Friday, November 15, 2019

जीवनको मूल्य (कथा, २०६९)

हाम्रो घर नजिकै एकजना भिखारी बस्थ्यो । हामी सानो बेला देखि नै उसलाई सधैँ एउछै स्थानमा देख्ने गर्थ्यौं । कहिले काहिँ स्कूलबाट घर फर्कदाँ हाम्रो सानो टिफिन बक्समा केहि खाजा बचेको हुन्थ्यो भने हामी उसलाई दिने गर्थ्यौं । ऊ अत्यन्त प्रेमका साथ हामीले दिएकाे रहलपहल खानेकुरा खान्थ्यो र कालो न कालो मैलो बाेतलको पानीले पखालेर हाम्रो टिफिन बक्स फिर्ता दिन्थ्यो । एक प्रकारले त्यो हाम्रो नियमित काम जस्तै बनेको थियो ।

यसरी नै हाम्रो बालापन बिति रहेको थियो। हामी कक्षा १० मा पढ्ने बेला त्यो भिखारीको सधैं बस्ने स्थान परिबर्तन भएर पुतली सडकको पद्मोदय स्कुलअगाडीको पेटी हुन थाल्यो। अहिले त भिखारी अलिक बुढो पनि भएको देखिन्थ्यो । तर हामीले उसलाई आफ्नो टिफिन र कहिले काहिँ खल्तीमा भएको एक दुइ रुपियाँ दिन भने छाडेका थिएनौं  ।

केहि दिन पछि हामीले त्यो भिखारी बिस्तारै दुब्लाउदै गएको देख्यौँ । एकदिन आँट गरेर हामी मध्येको अलिक सुरिलो साथीले सोध्यो र त्यो भिखारी बिरामी भएको भन्ने थाहा भयो । हामीले के गर्न सकिन्छ भनेर धेरै पल्ट विचार गर्‍यौं तर के गर्ने भन्ने कुरा हाम्रो मनमा फ़ुर्न सकेन । 

त्यो दिन मनमा नरमाइलो पन राखेर हामी घर फर्कियौ । रात भरि मनमा खल्लो लागि रह्यो । सपनामा पनि त्यही भिखारीको जीर्ण शरीर आइरह्यो ।

भोलिपल्ट बिहान हामी स्कुल जाने बेलामा सधैं भेट हुने ठाउँमा भेट गरेर केही गरम् भनेर त्यो भिखारी नजिक गयौं । उसको अवस्था झन् नाजुक भएको पायौं । त्यतिबेला काठमाडौँमा कालो रंगको मिटरवाला टेम्पो चल्थ्यो । हामीले आफुसँग भएको खाजा खाने पैसा बटुलेर भिखारीलाई बिस्तारै उठायौँ अनि त्यही मिटरवाला कालो टेम्पोमा हालेर हस्पिटल लिएर गयौं ।
इमर्जेन्सीमा लिएर गयौं तर कोही डक्टर तथा नर्सले हाम्रो कुरा सुन्न तयार पनि भएनन् र त्यो भिखारीलाई छुँदा पनि छोएनन् उपचारको त कुरै भएन । हामीले धेरै अनुनय बिनय गर्‍यौं तर पनि हामी साना केटाकेटीको कुरा सुन्न कोही तयार भएनन् ।

हामीलाई धेरै नै नरमाइलो लाग्यो तर पनि हामी केहि गर्न सक्ने अवस्थामा थिएनौँ । भिखारीको अवस्था झन् नाजुक हुँदै गएको थियो । तर उपचार हुन सकेको थिएन । हामीले धेरै प्रयाश गर्दै गर्दा हाम्रो स्कुल को समय पनि सकियो ।
हामी निकै दु:खी भयौं तर केहि गर्न सक्ने हाम्रो हैसियत थिएन त्यतिबेला ।


करिब दिनको ५ बजे पछि एकजना डाक्टर आएर हामीलाई सोध्नु भयो स्कुल को ड्रेसमा किन यहाँ बसेको भनेर । हामीले भिखारीलाई देखाएर बिहान देखि भएको सबै कुराहरुको बेलिबिस्तार लगायौं। उहाँले भिखारीलाई भुँइमा बसेकै ठाउँमा चेक गर्नु भयो । मुख नराम्रो परेर हामीतिर हेर्दै भन्नु भयो बाबु नानी हो धेरै ढिला भैसक्यो यो मान्छे त मरिसक्यो । हाम्रो मनले ढ्यांग्रो ठ्योक्यो र आँखामा आँसु भरियो । हामीले केहि भन्न वा गर्न सकेनम । एक अर्कालाई हेर्दै बसेका थियौं । 


मनमा ति अस्पतालका डाक्टर नर्स हरु प्रति घृणा पनि लाग्यो । हाम्रो आँखा अगाडी नै एउटा अमुल्य मानब जीवनको अन्त्य भएको थियो कसैको लापरबाहीले गर्दा। हामीले लागेको बेला नै उपचार सुरु भएको थियो भने शायद त्यो भिखारी बच्न पनि सक्थ्यो होला ।

एकछिन पछि गुडाउने खाट लिएर अस्पतालका केहि कर्मचारी आए र त्यो भिखारीलाई उठाएर खाटमा राखेर भित्र तिर लागे । हाम्रो मन अमिलो भयो र आँखा आशुले भरिएर धमिलो । 

जे होस् जिउँदोमा भुइँमा लड्नु परेको त्यो मान्छे ले मरेपछि भने गुडाउने खाट पायो ।

धेरै पछि हामीलाई थाहा भयो त्यो भिखारीलाई ढिलै भएपनि चेक गर्ने डाक्टर गोविन्द के.सी.रहेछन् ।

1 comment:

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...