आसपास चिता जलिरहे
केवल धुँवा मात्र देख्ने तिम्रा नजर
अनि चित्कार नसुन्ने कानहरू
म कसरी चिच्याउँ र तिमीलाई ब्युँताऊँ ?
मनको द्वारमा बसेको द्वारपाल अति छुद्र रहेछ
सामन्तीका तमसुक जस्तै
तर पनि तिमी हलचल नगरी एकाग्र बस
अनि नाकका पोरा थुन, गन्ध नपसोस् चिताको ।
पानी परोस् वा हुरी चलोस् तिमीलाई केही नहोस्
दुर्बल मर्दा तिम्रा शक्ति थपिउन्
अनि गरिब रूँदा तिम्रो श्री बढोस् ।
भन्न त धेरै सक्थें तर तिम्रा कान सुन्दैनन्
वेशरम हाँसो कस्तो सुहाएको तिमीलाई
मानवता बेचेर घर घडेरी जोड्दा, झन् आहा !!
व्यापर होस् त यस्तो फकाउन नपर्ने, बेच्न नपर्ने
बस् कान बन्द गरे मात्र काफी ।
छायाको माया तबसम्म जब दिन रहन्छ
अनि रात्रीको राक्षस हावी हुने तिम्रो हृदय
पाषाण कमलो होला बरू है !
मैले मागेको पाउनु पर्दैन कहिले पनि
केवल तिम्रो चाह पुगोस्,
म मरी रहुँ अनि तिमी धरहरा ठड्याइरहु !!
No comments:
Post a Comment