Tuesday, January 21, 2020

तिमी, क्षितिज अनि मौनता (कविता)


कसको मनमा को हेर्न सक्छ र
तिमी त आफ्नै भए नि टाढियौ
म तिम्रो नजिक हुन कहिले सकिन
तर तिमी पनि त सामिप्यता मन नपराउने मान्छे !

क्षितिजले सँधै आकाशलाई छोएको भान हुन्छ
तर वास्तविकता त्यो कदापी हुँदैन
समय र सान्दर्भिकता कति टाढाका कुरा हुन् ?
तिमी सदा एक्लो बस्न मन पराउने ।

म तिमीलाई एकाग्रता भंग गर्न दिन्न प्रिय
मेरो मन अशान्त भए पनि म शान्तिप्रिय !
देश अशान्त हुँदा बुध्द मूर्ति मौन छ
अनि मेरो मौनताको मूल्य के ?

यदि यही नै मान्यता हो भने किन धुँवाको बिरोध ?
धुँवा जीवनको अन्तिम सत्य हो अनि मेरो मौनता पनि ।
म जीवन भर मौन रहन सक्दिन मायालु
तिमी जति शान्त छौ नि त्यो समुद्र होइन ।

पानीको छालले मलाई कदापी छल्दैन
तर तिमी ! तिमी त सदा उद्यत छौ किन ?
तिम्रो मायामा छल छ म भन्दिन तर
मेरो माया पनि त्यो दृष्टिभ्रमवाला क्षितिज होइन ।
२०७६, प्रवास

No comments:

Post a Comment

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...