Tuesday, January 7, 2020

राधानानी (कथा - २०७५)


राधानानी

बिहानीको घाम मधुरो मधुरो नै थियो । बिस्तारै उकाली लाग्दै थिएँ हातमा पानीको सानो बाल्टी बोकेर । पोहोर खेतमा लडेर कम्मरमा चोट लागेपछि गाग्री बोक्न सकेकै हैन । हुन त एक्लो ज्यानलाई यति पानीले बिहानको खाना बनाउन र दिनभर पिउन पुगिहाल्छ । अरु पानी नै किन चाहियो र न बस्तु भाउ छन घरमा न कोही बटुवा नै आउँछन् मेरो मा पानी पिउन भनेर ।

-0-

माइतीमा हुँदा राम्रै अवस्थामा हुर्के बढेकी म घर आए पछि बढारेर फ्याँकेको कसिङ्गर भन्दा पनि काम नलाग्ने मा गनिएँ माइतीका लागि र घरका लागि पनि ।

नौ कक्षा सम्म त राम्रै पढेकी थिएँ । के मति बिग्रेर हो कुन्नी नौ मा पढ्दा पढ्दै बिज्ञान पढाउने राम सर प्रति नजानिदो तरिकाले आकर्षण बढ्न थालेछ पत्तै नपाइ ।

अरु सरहरुले पढाउँदा पढाईमा ध्यान हुन्थ्यो मेरो तर बिज्ञानको पिरियडमा भने सर प्रति पो ध्यान हुन थालेछ । पहिलो त्रैमासिक परीक्षामा बिज्ञानमा फेल भए पछि पो बल्ल होस् खुले मेरा त्यो पनि सरको गाली खाएपछि ।

राम सरले पिपल चौतारीमा बोलाएर हकार्नु भो – "राधा के भाकी तिमी अरु बिषयमा त्यति राम्रो नम्बर ल्याउने अनि मेरै बिषयमा चाहिँ फेल नै हान्दिने ?"

म अवाक् भएँ । मैले राम सरलाई केही भन्न सकिन खाली गोडाको बुढी औंलाले भुइँ कोतरी रहें । सरले के बुझ्नु भो थाहा छैन केही नभनी जानु भो । सर फर्कनु भए पछि पनि धेरै बेर म त्यसरी नै चौतारीमा बसिरहेँ ।

-0-

घर पुगेर पानीको बाल्टी गग्रेटोमा राखेर चिसा लुगा सुकाउन थाले । पर क्षितीजमा घामको पारा चढ्दै थियो । लुगा सुकाएर पिढिँमा सुस्ताएँ एकै छिन । घरमा गर्नु पर्ने कामहरु खासै केही थिएनन् । एक्ली मान्छेको काम नै कति पो हुन्थो र ?

जे जस्तो भए पनि खाना बनाएर त खानै पर्ने जिउँदो रहुन्जेल । एक छिनको सुस्ताइ पछि लागेँ भान्छा तिर । हिजो राती कै तरकारी राखेकी थिएँ लौकीको,  मौसम त्यती नताती सकेको हुनाले साँझ पकाएको बिहान सजिलै खान मिल्ने थियो । तरकारी तताएँ अनि भुलुक्क पानी उमालेर अलिकति ढिँडोको जोहो गरे । यति भए त एक्लो ज्यानलाई आहार भै गो । पर्खनु पर्ने कोही नभएकोले एक्लै खाएँ तात्तातै । भान्छाको धन्दा सकेर चोटामा उक्लेँ । धेरै दिन देखि असरल्ल परेका सामानहरु यसो थान्को मुन्को गरेँ । एकैछिन सुस्ताउने मन भयो र पल्टिएँ खाटमा बिस्तारै ।

-0-

राम सरले धेरै पल्ट सम्झाउनु भयो राम्रो सँग पढ्नु भनेर । "हुन्छ" भनेर टाउको त हल्लाएँ तर पढ्न सके पो र ! बिज्ञान किताब पल्टायो कि पानाभरी रामसरको मुहार मात्र झल्झली देख्थेँ । केही गरे पनि विज्ञान विषयमा पास हुन सकिन । दोश्रो त्रैमासिक परीक्षामा पनि म फेल भएँ अनि फेरी रामसरको गाली खाएँ ।

एकदिन चौतारामा बसी रहेकी थिएँ । पछाडीबाट रामसर आएर छेउमा उभिनु भएको रहेछ कुन सड्को मैले थाहा नै पाईन । एक छिनपछि बल्ल छायाँ देखेँ अनि यसो फर्केर हेरेको सर पो हुनुदोँ रैछ ।

"के गर्दै बसेकी राधा ?"

"यसै बसि रहेकी सर तलको फाँट हेर्दै ।"

"त्यो फाँट हेरेर विज्ञानमा पास हुन्छेउ र ? समय मिलाएर यसो कल्पना, मीनाहरु सँग ट्युशन पढ्न आए हुन्छ नि !"

रामसरको कुराले मेरो मन अति पुलकित भयो । सरसँगको सामिप्यता बढाउने यो भन्दा उत्तम उपाय अरु के हुन सक्छ र भन्ने सोचेर मैले भोलिदेखि नै आउने कुरा सरलाई बताएर त्यहाँबाट हिँडे ।

घर पुगुञ्जेल कयौं पटक मेरो मानसपटलमा सरको चित्र खेलिरह्यो । मुटुको चाल पनि बढ्यो । सरसँग नजिक हुन पाउने कुराले भित्र कता कता काउकुति पनि लागेको जस्तो भयो ।

"हैन यो राधा के भा की हँ एक्लै हाँस्दै पो छे त ।"

सानीमाको टोकसो पछि म होशमा आएँ । हो त म त मनमा के के कल्पना गर्दै एक्लै हाँस्दै पो हिँडिरहेकि थिएँ ।

स्कुलबाट घर आएपछि गर्नुपर्ने सबै धन्दा सकिदाँ झमक्क रात परिसकेको थियो । खाना खाएर आफ्नु थाल र बटुको पखालेर आँटिमा राखेर धिपधिपे डिबी लिएर लिस्नो उक्लेँ ।

"सानीमा दैलो लगाएर आऊ है म चोटामा उक्लि सकेँ, बाउ आउने टुङ्गो छैन ।"

सानीमाले सुनिन सुनिनन् मलाई थाहा भएन म आफ्नो विस्तारामा पुगिसकेकी थिएँ कराउँदै ।

धिपधिपे उज्यालोमा स्कुलको गृहकार्य गर्न भनेर बसेँ । सुरुमै बिज्ञान किताब हातमा आयो । मुटु ढक्क फूल्यो बिज्ञान सरलाई सम्झेर । जीउ भरी काडाँ उम्रेर आयो । मन भित्र कता कता काउकुति लागे जस्तो पनि भयो । धेरै बेर सम्म बिज्ञान किताब हातमा लिएर त्यसै टोलाइरहेँ ।

-0-

"ए राधा ! राधा !!" कसैले चिच्याउँदै रहेछ म बिउँझिदा । घाम त पहेँला भएर जमुने डाँडामाथि पुगिसकेको रहेछ । यसो बाहिर हेरेँ पल्ला घरे दिदि रैछिन् । केही ‍काम नपरी कहिले करेसा नटेक्ने उनी आज मैरे नाम लिएर म तिर नै आउँदै थिइन ।

"राधा ! थाहा पाइस् तेरो खसम मुगलानमा भेटियो रे हर्के र उसका बाउ हिजो राती आए । उनिहरुले उत्तै देखेका भन्नी खबर ल्याका रैछन ।"

मलाई हर्ष पनि लागेन बिस्मात पनि ।

"ए हो र अनि कहिले आउँछु भनेर खबर पठाएछन् त ?" मैले सामान्य औपचारिकताका लागि मात्र 
सोधेँ ।

"खै के थाहा त्यो त । हाम्रालाई देख्नासाथ हातमा केही पैसा थमाएर नबोली अन्तै हिँड्यो रे । म त तलाईँ यसो खबर सुनाउँ भनेर मात्र आकी ।"

मैले केही उत्तर दिइन । दिदि फर्केर गइन ।

-0-

"राधा ए राधा दैलो खोल त ।" राती कतिखेर हो बाउ को आवाजले ब्युझिएँ । हातमा बिज्ञान किताब लिएरै पो निदाएछु । डिबी धिपधिप गरिरहेकै रहेछ । तल ओर्लेर दैलो खोलिदिएँ । चार दिन पहिले बाहिर काममा गाका बाउको अनुहार थकित र आशातित थियो शायद भोकै थे होलान् । सँधै हातमा हुने मैलो थैलो भने बाउको हातमा नै थियो ।

"भात राख्देकी छे तेरी सानिमा ले ?" बाउले सोधे ।

"आउने भन्ने खबर भाको भए राख्देकी होलिन् नि । तै नि म हेर्छु ।" म चुलो तिर लागेँ ।

"किस्ने हात खबर पठाको थिएँ ।"

"ल ल हात मुख धोएर आउनु भात र तिहुन राख्देकी रैछिन । तात्तातै रैछ खानु अनि चोटामा जानु ।"

हातमा अम्खरा दिएँ । बाउ आउञ्जेल भात पस्केर राखिदिएँ । निकै भोका रैछन हतार हतार भात तिहुन एकै ठाम मुछेर खाए । आँत सुकेको हुँदो हो किक्लिक्क किक्लिक्क गर्दै पानीले निल्दै खाइसके ।

बाउको हातको थाल बटुको लिएर जुठेल्नामा राखिदिएँ । यति राती कस्ले माझोस् भोलि माझ्लिन उनकै पियारीले ।

म डिबी हातमा लिएर उक्लेँ, बाउ पछि लागे ।

"तेरो पढाई चल्दै छ कि बन्द भो ?" बाउले सोधे । मैले केही उत्तर दिइन । फेरी बाउ केही नबोली पछि पछि लागे । मैले कोठासम्म पुर्‍याएँ अनि फर्किएँ आफ्नै कोठा तिर ।

फेरी बिज्ञान किताब छातीमा टाँसेर नै सुतेँ ।

-0-

पल्लाघरे दिदीको कुरा मनमा खेलाउँदै साँझ परिगो । बिहान त्यतिबेला खाना खाएकी कता कता भोक लागेको जस्तो भान भो । यसो चोटामा उक्लेँ दुई झुत्ता मकै झिकेर नङ्ग्याएँ ।

मकै छोडाउँदै गर्दा पल्लाघरे हर्के आगँनको डिलमा देखापर्‍यो । मैले केही बोल्न नपाउँदै ऊ हतारिएर चोटामै आयो ।

"पूर्नेले दे को राख भाउजू ।" उसले हात लम्काउँदै भारु पाँच सयका केही नोटहरु मेरो हातमा राखिदियो ।

"मूर्दारलाई मेरो याद पनि रैछ अझै !"

"ठूला साहूकहाँ लागेको छु, दशैंमा आउँछु भन्दिनु भन्थ्यो, आउला पनि ।" हर्केले लिस्नो ओर्लंदै भन्यो ।

हर्के ओझेल भएपछि मैले हातमा भएका नोटहरु गनें पाँचहजार भारु रैछन् । ऋण तिर्नु वा कसैको सापटी फिर्ता गर्नु नभएकाले दुई नोट बाहिर राखेर अरु सबै ट्याङ्कामा राखेर ताला लगाएँ । घरमा किन्नु पर्ने नुन तेलका लागि भोली सदरमुकाम जाने अठोट गरें ।

बस्तुभाउ नभएको घर एकप्रकारको हल्का हुन्छ तर शून्यलाग्दो पनि हुन्छ । यसरी एक्लै बसेको बर्षौं भइसक्यो अब त बानी नै लाग्यो ।

पूर्नेले छाडेकै सात वर्ष भएछ । तर पनि उसले हरेक तीन तीन महिनामा कसैको हात केही रकम र दशैंमा आउँछु भन्ने खबर भने पठाउन छाडेको छैन । दशैं आफ्नो समयमा आउँछ जान्छ तर पुर्ने भने आएको छैन ।  

-0-

रामसरको घरमा बिज्ञान पढ्न जान थालेपछि म कुनै विषयमा पनि फेल भइन । अन्तीम परीक्षामा समेत म सबै बिषयमा पास भएँ तर कुनै उल्लेखनिय स्थान भने ल्याउन सकिन । कक्षा दश शुरु हुनासाथ हामी फेरी पहिले जस्तै ट्युशन जान थाल्यौं । साथीहरु घर फर्केपछि पनि राम सरसँग धेरै समय बिताउन थालें । भर्खर जवानी चढ्दै गरेको मेरो तनमा विस्तारै सरका आँखा लाग्न थालेँ । म पनि सरलाई भित्र भित्र मन पराउँथे तर मैले खुलेर सरलाई उक्त कुरा भनेको त थिइन ।

पहिलो आन्तरिक परीक्षापछि भने सरसँगको समिप्यता झन् बढ्न थाल्यो । सरले मलाई साना तिना उपहार पनि दिन थाल्नु भयो । मैले आपत्ति नजनाई ति सबै उपहारहरु सहर्ष स्वीकार गर्दैं गएँ । सरले एकदिन मुख फोरेरै भन्नु भयो

"राधा म तिमीलाई धेरै माया गर्छु । तिम्रो एसएलसी सकिएपछि हामी बिहे गरुँ है !"

म लाजले रातो भएँ । सरलाई केही उत्तर नदिइ म बाहिर निस्केँ तर मनमा भने लड्डु फुटेका थिए । म पनि सरलाई अति चाहन्थेँ ।

सरको माया गर्ने बचन पाए पछि मलाई सरसँग नजिकिन झन् सजिलो भयो । अरु साथीहरु ट्युशन पढेर फर्केपछि पनि हामी धेरैबेर सम्म आलिङ्गनबध्द भएर बस्थ्यौं । सरको अँगालोमा मलाई स्वर्गिय आनन्द आँउथ्यो । यो क्रम धेरै दिन चल्यो । एक साँझ सर र मेरो बीचमा सबै दूरी हट्यो । जे बिहे अघि जे नहुनुपर्थ्यो त्यो भयो । मलाई किन किन गल्ती गरे झैं लाग्यो म धेरै बेर रोईरहें तर सरले मलाई म अब तिमीलाई छिट्टै बिहे गर्छु भनेर शान्त पार्नु भयो । सरको कुरामा मलाई विश्वास नहुने कुरा थिएन ।

"राधा, तेरो मैना पुगेन र ? तँ यो मैना पर सरेकी छैनस् त ?" एका बिहनै सानिमाको भनाईले म झँस्के । मुटु ढक्क फूल्यो । जिउभरी सर्रर काँडा उम्य्रो । ओठ तालु सुक्यो । के जवाफ दिने म अवाक् भएँ ।

"कहिले काँहि दुईचार दिन तलमाथि हुन्छ त तिमीलाई थाहै छ नि !" मैले धेरै हिम्मत गरेर भनें तर मनमा भने त्रास उत्पन्न भएको थियो । कतिखेर स्कुल पुगेर सरसँग कुरा गरुँ भन्ने भयो ।

"म कल्पनाको घर भएर स्कुल जान्छु मलाई भात नपकाउ है !" म सानिमा तिर नहेरी स्कुलको झोला बोकेर कुदेँ ।

हतार हतार हामफाल्दै कल्पनाको घर पुगेँ । कल्पना आफ्नै कोठामा बसेर लेख्दै थिइ ।

"ओई हेर न मेरो त मैना नाघ्या जस्तो छ के गर्ने ?" मैले एक्कसी कल्पनाको नजिक गएर भनें । पहिले त ऊ झस्की । विष्फरित नेत्रले मलाई हेर्दै टोलाई ।

"हैन के भन्छे यो ? के गरिस् र मैना नाघ्नलाई ?"

"तँलाई थाहा छ त रामसरसँगको मेरो सम्बन्ध ।"

"सम्बन्ध त थाहा छ तर यो मैना नाघ्ने काम कहिले गरिस् मलाई के थाहा र !"

"अब के गर्ने भन त मलाई त डर लागिराछ ।"

"जाउँ हिँड् सरको घरमा गएर कुरा गरुँ ।"

म आज्ञाकारी बच्चा झैं कल्पनाको पछि लागेर सरको घरमा गएँ । सरलाई देख्नासाथ मलाई रुन आयो । म सरलाई अँगालो हालेर रुन थालें । सर अलमल्लमा पर्नुभो । एकछिन पछि सरसँग सबै कुरा भयो । सरले फेरी पनि सामान्य रुपमा मलाई बिहे गर्ने कुरा दोहोर्‍याउनु भयो । म खुशी त भएँ तर यो बिहे छिटो भएन भने मेरो के हालत हुने वाला थियो कल्पनाले पनि मेरो आँङ जिरिङ्ग हुन्थ्यो ।
स्कुलबाट साँझ घरमा आएर पर सरेको बहाना गरेँ । सानीमाले नपत्याउने कुनै थिएन । मैले सजिलै यो महिना ढाँटे तर मलाई थाहा थियो कि म धेरै ढाँट्न सक्दिन । मैले ढाँटे पनि मेरो बढेको पेटले सबैलाई चिच्याइ चिच्याइ भनिहाल्थ्यो ।

सरलाई म दिन दिनै आजै बिहे गरुँ न भन्थेँ तर सरले मैले घरमा कुरा गर्नु पर्छ केही समय देऊ भन्दै पन्छिन थाल्नु भएको थियो । मेरो मनमा डर बढ्दै थियो ।

एकदिन बिहानै कल्पना हतारिदैं हाम्रो घरमा आइ र पानी भर्दै गर्दा रामसरलाई ठूलो झोला बोकेर सदरमुकाम तिर झर्दै गरेको देखेकी बताएर गई । मेरो होश हवाश उड्यो । मैले केही सोच्न सकिन । पछि फेरी आँफैलाई मन बुझाएँ सर पक्का पनि घरमा हाम्रो बिहेको बारेमा कुरा गर्न जानु भएको होला भनेर ।

त्यो दिन स्कुल बिदा भएकाले भोलिपल्ट स्कुलमा रामसरको सट्टा बिज्ञान पढाउन सभापतिको छोरी आएपछि पो थाहा पाएँ राम सर त सदाका लागि स्कुल छाडेर जानुभएको रहेछ । अब मेरो होश गुम भयो । कसो कसो मैले आफ्नो होश सम्हालें ।

मलाई पढाइमा मन लाग्न छाड्यो । घरको काममा पनि मन लागेन । सानीमाको गाली नखाएको कुनै दिन भएन । आफैंले आफूलाई चिथोर्न कोपर्न मन लाग्थो तर सबैका अगाडि त्यसो गर्न पनि सक्दिनथेँ । पाँच महिनासम्म त जसो तसो अभिनय गरेरै भए पनि आफुलाई सामान्य राख्ने कोशिस गरेकी थिएँ र केही हदसम्म सफल पनि ।

एक बिहान सबेरै पँधेरमा नुहाउन गएकी थिएँ सबैका आँखा छलेर । नुहाउँदै थिएँ अकस्मात सानिमा देखा परिन् । मेरो हंसले ठाउँ छाड्यो । सानीमाले मलाई निकै नियालेर हेरिन् उनका अनुभवी आँखामा मेरो पाँच महिने गर्भ लुकेन ।

पँधेरामा नै लछारपछार शुरु भयो म सम्हालिन नपाउँदै सानिमाले आक्रमण गरिन् । म कसो कसो भागेर घर आएँ । सानिमा पछिपछि हातमा लौरो लिएर आइन् । हल्लाखल्लाले गाउँले जम्मा भए ।
राम्ररी उज्यालो पनि हुन पाएको थिइन सबै गाउँले जम्मा भए । म एकातिर कुनामा रुँदै बसेकी थिएँ । मेरो छेउमा कल्पना थिई । बेला बेला सानिमा मलाई झम्टिदैं थिइन् कल्पना रोक्दै थिइ । यो क्रम चल्दाचल्दै बाउले मुखिया लिएर आए गाउँका ।

मेरो केरकार शुरु भयो । अनेकन् अड्कल काटियो । हिजोसम्म "राधारानी" भन्नेहरु आज म मरेको देख्न चाहन्थे । सानिमाको कुटाईले टाउकोबाट रगत बगिरहेको थियो । कल्पनाले हातले मेरो घाउमा थिचेर रगत रोक्ने प्रयाश गर्दै थिइ तर सफल भएको भने थिएन ।

धेरै बेरको केरकारपछि मैले रामसरको नाम लिएँ । तर समाजका कोही पत्याउन तयार भएनन् । कल्पनाले पनि मेरै पक्षमा वकालत गर्दा पनि रामसरको गर्भ हो भनेर पत्याउन कसैले सकेनन् । मेरो केरकारका साथ शारिरीक यातना पनि बढ्दै गयो । कल्पनाको एकल प्रयाशबाट म बच्न सकिन । गाउँका सबैले पालैपालो मलाई भुताल्ने र मुक्का बर्साउन थाले । कतिबेर मेरो होश हरायो थाहा भएन ।

-0-

पाँचपाँच सयका दुई भारु नोट हातमा खेलाउँदा खेलाउँदै कतिखेर निदाएछु पत्तै भएन । बिउँझिदा त निक्कै रात भैसकेको थियो । भुटेका मकै यसै थालमा थिए । भोक पनि लागेकै थियो । शायद भोकले बिउँझे होला ।

भुटेको मकै र एक अम्खरा पानी पिएर झ्याल ढोका बन्द गरेर सुतेँ ।

बिहान बजार जाने मान्छेहरुको हुलको आवाज सुने पछि पो आँखा खुलेछन् । आज त म पनि पो बजार जानु पर्ने त । सम्झनासाथ हतार हतार आँटी मै हात मुख धोएर ढोका अग्ल्याएर बजार जाने हुलमा मिसिन पुगें ।

साढे दुई घण्टाको उकाली ओराली पछि बजार पुगिन्थ्यो । ढोडारी नदी तरेर उकालो लाग्नासाथ कतैबाट आएको सूर्यको तेजिलो प्रकाश मुहारमा पर्‍यो । यसो पिलिक्क देब्रेतिर हेरेको माइती गाउँ स्पष्ट देखियो । त्यतैबाट कसैको घरको जस्तापाताको धुरी टल्केर आएको रहेछ प्रकाश । माइती गाउँ देख्नासाथ सास फुल्यो । पुराना सबै कुराहरु सिनेमाको रिल घुमे झैं दिमागमा घुम्यो । सम्झनलायक वा सम्झन मन नभएका सबै कुराहरु क्रमशः मनमा आए अनि गए पनि । ती कुराहरुलाई दिमागमा खेलाएर आफैंलाई कमजोर बनाउनु भन्दा माथि अरु केही थिएन । माइती गाउँ छाडेको आज पन्ध्र वर्ष भैसक्यो ।

-0-

होश खुल्दा म गाउँको पुछारमा रहेको पुर्ने दर्जीको घरको आँगनमा सुकुलमाथि लडिरहेकी थिएँ । आँखा खुल्दा मेरो शिरानी तिर कल्पना थिइ र गोडामुनि पुर्ने दर्जीका परिवार । म अलमल्ल परेँ । सकी नसकी उठ्न खोज्दा पुर्नेले साथ दिएर उठायो । कल्पनातिर हेरेँ । ऊ आँखाभरी आँशु पारेर मलाई नै टुलुटुलु हेर्दै थिइ तर केही बोलिरहेकी थिइन । पुर्ने दर्जी सानोबेला हामीसँगै पढ्थ्यो तर नयाँ मुखिया आएपछि उसको पढाइ रोकिएको थियो । जे जस्तो भएपनि मेरो बाल्यकालको सखा थियो पुर्ने ।

"गाउँ समाजले नानीलाई हाम्रो पुर्नेको जिम्मा लगायो । हामी निमुखा प्राणी के भन्न सक्थ्यौं र नानी ! यो अमानवको वस्तीमा हामीले बोल्न पाउने हक छैन नानी । लुरुलुरु तपाइँलाई यहाँ लिएर आयौं । यो गरिबीले जे पनि गर्न बाध्य बनाउँदो रहेछ नानी । चारमुरी कोदोको साथमा तपाइँलाई पनि स्वीकार्‍यो यो पुर्नेले ।"

धेरै बेर पछिको मौनतालाई चिर्दै पुर्नेका बा बोले ।

मेरो मनले केही सोच्न सकेको थिएन । मेरा आँखाबाट एकतमास आँशुका धारा बगिरहेका थिए । धेरै बेर मौन नै रहें । पछि एकमनले भन्यो

"तलाईँ गर्भ बोकाएर अलपत्र पारेर भाग्ने रामसर भन्दा त समाजका अगाडी तलाईँ यस्तो अवस्थामा साथ दिने पुर्ने महान् छ ।"

मनमनै पुर्नेलाई धन्यवाद दिएँ । मन अलिक हलुको भयो । उमेरमा हामी उस्तै थियौं त्यस्तै सोह्र सत्रका ।

हामी सबैजना एक अर्कालाई हेरेर मौन नै बसिरहेका थियौं ।

"जे हुनु भै गयो अब मन दुखाएर केही हुन्न तँ पनि यो अमानविय समाजको शिकार भइस् । जे जस्तो भए पनि हामी नारीले सम्झौता गर्नै पर्छ भगवानको पालादेखि चलेको चलन हो राधा । अब सक्छेस् भने यही पुर्नेलाई लोग्ने मान् नत्र साथी त हुँदै हो माया गरे नि नगरे नि जीवन यसैसँग बिता । समाजको बिरुध्दमा जानसक्ने तँ हाम्रो हैसियत छैन । तँलाइ यस्तो अवस्थामा पुर्‍याउने त्यो रामेको भर्सेलो परोस् ।"

कल्पनाले लामो मौनता भंग गर्दै मनको बह बोली ।

कल्पनाका हरेक शब्दहरुले मेरो मन छियाछिया पार्दैथ्यो ।

"राधानानी नरुनुस् हामी लोग्ने स्वास्नी भएर बस्न पर्छ भन्ने छैन । समाजले देख्ने र नदेख्दे दुई नाता हुन्छन् । हामी समाजलाई अर्कै देखाएर अर्कै नातामा पनि त बस्न सक्छौं । मन त लाग्छ बिद्रोह गरुँ यो समाजको तर हामी साना निमुखा प्राणी आँफै स्वाहा हुन्छम् त्यसैले रिसलाई मनमा नै दबाएर बसेको छु । बाल्यकालदेखिको साथी हुँ यो घर तपाइँको भाग्यमा पर्‍यो । जुन रुपमा बस्न चाहनुहुन्छ मैले त्यही रुपमा तपाइँलाई राख्छु ।"

पुर्नेले आफ्ना मनका सबै कुरा एकै सासमा भन्यो । मलाई पुर्नेको महानतामा गर्व लाग्यो । नपढेको भए पनि उसको सोच उच्च थियो ।

केही सामान्य कुराहरु पछि कल्पनाले पनि मलाई त्यहाँ छाडेर गइ ।

पुर्नेले गाउँको रेकक्रसघरमा गएर केही औषधि लिएर आयो । मेरो घाउ सफा गर्‍यो । मलाई खाना बनाएर खुवायो र आराम गर्न छाडेर आफ्नो काममा गयो ।

विस्तारै दिनहरु बित्दै गए । म पुर्नेको घरबाट बाहिर निस्केकी थिइन । घरभित्रका सबै कामहरु गर्थें । पुर्नेको घरमा उसका बुढा बा, बिहे गर्न बाँकी एउटी बहिनी रुपा थिए । गाउँमै सामान्य काम गरेर पुर्नेले आफ्नो परिवार पालेको थियो । अब यो गरिब परिवारमा मेरो पनि खाने मुख थपिएको थियो । गाउँ सभाले दिएको चारमुरी कोदो आधी बेचेर पुर्नेले घरमा चाहिने सामानहरु जोड्यो ।

म त्यो घर भित्रिएको तीन महिनमा सम्म पनि पुर्ने र मेरो नाताले नाम पाएको थिएन । ऊ मलाई राधानानी भन्थ्यो म उसलाई पुर्ने । उसकी बहिनी रुपा भने मलाई भाउजु नै भन्थी । मलाई कस्तो पनि लाग्दैनथ्यो ।

एक साँझ पुर्ने कामबाट घरमा फर्किसकेको थिएन । मलाई असाध्यै पेट दुखेर आयो । मैले रुपालाई भनें उसले सामान्य नै हो भनेर तातो पानी पिउन दिई । पुर्नेका बाले पनि केही लागूपागु हो कि भन्दै भगवानलाई धूप बालेर पन्साए । तर मेरो पेट दुखाइमा केही कमी आएन । रात अबेला पुर्ने कामबाट फर्क्यो । उसले मेरो अवस्था नाजुक देखेर डोकोमा बोकेर गाउँको पारी रहेको स्वास्थ्य चौकी लिएर गयो ।

करिब एकघण्टाको हिँडाइ पछि हामी स्वास्थ्य चौकी पुग्यौं । त्यहाँ रहेका स्वास्थ्यकर्मीको धेरै प्रयाश पछि पनि मेरो गर्भ जोगिन सकेन । खेर गयो ।

मलाई यो घटनाले शारिरीक रुपमा कमजोर बनयो नै तर मानसिक रुपमा भने खासै आघात पुर्‍याएन । मेरो मनमा सन्तानको चाह थिएन थियो त केबल रामसर प्रति असिम घृणा ।

गर्भ खेर गएको एक महिनापछि म सामान्य भएँ । अब बिस्तारै पुर्नेको घरबाहिरको काम पनि गर्न थालेँ । टोल समाजमा पनि विस्तारै घुलमील हुन थालेँ । मलाई सबैजना राधानानी भन्थे । विस्तारै जीवन सामान्यीकरण हुँदै थियो ।

-0-

बजार पुगेपछी सबैजानाले आफ्नो इच्छा अनुसार खाजा खाए । अनि आफूलाई चाहिने सामान किन्न तितरबितर हुने अनि साँझ फर्कनका लागि पीपाल चौतारीमा भेट्ने भन्ने सल्लाह गरेर छुट्टियौं ।

साँझ आफ्नो सामानको खरिदारी पछि सबैजना पीपलचौतारीमा जम्मा भएर गाउँतिर लाग्यौं । घर पुग्दा झमक्क साँझ परिसकेको थियो । बजार गएर आएकाले मलाई निक्कै थकाइ लागेको थियो । बजारमै किनेको केही खानेकुरा खाएर मैले त्यो रात कटाएँ ।

बिहान झिसमिसेमै कसैले दैलो ढक्ढकायो । अल्छि मान्दै उठेर तल झरेर दैलो खोलें । हर्केका बाउ छोरा रहेछन् ।

"भाउजु हामी काममा फर्कन लागेका पुर्नेलाई भेट हुन्छ होला केही समाचार छन् त तिम्रा ?" हर्केका बाउले सोधे ।

"के भनम् र खोई । एकपल्छ घर आए हुन्थ्यो भन्देउ न भेटेमा  है ।" मैले औपचारिकताका लागि मात्र भनेको थिएँ । उनीहरु हरेक पल्ट घर आउँदा मलाई त्यसरी नै सोधेर जान्थे तर पुर्नेलाई भन्थे वा भन्दैनथे मलाई आजसम्म थाहा छैन । उनीहरु बिदा भए म आफ्नो दैनिकी काममा लागें ।

-0-

करिब एक वर्षसम्म पुर्ने र मेरो सम्बन्ध बेनामी नै रह्यो ।

एकदिन बारीमा काम गर्दै थियौं हामी ।

"पुर्ने, मलाई पत्नीका रुपमा स्वीकार्न तिमीलाई के कठिनाई छ?"

"घर बाहिर सबैले लोग्ने स्वास्नी मानेकै छन् त राधानानी ।"

"घर बाहिर मात्र हैन म घर भित्र पनि तिम्रो पत्नि बन्न चाहन्छु अब ।"

"सँगै सुत्नु वा सिउँदो भर्नु मात्र पत्नि हुनु हो भने त्यो त म गरुँला तर अरु सुख म दिन सक्दिन राधानानी ।"

"मलाई सुख केही चाहिन्न पुर्ने । खाली तिम्री हुने मन छ अब उप्रान्त ।"

उसले केही भनेन जवाफमा मुसुक्क हाँस्यो मात्र ।

दशैंको टीकाको दिन पुर्नेले मलाई सिन्दुर पोते दियो । अब म घर बाहिर मात्र नभै घर भित्र पनि उसकी आधिकारिक पत्नि भएँकी थिएँ । मलाई यसैमा खुशी थियो ।

समय वित्दै गयो । एकदिन रुपाले पनि आफुले पल्लो गाउँको धनेलाई मन पराउने र उसै सँग गएँ भनेर कसैहात खबर पठाइ । पुर्नेका बाउ खुशी भए यो गरिबीमा छोरीको बिहे टर्‍यो भनेर ।

हाम्रो बिहे भएको चार वर्षसम्म पनि म आमा बन्न सकेकी थिइन । मैना रोकिए जस्तो हुन्थो तर अर्को महिना फेरी परसर्थें । केही गरेर पनि हामी बाबुआमा बन्न सकेका थिएनौं । तर पनि पुर्नेको मायामा कुनै कमी आएको थिएन । यस बीचमा पुर्नेका बा बिते ।

सामान्य पितृकार्य सकेपछी एक दिन पुर्नेले यहाँ गाउँमा भएको सबै जग्गा जमिन बेचेर अर्को गाउँमा बसाई जाने भन्यो । मलाई केही आपत्ति थिएन । हामीले सबै जग्गा जमिन मुखियाले तोकेकै दरमा उसैलाई जिम्मा लगाएर फागुनतिर अर्को गाउँ तिर लाग्यौं ।

नयाँ ठाउँमा धेरै जग्गा जमिन किन्न सकिएन । एउटा सामान्य सानो घर र त्यही घर वरीपरी सानो टुक्रा जग्गा मात्र आयो । पुरानो गाउँमा आफुले पाखुरी बजार्न सके वर्षभरी जेनतेन एकछाक खान पुग्ने जेथा त थियो तर बाउ बितेपछि पुर्नेलाई पटक्कै मन लागेन ।

नयाँ गाउँमा बिस्तारै छिमेकीहरुसँग हिमचिम हुन थाल्यो । त्यताका प्रत्येक घरबाट एक/एकजना मात्र भएपनि भारत तिर कमाई गर्न जाने चलन रहेछ । हाम्रो त बाध्यता नै थियो । गाउँमा गरेको बनिबुतोले खान पुग्दैनथ्यो । आफ्नो जग्गा जमिन पनि पर्याप्त थिएन ।

अर्को महिना हर्केका बाउसँग पुर्ने पनि कमाई गर्न भारत जानेभयो मलाई एक्लै छाडेर ।

भारत गएको चार महिना पछि पुर्ने फर्केर आयो । मुहार अलिक उदास देखिन्थ्यो । मैले धेरै पल्ट सोधेँ तर उसले भन्न चाहेन । मलाई पनि मैले केही गल्ती गरें किन भन्ने नलागेको होइन तर मैले मेसो पाउन सकिन ।

कोठा सफा गर्दैथें । पुर्नेको झोला पनि धुनुपर्‍यो भनेर निकालें । झोलामा केही छ कि भनेर हेर्दा कुनै अस्पतालको नाम लेखिएको काजग थियो । पुर्नेको नाम र अस्पतालको नाम त मैले बुझें तर के रोगको उपचार वा रिपोर्ट हो भन्ने मैले थाहा पाईन । पुर्नेलाई सोधें तर धेरै लामो प्रयाशपछि मात्र उसले भन्यो – "राधानानी म बाबु बन्न सक्छु ।"

मैले कुरा बुँझे अहिलेसम्म सन्तान नभएको मेरो कारणले रहेछ । उसले भारतमा आफुलाई जाँच गराएछ । अहिले चाँहि मलाई मेरो खेर गएको गर्भ प्रति पछुतो भयो तर जति पछुताए पनि त्यो सुध्रिनेवाला थिएन । कम्तिमा त्यही भएपनि त सन्तान त हुन्थो भन्ने कुराले मनमा पिरोलिरह्यो ।
उता भारतमा चेकजाँच गराएपछि पुर्ने पनि म सँग टाढा हुन थालेको थियो । बिदामा घर आउँदा पनि एकदुई दिनमात्र बस्थो र फर्किहाल्थ्यो ।

अब त हुँदा हुँदा सातबर्ष देखि ऊ मसँग थिएन । थियो त खाली उसको सम्झना अनि उसले तीन तीन महिनामा पठाउने गरेको पैसा ।

पुर्नेले दशैंमा आउँछु भनेर खबर पठाएकोले म अरु दशैंजस्तै यो दशैंमा पनि बाटो हेरेर बसेकी थिएँ ।

फुलपातीको साँझ कसैले ढोका ढकढकायो । मलाई एक मनमा पनि लागेको थिएन कि ढोकामा पुर्नेहोला भन्ने तर ढोका खोल्दा पुर्ने नै थियो । यसपाली ऊ मात्र थिएन उसका साथ एक तीनचार वर्षे बालख र एउटी काली आइमाई पनि थिइ । मेरो होश उड्यो मलाई ऊ पुर्नेकी अर्की स्वास्नी र बच्चा हो भनेर ठम्याउन एक सेकेण्ड पनि समय लागेन ।

के के सोचेर ढोकामा नै उभिइरहेकी थिएँ उनीहरु मलाई वास्ता नै नगरी कतिखेर भित्र पुगिसकेछन् पत्तै पाइन मैले ।

"हेर्नुस राधानानी मैले आफ्नो बंश बढाउन यो गर्नै पर्ने थियो । तपाइँबाट सन्तान नहुने नै भयो । मलाई माफ गर्नुहोला ।"

"ठीक छ पुर्ने यसमा मेरो केही गुनासो छैन । तर कती काली केटी यो अर्को राम्री भेटेनौ र ?" मैले ब्यंग गर्दै भने ।

पुर्नेले केही जवाफ गरेन खाली फिस्स हाँस्यो मात्र ।

राती आमाछोरालाई अर्को कोठामा छाडेर पुर्ने मेरो कोठमा आयो । केही नबोली खाटको डीलमा टुसुक्क बस्यो ।

"यिनीहरु नेपाली बोल्न जान्दैनन् राधानानी हिन्दुस्ताने भाषा मात्र बोल्छन् ।"

"हो र अनि कसरी माया बस्यो त नबोली नबोली ?"

"मायाको बोली नहुँदो रहेछ राधानानी ।"

मलाई कता कता आँखाको भावले रामसर सँग कक्षामा गरेको कुराहरु याद आयो र मन गह्रुँगो भयो तर मुहारमा आउने भावलाई मैले पहिले नै रोकेँ ।

"मैले अब उताको काम सबै छाडेर आएको हो । उता कमाएको पैसा सबै लिएर आएको छु । अब यता नै मिलेर केही गर्नुपर्छ ।" आफूसँग भएको कालो झोलाभरीको भारतिय पैसा देखाउँदै पुर्नेले मेरो मुहारमा हेर्‍यो ।

"पाँचलाख भारु छ राधारानी । यता केही गर्नु भनेर त्यही कालीका बाउले देका हुन् । उता यसलाई दहेज भन्दोरेछ । लिन्न भन्दा पनि मेरो छोरीको भविष्यको लागि भनेर दिएका बुढाले ।"
"यत्ति धेरै पैसाकालागि पो त्यो कालीलाई ल्याएको तिमीले ?" व्यंगात्मक पारामा मैले भनें ।
पुर्नेले केही जवाफ दिएन । त्यो रात ऊ मसँगै सुत्यो ।

हामीले केही जमिन जोड्यौं । गाउँमा सानो किराना पसल पनि राख्यौं । मलाई सानै देखि बाख्राहरु पाल्न मन पर्थ्यो । पुर्नेले मेरा लागि भनेर विकासे जातका दुई माउ पाठा बाख्रा पनि किनिदियो । म खुशी थिएँ ।

यसरी हाम्रो परिवारमा नसोचेको खुशी आयो । अब हामी सबैजना सँगै थियौं ।

केही समय पछि मलाई मेरो मैना रोकिएको थाहा भो । मैले खुशी पुर्नेलाई सुनाएँ । ऊ पनि खुशी भयो । बेकारमा अर्को बिहे गरेछु भनेर पछुतायो तर मैले उसकी कान्छीकै कारण हामी सुखी भएको बताएपछि मख्ख परेकोथ्यो पुर्ने ।  

म घरको काम गर्थें । पुर्ने र उसकी कान्छी खेतबारी र पसलको काम गर्थे मिलिजुली । केटो पनि स्कुल जान थालेको थियो । रमाइलो पारामा नेपाली बोल्न सिक्दैथे आमा छोरा । हामी कहिले काँही उनीहरुले नेपाली बोलेको सुनेर हाँस्थ्यौं पनि ।

एकदिन बाख्राका लागि घाँस लिन म नजिकको जंगलमा गएकी थिएँ । भुइँघाँस त्यति मन पराएर नखाने हुनाले मैले रुखको स्याउला झार्ने बिचार गरेँ र नजिकैको खनायोको रुखमा चढें कम्मरमा खुर्पा भिरेर । दुई हाँगा माथि पुगेपछी रिँगटा लागेजस्तो भयो । आँखामा अँध्यारो छायो सम्हालिएर तल ओर्लन खोज्दा खोज्दै हाँगा भाँचिएर म तल खसें त्यसपछि मलाई केही थाहा छैन ।

2 comments:

  1. राम्रो लाग्यो
    लेख्दै जानुस शुभ कामना

    ReplyDelete
  2. शब्दहरु निकै राम्रो छन्.. राम्रो लेखाई..
    आझै लेख्दै जानुस.. शुभकामना

    ReplyDelete

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...