा बस्न नसक्ने भएपछी दशैं को टिकाको दिन कता जानु भयो गाउँमा कसैलाई थाहा हुन सकेन ।

एस. एल. सी. पास भए पछि म कजेल पढ्न काठमाडौँ गएँ । एकदिन पानी परेको बेला बागबजारको पुल मुनी ओत लागेर बसेको बेला समिराको मम्मी सँग अकस्मात भेट भयो अनि थाहा भयो कि समिराले त आत्महत्या गरिछिन् । त्यो सुनेर मेरो आँखा भरि आँशु आयो । उनको छोरी चाहिँ मम्मी सँगै रहिछिन ।

चार बर्ष पछि म नेपाल प्रहरीमा जागिरे भएँ । प्रशासनसँग अनुनय गरेर चितवनमा नै पोष्टिङ्ग मागेँ ।

४ बर्ष लगाएर पुरा चितवन भरिमा खोजेर फेरी त्यो बिज्ञान सरको पत्ता लगाएँ । पुरानो केस भएको, समीरा पनि जिवीत नरहेकी र पर्याप्त प्रमाणहरु जुटाउन नसकेर सरलाई मुद्दा चलाउन भने सकिएन तर पनि मैले समिराको छोरीलाई सरको जिम्मा लगाएँ अनि अदालतबाट पढाई लगायत सबै खर्च सरले व्यहोर्नु पर्ने सम्मको कागज गराउन भने सफल भएँ । समिराको आत्माको चिर शान्तिको कामना गर्दै ।

फरक प्रेम (कथा २०७५)

देखेको त मैले पनि धेरै पहिले देखि नै हो उसलाई । तर भेटेको चाहिँ दिदीको छोरीको बिहेमा हो । देख्दा निकै भलाद्मी लाग्ने त्यो केटा मेरो जीवनमा यसरी आउला भन्ने मैले कल्पना सम्म पनि गरेकी थिइन । बिहेको पार्टीमा खाना खाइ सकेर म यत्तिकै बाहिर बसी रहेकी थिएँ । म बसेको ठाउँमा आएर ऊ पनि उभियो । मैले सोचे कसैलाई कुर्दै छ । धेरै बेर सम्म पनि हाम्रो बिचमा बोलचाल त भएन तर एक अर्कालाई हेर्ने काम भने भैरह्यो ।

करिब एक घण्टा जति उभिएपछि म पार्टी हाल भित्र गएँ । ऊ पनि मेरो पछि पछि आयो । ढोकामा पुगेपछि मैले पछाडी फर्केर हेरें । ऊ मलाई हेर्दै टक्क अडिएको थियो । मलाई हल्का लाज पनि लग्यो तर मैले केहि भनिन म त्यत्तिकै भित्र गएँ ।
त्यो दिन त्यत्तिकै भयो दिदिको छोरीको बिदाई पनि भयो । सबै जन्ती संग ऊ पनि गयो । मेरो मन मा उसको छायाँ भने रहिरहेको थियो ।

बिहेको ३ दिनपछि दिदीको छोरीलाई खाजा खुवाउन जाने कार्यक्रम बन्यो म पनि काकी आमाहरुको साथ लागेर गएँ । उताबाट फर्कने बेला त्यो केटालाई साथीहरु सँग हामी तिर नै आइरहेको देखें मैले । मन ढक्क फुल्यो । ऊ मुस्कुराउँदै म तिर हेर्दै थियो । इशारा गरेर म सँग मोबाइल नम्बर माग्यो । मैले एउटा सानो कागजको टुक्रामा नम्बर लेखेर कसो कसो ऊ सम्म पुर्‍याएँ ।

त्यसपछि बिस्तारै हाम्रो फोनमा कुरा हुन थाल्यो हामी एक अर्कामा नजिक हुन थाल्यौं । भेटघाट पनि हुन थाल्यो । नजाँनिदो तरिकाले हामी एक अर्कामा नजिक भयौं । हाम्रो भेटघाट प्रेम मा बदलियो । एक अर्का बिना बाच्न नसक्ने भयौं । मेरो घरमा मलाई रोकटोक गर्ने कोहि थिएन त्यसैले मा अलिक खुल्ला पनि थिएँ सायद । ऊ मलाई निक्कै माया गर्थ्यो । हामी घुम्ने, सिनेमा हेर्न जाने, मेला-सर्कस जाने गर्न थाल्यौं । हाम्रो घनिष्टता यति धेरै बढ्यो कि अब एक छिन भेट नहुँदा पनि के के नपुगेको जस्तो हुन थाल्यो । दुबैजना धेरै सँगै हुन थाले पछि बिहे अघि नहुनु पर्ने कामहरु पनि सबै सजिलै भए । मैले नाईंनास्ती गरेपनि मलाइ जीवन भर सङ्गै बस्ने अनि म सँग नै जीबन बिताउने कुरा गर्थ्यो ऊ । मलाई पनि भरोसा थियो ऊ प्रति ।

करिब चार महिना जति पछि एक दिन मैले फोन गर्दा उसको मोबाइल अफ आयो । मैले धेरै ट्राइ गरेँ तर फोन लागेन । केहि भयो होला भनेर मैले चित्त बुझाएकी थिएँ । तर लगातार १५ दिन सम्म उसको मोबाइल अफ आएपछि मैले सोच्नु पर्ने भयो । म उसलाई खोज्दै दिदीको छोरीको घरमा गएँ । उसको बारेमा बुझ्ने प्रयास गरें। अरु त मैले केहि पनि भनिन । धेरै प्रयाश पछि दिदीको छोरीको देवरले उसको बारेमा मलाई बताए । म त्यो कुरा सुनेर छाँगाबाट खसेको जस्ती भएँ । उसको बिहे भएर पनि २ बर्षकी छोरी रहिछे । उसको घर पनि पत्ता लाग्यो । म उसको घरमा गएँ । घरमा गए पछि थाहा भयो कि त्यो त उसकी तेस्री श्रीमती पो रहिछे । हिसाब नै गर्ने हो भने म उसकी चौंथी परिछु । मेरो पेटमा उसको पापको निशानी नभएको भए यति सबै कुरा थाहा भए पछि म जसोतसो मन बुझाएर घर फर्किन्थेँ होला तर मैले एसो गर्न सक्ने अवस्था नै थिएन । मैले धेरै कोसिस गरेर पनि ऊ कहाँ छ भनेर पत्ता लगाउन सकिन ।

घरमा न आएको ५ महिना भै सकेको रहेछ। उसको असली घर कहाँ हो भन्ने कुरा त्यो आइमाईलाई पनि थाहा रहेनछ । त्यो पनि म जस्तै धोखामा परेकी रहिछे । अहिले नजिकैको स्कुल मा पिउनको काम गरेर बच्चा हुर्काउँदै रहिछे । मलाई आफु निरिह भएको भान भयो । पैताला मुनिको जमिन खसेको आभाष भयो । तर मैले गर्न सक्ने केहि थिएन । अब म सग केवल दुई बिकल्प रहे उसलाई खोज्नु कि आफुलाई यो धर्तीबाट बिदा लिनु ।

म घर फर्किने अवस्थामा रहिन । खुट्टाले जमिनमा टेक्न सकेनन् । हावामा बत्तिदैं नजिकको पहरोमा पुगें । थचक्क भुइंमा बसें । टाउको चक्कर काट्न थाल्यो । ऊसँग बिताएका सबै पलहरु सिनेमाको रिल जस्तै आँखा वरिपरि घुम्न थाले । मसक्क मन कसें र बसेको ठाउँबाट हुत्तिदै गएर भीरबाट हाम्फाल्न मात्र के लागेको थिएँ कुनै बलियो हातले पाखुरीमा समातेर मलाई चौरमा लडायो । म धेरै बेर चौरमा लडीरहेँ ।

म लडुन्जेल त्यो मान्छे मलाई नै कुरेर बसेको रहेछ । नेपाल आर्मीमा काम गर्ने केटो हेर्दा निकै राम्रो र खाइलाग्दो थियो । मैले नचिने पनि सबै कुरा उसलाई बताएँ आफ्नो बारेमा र किन मर्ने मन भयो भन्ने पनि । 

धेरै बेरको मौनता पछि त्यो केटो बोल्यो । उसले अमुल्य जीवन खेर फाल्न नहुने र त्यो केटालाइ खोज्न मद्दत गर्ने कुरा पनि बतायो । तर मलाई त्यो केटालाई अब हेर्न सम्म पनि मन थिएन उसले दिएको धोखा सम्झेर । अनि त्यो आर्मी केटोले कुनै आपत्ति नभए उसैले मलाई उसको जीबन संगिनी बनाउने कुरा गर्‍यो । अनायाश मेरो आँखाबाट आँशुको धारा बग्यो । उसले मेरो हात समाएर आफूतिर तान्यो र बिस्तारै भन्यो - "मेरो घरमा बिहे को कुरा भैरहेको छ । मेरो आमा मात्र हुनुहुन्छ घरमा । मैले बुहरी लिएर आएँ भनेर तिमीलाई लैजान्छु र एउटा मात्र कुरा तिमीले भन्नु कि हाम्रो बिहे भएको चार महिना भयो, तिम्रो पेटमा भएको बच्चालाई नाम दिन मलाई सजिलो हुन्छ र तिमीलाई पनि समाजले सजिलै स्वीकार्छ ।"

त्यो दिनदेखि म उसको आमाको र मेरो छोरीको सेवा गरेर घरमा बसेकी छु ऊ भने देशको सेवामा हरदम खटिइ रहेको छ ।

Friday, November 8, 2019

आमाको अस्मिता (कविता २०७६)

तीन हाते छिमेकी पस्यो दैलो फोरेर
आमाको अस्मिता लिलाम भएको छ
टुलुटुलु हेर्दै छोराहरु मैदानमा छन्
भाग्दैछन् डराएर आमा छाडेर गन्तव्यहीन ।

आमालाई पीडा भएकाे छ आज
मन त हो तन्नेरी वयमा जाँदैछ
कामना रहेको थियो कि सजाउँ
लाग्दैछ कोही चिथाेर्दै छ उनलाई ।

चित्कार सुनिएको छ जताततै
खैलाबैला मच्चियो कुनाकुना
अस्मिता माथि धावा बोल्यो कसैले
रगतको आँशु झर्‍यो आमाको आँखाबाट ।

अधिकार प्राप्त छोरो मौन छ
कायरता भनुँ भने बीर गाेर्खाली
रगत सुकाएर बाँच्दैछ लिपुलेकमा
धुमिल दृश्यले ज्वाला भट्कियो मनमा ।।

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...