Tuesday, July 14, 2020

अजीवित कामना (कविता)


Pashupati Aryaghat staffers exposed to risks of COVID-19 in lack ...

सँधै आकाशमा छरपष्ट भएका काला बादलहरु
तिम्रा सुन्दर प्रतिरुप लाग्थे मलाई पहिले पनि
आजभोली त तिनमा चाँदीका घेरा थपिएछन्
मायाको रूप पनि किन सँधै एकनाशे हुँदैन
आखिर तिमी कहिले त्यसको पर्याय बन्न सकिनौ।

चिताबाट उठेको धुँवाको मुस्लो अनि मेरो मन
अबिरल बहेका आँशुका धारामा को बग्ने अब ?
मन भित्रको चाहना त उहिल्यै बालुवा भयो
रक्त कोषिकाहरू पूर्णरूपेण सुख्खा भए
मेरा धमनीहरूमा कसैको याद बाँकी हुन नदिनू।

आमाको गर्भमा त मैले पीडा भोगिन होला
तर याद छैन तिमीसँग बितेका सुवर्णपलहरू
प्रकृतिको माया र कसैको सम्झना तुलना कसरी
आफ्नै खुट्टामा बञ्चरो हान्ने प्रयाश विफल भएको छ
तर पनि म आफ्नो मृत्यु आफ्नै हातबाट चाहन्न।

तिमी किन मेरो हृदय चोटका लागि अग्रगामी छौ
आमाको छातीको दूधको धाराले पाप पखाल
सुकेका रक्त बिन्दुहरूमा आफ्नो प्यार नखोज
ति त केवल मृगतृष्णा सावित हुनेछन् तिम्रा लागि
म फूल रोप्छु तिमी काँडाको स्याहार गर्न उद्यत।

रविको लालिमा क्रान्ति खोज्ने तिमी प्रतिक्रान्ति पनि सहू
यदि चाहना मरेकै हो भने पनि आफ्नालाई नमुछ कहिले
किन गोली र बारूदको गन्ध मन पर्दैन तिमीलाई अब
बिना क्रान्ति त केही संभव छैन भन्थेऊ त सदा अनि
रक्त क्रान्तिका गीतहरू अझै कानमै गुन्जने नै छन्।

आजको दिन तिमीले याद गरिनौ भने भोलि कसरी बन्ला
बिना भोलि आजको महत्व कदापी नहोला हाम्रा लागि
फूल नझरी कुनै बीज नबन्ला, तै पनि श्राप नदेऊ है
अमू्र्त जीवन जिउने कला कसले सिकाउला र?
अब हामीले साथ मर्नु वा जीउनु अर्थ बिहीन भयो ।

असारे भेलमा बहेका आफ्ना अन्तिम चाहनाहरू
म किन भदौको उष्णतामा खोज्दैछु बिना अर्थ
बचेराको आवाजले पनि तिम्रो मातृत्व पलाएन त
किन अरूलाई दोष दिने आफ्नै हृदयमा खोट छ भने
लाशको आत्मा वा आत्मामा लाश किमार्थ भेटिन्न ।

म अब आफूमा तिमीलाई खोज्दिन कहिले पनि
मान्नु पनि छैन मलाई ति विष घोलिएको मृदुता
शिरमा हथौडा हानेर पनि जीवन पाउन सकिन्छ
तर त्यति धेर लालसा पनि पलाएको छैन जीवनमा
शत्रुको हातको पानी र आफ्नै प्रतिछाया उस्तै लाग्छ।

शहरका सलहहरू अनि तिम्रा भ्रमका शब्द लहरी
बाबुनानीका क्रन्दन अनि आमाको चित्कारको मूल्य
अविरल बगेका दूधका धाराको मूल्य हीनता कसरी
एक प्रकृति अर्को प्रति निर्दयी कसरी बन्ला हेरूँ त
म त मान्दिन ति सबै भ्रमका खेती हुन् भनेर कदापी।

बागमती धमिलो भइरहदाँ मेरो मनमा स्वच्छता कहाँ र
तिम्रो सुगन्ध पनि त मिहीन भएको छ, लाशको गन्ध सामु
गिद्दहरुको भीडले लुछेका आफ्नै लाशको प्रतिछाया
कसरी शून्यतामा हराउला र हाम्रो माया अनि भाव
म त मरूँला तर तिमीलाई केही नहोस् मेरो कामना ।

२०७७ असार

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...