Friday, November 15, 2019

फरक प्रेम (कथा २०७५)

देखेको त मैले पनि धेरै पहिले देखि नै हो उसलाई । तर भेटेको चाहिँ दिदीको छोरीको बिहेमा हो । देख्दा निकै भलाद्मी लाग्ने त्यो केटा मेरो जीवनमा यसरी आउला भन्ने मैले कल्पना सम्म पनि गरेकी थिइन । बिहेको पार्टीमा खाना खाइ सकेर म यत्तिकै बाहिर बसी रहेकी थिएँ । म बसेको ठाउँमा आएर ऊ पनि उभियो । मैले सोचे कसैलाई कुर्दै छ । धेरै बेर सम्म पनि हाम्रो बिचमा बोलचाल त भएन तर एक अर्कालाई हेर्ने काम भने भैरह्यो ।

करिब एक घण्टा जति उभिएपछि म पार्टी हाल भित्र गएँ । ऊ पनि मेरो पछि पछि आयो । ढोकामा पुगेपछि मैले पछाडी फर्केर हेरें । ऊ मलाई हेर्दै टक्क अडिएको थियो । मलाई हल्का लाज पनि लग्यो तर मैले केहि भनिन म त्यत्तिकै भित्र गएँ ।
त्यो दिन त्यत्तिकै भयो दिदिको छोरीको बिदाई पनि भयो । सबै जन्ती संग ऊ पनि गयो । मेरो मन मा उसको छायाँ भने रहिरहेको थियो ।

बिहेको ३ दिनपछि दिदीको छोरीलाई खाजा खुवाउन जाने कार्यक्रम बन्यो म पनि काकी आमाहरुको साथ लागेर गएँ । उताबाट फर्कने बेला त्यो केटालाई साथीहरु सँग हामी तिर नै आइरहेको देखें मैले । मन ढक्क फुल्यो । ऊ मुस्कुराउँदै म तिर हेर्दै थियो । इशारा गरेर म सँग मोबाइल नम्बर माग्यो । मैले एउटा सानो कागजको टुक्रामा नम्बर लेखेर कसो कसो ऊ सम्म पुर्‍याएँ ।

त्यसपछि बिस्तारै हाम्रो फोनमा कुरा हुन थाल्यो हामी एक अर्कामा नजिक हुन थाल्यौं । भेटघाट पनि हुन थाल्यो । नजाँनिदो तरिकाले हामी एक अर्कामा नजिक भयौं । हाम्रो भेटघाट प्रेम मा बदलियो । एक अर्का बिना बाच्न नसक्ने भयौं । मेरो घरमा मलाई रोकटोक गर्ने कोहि थिएन त्यसैले मा अलिक खुल्ला पनि थिएँ सायद । ऊ मलाई निक्कै माया गर्थ्यो । हामी घुम्ने, सिनेमा हेर्न जाने, मेला-सर्कस जाने गर्न थाल्यौं । हाम्रो घनिष्टता यति धेरै बढ्यो कि अब एक छिन भेट नहुँदा पनि के के नपुगेको जस्तो हुन थाल्यो । दुबैजना धेरै सँगै हुन थाले पछि बिहे अघि नहुनु पर्ने कामहरु पनि सबै सजिलै भए । मैले नाईंनास्ती गरेपनि मलाइ जीवन भर सङ्गै बस्ने अनि म सँग नै जीबन बिताउने कुरा गर्थ्यो ऊ । मलाई पनि भरोसा थियो ऊ प्रति ।

करिब चार महिना जति पछि एक दिन मैले फोन गर्दा उसको मोबाइल अफ आयो । मैले धेरै ट्राइ गरेँ तर फोन लागेन । केहि भयो होला भनेर मैले चित्त बुझाएकी थिएँ । तर लगातार १५ दिन सम्म उसको मोबाइल अफ आएपछि मैले सोच्नु पर्ने भयो । म उसलाई खोज्दै दिदीको छोरीको घरमा गएँ । उसको बारेमा बुझ्ने प्रयास गरें। अरु त मैले केहि पनि भनिन । धेरै प्रयाश पछि दिदीको छोरीको देवरले उसको बारेमा मलाई बताए । म त्यो कुरा सुनेर छाँगाबाट खसेको जस्ती भएँ । उसको बिहे भएर पनि २ बर्षकी छोरी रहिछे । उसको घर पनि पत्ता लाग्यो । म उसको घरमा गएँ । घरमा गए पछि थाहा भयो कि त्यो त उसकी तेस्री श्रीमती पो रहिछे । हिसाब नै गर्ने हो भने म उसकी चौंथी परिछु । मेरो पेटमा उसको पापको निशानी नभएको भए यति सबै कुरा थाहा भए पछि म जसोतसो मन बुझाएर घर फर्किन्थेँ होला तर मैले एसो गर्न सक्ने अवस्था नै थिएन । मैले धेरै कोसिस गरेर पनि ऊ कहाँ छ भनेर पत्ता लगाउन सकिन ।

घरमा न आएको ५ महिना भै सकेको रहेछ। उसको असली घर कहाँ हो भन्ने कुरा त्यो आइमाईलाई पनि थाहा रहेनछ । त्यो पनि म जस्तै धोखामा परेकी रहिछे । अहिले नजिकैको स्कुल मा पिउनको काम गरेर बच्चा हुर्काउँदै रहिछे । मलाई आफु निरिह भएको भान भयो । पैताला मुनिको जमिन खसेको आभाष भयो । तर मैले गर्न सक्ने केहि थिएन । अब म सग केवल दुई बिकल्प रहे उसलाई खोज्नु कि आफुलाई यो धर्तीबाट बिदा लिनु ।

म घर फर्किने अवस्थामा रहिन । खुट्टाले जमिनमा टेक्न सकेनन् । हावामा बत्तिदैं नजिकको पहरोमा पुगें । थचक्क भुइंमा बसें । टाउको चक्कर काट्न थाल्यो । ऊसँग बिताएका सबै पलहरु सिनेमाको रिल जस्तै आँखा वरिपरि घुम्न थाले । मसक्क मन कसें र बसेको ठाउँबाट हुत्तिदै गएर भीरबाट हाम्फाल्न मात्र के लागेको थिएँ कुनै बलियो हातले पाखुरीमा समातेर मलाई चौरमा लडायो । म धेरै बेर चौरमा लडीरहेँ ।

म लडुन्जेल त्यो मान्छे मलाई नै कुरेर बसेको रहेछ । नेपाल आर्मीमा काम गर्ने केटो हेर्दा निकै राम्रो र खाइलाग्दो थियो । मैले नचिने पनि सबै कुरा उसलाई बताएँ आफ्नो बारेमा र किन मर्ने मन भयो भन्ने पनि । 

धेरै बेरको मौनता पछि त्यो केटो बोल्यो । उसले अमुल्य जीवन खेर फाल्न नहुने र त्यो केटालाइ खोज्न मद्दत गर्ने कुरा पनि बतायो । तर मलाई त्यो केटालाई अब हेर्न सम्म पनि मन थिएन उसले दिएको धोखा सम्झेर । अनि त्यो आर्मी केटोले कुनै आपत्ति नभए उसैले मलाई उसको जीबन संगिनी बनाउने कुरा गर्‍यो । अनायाश मेरो आँखाबाट आँशुको धारा बग्यो । उसले मेरो हात समाएर आफूतिर तान्यो र बिस्तारै भन्यो - "मेरो घरमा बिहे को कुरा भैरहेको छ । मेरो आमा मात्र हुनुहुन्छ घरमा । मैले बुहरी लिएर आएँ भनेर तिमीलाई लैजान्छु र एउटा मात्र कुरा तिमीले भन्नु कि हाम्रो बिहे भएको चार महिना भयो, तिम्रो पेटमा भएको बच्चालाई नाम दिन मलाई सजिलो हुन्छ र तिमीलाई पनि समाजले सजिलै स्वीकार्छ ।"

त्यो दिनदेखि म उसको आमाको र मेरो छोरीको सेवा गरेर घरमा बसेकी छु ऊ भने देशको सेवामा हरदम खटिइ रहेको छ ।

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...