Wednesday, December 16, 2020

जीवन बामे सरेन !

 कमी के मा थियो थाहा छैन

तिमी र तिम्रा भावनाको कदर

सँधै गरेको मैले

जीवन कहिले बामे सरेन ।


आमाको न्यानो काख छाडेर

जङ्गगली काँडा समातेको बेलैमा 

पानीको मुहान थुनिन कहिले

तर पनि जीवन बामे सरेन ।


आकाशका  पंछी कावा खाँदै

मेरा रहरहरू सल्किए दन्दन्

रगतको भेल बगेकै हो 

तै पनि जीवन बामे सरेन ।


कामना कसैको थिएन मनमा

सजावट तिम्रो मात्र सर्वथा

काँचका भाँडा जसरी फुट्यो मन

तर पनि जीवन बामे सरेन ।

Sunday, October 11, 2020

प्रिय काल (कविता)


भावनाका लासहरु अनायास पछ्याइरहेका छन्

चितासम्म पुग्ने बाटो खोजी गर्ने कसरी होला?

तिम्रा अवयवहरु एकएक गरेर झर्दैछन्

जुन मनोदशा साथ भएपनि चिता भेटिएन।


आमाका दुधका धाराहरु सुकिसकेका छन्

नितान्त तिर्खाएको मन, कहाँ गएर बिसाउने होला

तिमी आउन सक्दैनौ भने धुँवा  नउडाउँदै राम्रो

विकल्प केही न केही पक्कै होला त चिताको?



भाग्य पढ्न सक्दैनौ भने, आँखा बन्द गरेकै राम्रो

कामका बेला अविच्छिन्न यात्रा,  मृत्युवरणका लागि 

नविन विकल्पको खोजि गर्दैगर्दा  घाइते हुनुपर्दछ

झल्यास्स ब्युँझिदा वरिपरि आगो सल्किरहेको किन?



आत्मामा पारिएका घाउहरु एकहोरो दुखिरहेका छन्

तिमी कतै साथ हुन सक्दैनौ भने क्षितिजको लागि के काम

विकल्पको खोजीमा आमा गुमाउन सकिन्न

प्रिय लाग्यो भन्दैमा भगवान बोकेर हिँड्न चाहन्न ।



म त  पहिलेदेखि नै रूष्ट मान्छे, तिम्रो सोचाइमा

कल्पनाका कुरा मबाट सधै टाढा रहेका हुन्छन्

तिमी रमाउन सक्छौ भने कल्पना तिम्रो साथै छ

मलाई त केवल वास्तविकता भित्रको चिता प्यारो छ।



कुमालेको चक्र झैं फनफनी घुमेको मेरो जिन्दगीमा 

तिम्रो आगमनको कुनै अर्थ छैन होला सायद

तर पनि म कसैको व्यग्र प्रतीक्षा गरिरहेको हुन्छु

किनकी काल पनि उत्तिकै प्रिय लाग्छ मलाई। 


२०७७




Saturday, August 15, 2020

रजस्वला र समाज (लेख)


प्रकृति र पुरुषको मिलनबाट मानवजातिको सृष्टि भइ वंश परम्परा कायम रहन्छ। सृष्टिलाई निरन्तरता दिने प्रकृति रुपी नारी जब वसन्त ऋतुमा पक्रेको फूलझैँ गर्भधारण योग्य हुनका लागि 'रजस्वला' हुन्छन् त्यसैलाई आम बोलिको भाषामा 'महिनावारी' वा 'पर सर्ने' वा 'नछुने हुने' भन्ने गरिन्छ। तर अन्धविश्वास तथा भ्रमको कारण हाम्रो समाजमा अझै पनि अनिसेचित अंडा नाश भएपछि नारीको पाठेघर सफा गर्ने प्राकृतिक मासिक चक्रलाई पापको संज्ञा दिँइन्छ जुन सर्वथा प्रकृति र सृष्टिको अपमान हो।
रजस्वलाको समयमा महिलाले केही गर्न हुँदैन, मासिक श्रावका दिनमा पापी हुन्छे भन्दै घर भित्रको सामान्य क्रियाकलापहरु जस्तैः खाना पकाउने, पूजापाठ लगायतका अन्य कुनै पनि कामबाट बन्चित गरिन्छ। कतिपय स्थानमा त रजस्वलाका समयमा घरभन्दा निकै पर सानो अँध्यारो छाप्रो बनाएर एक्लै राख्ने चलन पनि छ जसका कारण निर्दोष नारीले सर्पको टोकाइ तथा बलात्कार जस्ता जघन्य अपराधको शिकार हुनु परिरहेको तितो सत्य हामीमाझ हाँसिरहेको छ।
किशोरी अवस्थामा हुने प्रथम रजस्वलाका समयमा कुनै पुरुष र सूर्यको प्रकाश नहेर्ने, पानी र आगो लगायत अन्य कुनै पनि वस्तु छुनु नहुने भन्ने मूढ मानसिकता व्याप्त छ। खाली जमिनमा समेत टेक्नु हुँदैन भन्ने, कोही कसैसँग भेटघाट गर्न नदिई अन्धकार कोठाभित्र बाइस दिनसम्म थुनेर राख्ने अवैज्ञानिक कुप्रथा अझै पनि कायम नै छ।
कुनै कुनै समुदायमा यस्ता कुराहरुमा विस्तारै परिवर्तन हुन सुरु गरेपनि अझै सोचाइमा परिवर्तन भई सकेको छैन। यो भ्रम हटाउन पुरुषको साथ र सहयोग चाहिने भए तापनि पुरूषहरुमा उदासिनता देखिएको छ। स्वयं महिलाहरुले पनि यसमा आफुबाटै परिवर्तन गर्नुपर्छ भन्ने भावना निक्कै कम पाइन्छ। आफूले भोगेका कुरा आफ्ना कलिला छोरीहरुलाई पनि भोगाउन उद्यत नै देखिन्छन्, कुल घरानाका शिक्षित महिलाहरु पनि। कसैले न कसैले त यसको परिवर्तनका लागि सुरुवात गर्ने पर्छ, पहलकदमी नै नगरी कुनै कुराको परिवर्तन सम्भव हुँदैन।
राज्यको पनि स्पष्ट नीतिको कमजोरी कायमै छ। विद्यालयस्तरका शिक्षामा यस विषयमा पर्याप्त चिन्तन मनन र पढाई हुने गरेको देखिदैंन। रजस्वलाका समयमा कक्षा छाड्ने युवतीहरुको संख्या अझै पनि उल्लेख्य नै छ ग्रामिण तथा अर्धशहरी क्षेत्रमा पनि। शहरी क्षेत्रमा पनि पूर्णरुपमा यसको सकारात्मक पक्षको आशा गर्न सकिन्न।
प्रतिनिधि घटनाः
जब मेरो प्रथम रजस्वलाको संकेत देखियो मैले आफ्नी आमालाई भनें। आमाले मेरो हातमा तान्दै अब घरमा बस्न हुन्न अरुको घरमा जानुपर्छ भन्दै श्रावण महिनाको झरीमा रुझाउँदै मितिनीको घरमा गएर बस्नु भनी लिएर जानुभयो। म घरबाट निस्केर कहिले पनि कहिँ न गएकी छोरी अब कहाँ जाने होला? किन घरमा बस्न नहुने होला? अब के हुने होला? आदि कुराले मनमा पोलिरह्यो। बाटोभरि रुँदै गएँ। त्यहाँ पुगेर घरको मान्छेलाई आमाले सबै कुरा भन्नुभयो र छोडेर आउनु भयो। मितिनीकै भए पनि म त्यो भन्दा पहिले त्यस घरमा बसेकी थिइन। राइ परिवारको घर थियो। हाम्रो घर परिवेशभन्दा फरक। मलाई खाना खान पनि मन लाग्दैनथ्यो। सबै नौलो वातावरणलाई मैले कति दिनसम्म त स्वीकार गर्नै सकिन। आमा र अन्य परिवारको ज्यादै याद आउँथ्यो। रोएर दश दिन बिताएपछि भोलिपल्ट आमा लिन आउनुभयो। बाइस दिनलाई एघार दिनमा झारेको रे भन्दै।
मेरो मनमा यो भोगाइबाट बिद्रोह पैदा भएको थियो तर बिद्रोहलाई मनमा नै बन्द गरेर राखेकी थिएँ। यस्तो गर्नुहुन्न र मैले सक्ने हुँदा कसैलाई यस्तो गर्दिन र गर्न दिन्न भन्ने मनमा अठोट लिएको थिएँ। घर आएपछि मलाई याद भयो आमा रजस्वला हुँदा त सधैं घरमै बस्नु हुन्थ्यो तर मैले र अरु दिदी बहिनी सबैले अर्काको घरमा बस्न जानु पर्ने चाहिँ किन होला भन्ने लाग्थ्यो।
एकदिन आमालाई सोधें। उहाँले 'बुवा, दाजूभाइलाई र घरको धुरी हेर्न हुन्न रे यदी हेरेँ भने माइतीका घरभित्र बसेमा देवता भाग्छन् र घर अपसगुन हुन्छ रे' भन्नु भयो। 'तर विवाह गरेपछि भने चाहिँ पर्दैन' भन्नुभो। आमाले पनि 'रे' मात्र कुरा गर्नु भएकोले मलाई उहाँको तर्कमा चित्त भने बुझेको थिएन।
बाबाले सधैं घरमा धार्मिक ग्रन्थ पढेको सानैदेखि सुनेकी थिएँ। त्यही सम्झना गरेरे फेरि सोधेँ 'आमा देवीहरुलाई पनि यसरी नै रजस्वला हुँदा हामीले झैं बार्थे कि उनीहरु उनीहरुको चाहिँ हुँदैनथे कि उनीहरुको पनि अलग बस्ने ठाउँ हुन्थ्यो र? मैले कतै लेखेको वा देवीको मन्दिरमा उनका लागि अलग्गै ठाउँ बनाएको त देखेकी छैन।' मेरा प्रश्नमा आमा निरुत्तर हुनु भयो। मनमा म यो प्रश्न बाबालाई सोध्छु भन्ने अठोट लिएँ। बाबालाई सोध्ने हिम्मत त आएन। फेरी आमाकै मार्फत् बाबालाई सोधें। बाबाले 'भगवान र मानिस एकनाश हुँदैनन्, छोरी मान्छेले धेरै बोल्न हुन्न' भन्दै मलाई वेवास्ता गर्नुभयो। मेरो मनमा बिद्रोह झन् झाँगियो।
त्यसपछिका दिनहरुमा भने घरको काम सबै मैले नै गर्नु पर्ने भएकोले पनि होला महिनाको चार दिन केही कामा गर्न नपर्दा खुशी नै लाग्थ्यो।
आफूलाई पहिलो पटक रजस्वला हुँदा अर्काको घर गएर बस्दाको पीडा जस्तो अरुले भोग्न नपरोस् भन्ने ठान्थें। मेरा दाजूका दुई छोरीहरू जन्मे। ठूला पनि भए। म पनि शिक्षिका भएँ। विद्यार्थीहरुलाई पनि यो बारेमा सम्झाउने गर्थें। घरमा बहिनीहरुलाई पनि तिमीहरू कहीँ जानु पर्दैन नडराउनु भन्ने गरेको थिएँ। जब ठूली नानीमा रजस्वलाको संकेत देखियो मैले उनीलाई घरबाहिर लाग्ने कुराको डटेर बिरोध गरें। हामी सबै नारीले उनलाई घरमै राख्ने सल्लाह गर्यौं तर फेरी बुवादेखि सबै डराए। मैले हिम्मत गरेर नानीको उमेर सानै भएकाले पनि यति बेला उसलाई घर परिवारकै साथ चाहिन्छ भनेर बुबालाई फकाएँ। यो सामान्य प्रकृतिको नियम त हो नि यसमा अन्यथा लिनु पर्ने कारण केही छैन भनेर नानीलाई कहीँ नलाने अडान कसे पछि बुबा पनि सकारात्मक देखिनुभयो। मैले घरका महिला मण्डलीको मन सजिलै जितेँ। बहिनीहरुलाई रजस्वालका बेला पनि घरमै राख्न सफल भएकोमा मेरो खुशीको सिमा रहेन। एउटा सानो कुरा भए पनि परिवर्तन गर्न सके अरु त हुँदै जान्छ भन्ने लागेर निक्कै खुशी भएँ त्यसदिन।
नानीलाई विद्यालय पनि निरन्तर पठायौं। गाउँमा यो कुराको हल्ला भयो। म र मेरो परिवारको निकै कुरा काटियो। अब त्यो घरमा छोरो जन्मन्छ कि आश पनि यही पापकर्मले मर्योर पनि भन्न भ्याए। तर हामीले कसले के भन्छन् पर्वाह नै गरेनौं। आफ्नो काम निरन्तर जारी नै राख्यौं। नानीको प्रथम रजस्वलकको पाँच महिनापछि मेरो बुबाको निधन भयो। कुरा काट्नेहरु लाई आगोमा घिउ थपे जस्तै भयो। गाउँमा पढे लेखेका शिक्षित भन्नेहरु पनि जम्मा भएर हाम्रो कुरा काट्न थाले।
एक दिन दश बाह्र जनाको महिला समूह बसेर हाम्रै परिवारका कुरा काटिरहेका रहेछन्। गर्न मिल्ने नमिल्ने सबै काम गरेपछि त्यस्तै हुन्छ, बिरामी नै नभएको मान्छे एक्कासी मर्नु पर्योम भन्दै। हाम्री आमाकी कानमा ति कुरा परेछन् र सेतो लुगामा हुनु भएकी आमाले 'तिमीहरुले पढेको यही हो? मेरी छोरीले पढ्ने अक्षर र तिमीहरूले पढ्ने अक्षर फरक-फरक छन् कि उही हुन्? एउटी नारीमा सृष्टि बचाउनका लागि हुने नियमित प्रक्रिया भएकी हाम्री नातिनी घरमै राख्दा मेरो लोग्ने मरेको भए आफ्ना बच्चीहरु घरमा नराख्नेहरूका घरमा पनि त मृत्यु हुन्छ नै। एउटी त राख्यौं अरुपनि छन् उनिहरुलाई पनि घरमा राख्छौं। सक्छौ भने आफ्ना बच्चीहरु पनि घरमै राख नत्र नारी भएर नारीकै माया नगरी कुरा काट्ने काम नगर आफूलाई पनि परिवर्तन गर' भनेर बम्किदिनुभएछ।
आमाले यति भनिरहँदा मेरो खुशीको सीमा रहेन। मैले भन्ने कुरा आमाले भनि रहनुभएको थियो। हिजोकी आमा र आजकी आमामा पुरै परिवर्तन भेटै मैले।
सुरुमा नयाँ कामको थालनी पक्कै गाह्रो नै हुन्छ अब जो जसले त्यसबेला हाम्रो कुरा काटे अहिले उनीहरुका छोरी पनि रजस्वलाका समयमा घरमै राख्न थालेका छन्। यसलाई मैले ठूलो सफलता ठानेकी छु र खुसी पनि।
-0-

यी सबै कुराहरु भ्रम मात्र हुन् नकि कुनै अपराध। प्राचीन समयमा कसले, किन, कुन कुराबाट प्रभावित भएर, कसलाई खुशी बनाउन लेखेका मनगणन्ते लेखाइका पुस्तकहरुका आधारमा यो भ्रम सृजना गरिएको हुनुपर्छ भन्ने ठम्याई छ।
हरेक महिलाले आ-आफ्नो ठाउँबाट यो भ्रम चिर्ने हो भने पक्कै आउँदो पुस्तालाई सहज र सरल हुनेछ। यसमा पुरुषको भूमिका पनि नकार्न सकिने अवस्था भने छैन।
विशेष गरेर ब्राह्मण समुदायमा यो चलन बढी देखिन्छ। जनजाति वा बौद्धिक धर्मलम्बीहरुले यो महिनावारीको कथित (कु)नियम मान्दैनन् किन त्यो समुदायका महिला चाहिँ अलग हुन् र? सृष्टिको जिम्मेवारी पाएका नारी सबै पुजनीय र वन्दनीय छन्।
मैले सुनेको एक प्रसङ्गः धार्मिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार स्वर्गका राजा इन्द्रलाई कुनै बेला ब्रह्महत्याको पाप लाग्यो। पछि इन्द्रलाई त्यो पापबाट बचाउन ब्रह्माले ब्रह्महत्याको पाप अग्नि, जल, वृक्ष र नारीलाई बराबर भाग लगाई इन्द्रको पाप हटाइदिएका थिए रे। र सोही कारण महिलाले महिनामा एक पटक रजस्वला हुनुपर्छ रे।
पाप इन्द्रले गर्ने अनि महिला कसरी पापिनी हुने? फेरि एउटै पाप बाँडेको पानी, अग्नि र वृक्ष कहिले अशुद्ध नहुने नारी मात्र कसरी अशुद्ध हुने? सबैभन्दा पवित्र तिनै अग्नि, जल, बृक्ष नै मानिन्छन्। त्यही अग्निमा हवन गर्नुहुने, हर कुरा सफा गर्न र जीवनलाई चलाउनसमेत जल चाहिने। सँगसँगै पाप बाँडिएका भनिएका सबै मध्ये नारी मात्र कसरी अपवित्र हुने?
महिला भन्दा पनि किशोरीहरूलाई हो बढी समस्या हुने समुदायमा। विद्यालय जाने उमेरकालाई घरमा र विद्यालयमा रजस्वलाका बेला मानसिक प्रभाव पर्न नदिन के कस्ता उपाय गर्न सकिन्छ त्यो सरकारी तवरबाट नै सामुदायिक रुपमा पहल गरिनु पर्ने हुन्छ। विद्यालयमा प्याडको व्यवस्था गर्ने, कसैलाई रजस्वलाका समयमा टाउको दुख्ने, पेट दुख्ने, डर लाग्ने जस्ता समस्या आउन सक्ने भएको कारण विद्यालयमा शिक्षिकाले र घरमा आमा दिदीबहिनीले बुझी उनीहरुको समास्या संवोधन गर्नु पर्ने पनि हुन्छ।
यो मान्ने वा नमान्ने भन्ने भन्दा पनि हाम्रो आफ्नो परम्परा, सामाजिक, धार्मिक कारण र समाजमा फैलाइएको नचाहिने हल्लाले गर्दा नै यस्तो अवस्था आएको हो भन्न सकिन्छ। हिन्दु धर्ममा हरेक चाडपर्व, विवाह, पूजा, मृत्यु संस्कार आदिका सहभिगतामा बन्देज लगाइएको कारणले बार्नैपर्छ भन्ने मानसिकता व्याप्त छ। जतिसुकै पढेलेखेपनि पनि हामी नै मन्दिर जाने, पूजामा जाने या कतै मान्छे मरेको ठाउँमा जाने गर्दैनौं। हाम्रो पुस्ताले दोहोरो भूमिका खेलेको छ जहाँ आमाहरूले भन्दै आउनु भएको कुरा पनि मान्नुपर्छ र आफू पछिको पुस्तालाई पनि यो गलत हो भनेर सिकाउनु पर्ने हुन्छ।
यी सब भ्रम हुन् त्यसैले यो भ्रम हटाएर परिवर्तन गर्दै जानुपर्छ। घनाबृक्षका रुपमा जरा गाडेको यो भ्रम सजिलै नहट्ला तर क्रमैसँग चेतना फैलाएर निर्मूल गर्न अति आवश्यक छ। यो कुनै पाप होइन। एउटी नारीको मानव सृष्टिलाई बचाइराख्न सक्षम हुने प्रक्रिया 'रजस्वला' केवल नियमित प्रकिया मात्र हो, प्राकृतिक नियम हो, यस बारे सकारात्मक सोच बनाई कथित भ्रम हटाउनै पर्छ।

Tuesday, July 14, 2020

अजीवित कामना (कविता)


Pashupati Aryaghat staffers exposed to risks of COVID-19 in lack ...

सँधै आकाशमा छरपष्ट भएका काला बादलहरु
तिम्रा सुन्दर प्रतिरुप लाग्थे मलाई पहिले पनि
आजभोली त तिनमा चाँदीका घेरा थपिएछन्
मायाको रूप पनि किन सँधै एकनाशे हुँदैन
आखिर तिमी कहिले त्यसको पर्याय बन्न सकिनौ।

चिताबाट उठेको धुँवाको मुस्लो अनि मेरो मन
अबिरल बहेका आँशुका धारामा को बग्ने अब ?
मन भित्रको चाहना त उहिल्यै बालुवा भयो
रक्त कोषिकाहरू पूर्णरूपेण सुख्खा भए
मेरा धमनीहरूमा कसैको याद बाँकी हुन नदिनू।

आमाको गर्भमा त मैले पीडा भोगिन होला
तर याद छैन तिमीसँग बितेका सुवर्णपलहरू
प्रकृतिको माया र कसैको सम्झना तुलना कसरी
आफ्नै खुट्टामा बञ्चरो हान्ने प्रयाश विफल भएको छ
तर पनि म आफ्नो मृत्यु आफ्नै हातबाट चाहन्न।

तिमी किन मेरो हृदय चोटका लागि अग्रगामी छौ
आमाको छातीको दूधको धाराले पाप पखाल
सुकेका रक्त बिन्दुहरूमा आफ्नो प्यार नखोज
ति त केवल मृगतृष्णा सावित हुनेछन् तिम्रा लागि
म फूल रोप्छु तिमी काँडाको स्याहार गर्न उद्यत।

रविको लालिमा क्रान्ति खोज्ने तिमी प्रतिक्रान्ति पनि सहू
यदि चाहना मरेकै हो भने पनि आफ्नालाई नमुछ कहिले
किन गोली र बारूदको गन्ध मन पर्दैन तिमीलाई अब
बिना क्रान्ति त केही संभव छैन भन्थेऊ त सदा अनि
रक्त क्रान्तिका गीतहरू अझै कानमै गुन्जने नै छन्।

आजको दिन तिमीले याद गरिनौ भने भोलि कसरी बन्ला
बिना भोलि आजको महत्व कदापी नहोला हाम्रा लागि
फूल नझरी कुनै बीज नबन्ला, तै पनि श्राप नदेऊ है
अमू्र्त जीवन जिउने कला कसले सिकाउला र?
अब हामीले साथ मर्नु वा जीउनु अर्थ बिहीन भयो ।

असारे भेलमा बहेका आफ्ना अन्तिम चाहनाहरू
म किन भदौको उष्णतामा खोज्दैछु बिना अर्थ
बचेराको आवाजले पनि तिम्रो मातृत्व पलाएन त
किन अरूलाई दोष दिने आफ्नै हृदयमा खोट छ भने
लाशको आत्मा वा आत्मामा लाश किमार्थ भेटिन्न ।

म अब आफूमा तिमीलाई खोज्दिन कहिले पनि
मान्नु पनि छैन मलाई ति विष घोलिएको मृदुता
शिरमा हथौडा हानेर पनि जीवन पाउन सकिन्छ
तर त्यति धेर लालसा पनि पलाएको छैन जीवनमा
शत्रुको हातको पानी र आफ्नै प्रतिछाया उस्तै लाग्छ।

शहरका सलहहरू अनि तिम्रा भ्रमका शब्द लहरी
बाबुनानीका क्रन्दन अनि आमाको चित्कारको मूल्य
अविरल बगेका दूधका धाराको मूल्य हीनता कसरी
एक प्रकृति अर्को प्रति निर्दयी कसरी बन्ला हेरूँ त
म त मान्दिन ति सबै भ्रमका खेती हुन् भनेर कदापी।

बागमती धमिलो भइरहदाँ मेरो मनमा स्वच्छता कहाँ र
तिम्रो सुगन्ध पनि त मिहीन भएको छ, लाशको गन्ध सामु
गिद्दहरुको भीडले लुछेका आफ्नै लाशको प्रतिछाया
कसरी शून्यतामा हराउला र हाम्रो माया अनि भाव
म त मरूँला तर तिमीलाई केही नहोस् मेरो कामना ।

२०७७ असार

Saturday, July 11, 2020

प्राकृत चाह (कविता)





बहार कुर्दै बसेको धेरै भयो, तर कुनै संकेत देखिएन
प्रकृतिले त छल गर्न जानेको हुन्न, तर कसरी भयो ।
उनको मोहनी रूप पनि त, आजकल गायब नै छ
फूलको सुवास कहाँ ‍ओझेल परेको होला, खै कुन्नि ।

इन्द्रेणीका रङ्गहरूमा मादकता नभेटिएला, तर पनि
जीवनका अवयवहरू, वालछ्याल छन् भन्ने लाग्छ ।
क्यानभासमा रङ्गको कमी हुँदा, रक्त लेपन अमान्य
बगरका बालुवा उडेको आकृति, मन पर्न थालेको छ।

सपनीका द्वार कसैले खट्खटाएको त हैन कि, शायद
मनको भ्रम मात्र पनि त हुन सक्छ, अन्यथा नमाने मा ।
चित्कार सुनिएको हो, तर रिपु कतै देखिएको छैन
मन भित्रको त्रास अझ उजागर भएर, पो कि भन्ने लाग्छ ।

सागरमा पानीको अंश पनि, बिलिन नभएको हो र
तिमी भित्र माया लुके जस्तै, कण कणमा भर पर्नु
कमिलाका ताँती पनि त आज देखिएन्, उपवनमा
सुरिलो स्वर कहाँ हरायो कोइलीको, डर के को ?

जे होस् भावनाका पुलहरू बाँध्दै गरे पियारी, हिडौंला
रमाईलो जीवनकै हो, मृत्युमा त शोक, अन्यथा नसम्झ
आफन्त पनि अब पराई हुने भन्ने, धराको चाह नै हो
प्रकृतिको माया मार्दिन म त, मिल्छु यसैमा सदाका लागि।


असार २०७७

Friday, July 3, 2020

अहसज माया (कविता)



काँडेतार लगाएको मनमा तिमीलाई छेक्न हैन
आखिर म पनि त सीमाको रैति हुँ आजका दिन
फूलको उपवन उजाडिएको बेला व्यर्थ लाग्ने रहेछ
कि त भँवरा नत्र पुलती मात्र पनि सुन्दरता हैन नि।

धूलोमा लट्पटिएको मेरो स्थुल शरीर किन हेलाँ
मिल्ने धुलो मै त हो नि सबैले आखिर एक दिन
पानीमा छायाँ हेर्दा पानीको स्थीरताको माने के
उम्लिएको रगतका वाफमा म किन माया खोजूँ।

भावना छालहरू कहिले पनि उद्वेलित नहोलान्
तर पनि छरपष्ट भएका मनका टुक्राहरू सँगालू
कलरब पनि मलाई कर्कश लाग्दै छ किन अचेल
पानीको ध्वनी र मुटुको चालमा के भिन्नता छ र।

ओसिलो मन भएकाहरू संसारमा रहन्नन कदापी
ज्वालामूखी विष्फोट नहुँदासम्म सधैं शान्त नै हो
आफ्ना पदचापहरूमा नविनता कहिले आउला र
अब त मलाई आश पनि छैन कि मृत्यु आउला भनेर।

आमाका पीडा अनि देशको माटो मेरा गहना हुन्
म उनलाई कहिले पनि माया नगर्न सक्दिन अब
जसरी पनि जिउनु छ हरदम मात्र सान्त्वना नदेऊ
म आँफै आगो सल्काउँला आफ्नै लाशमा चुपचाप।

असार २०७७

Thursday, July 2, 2020

दलन हृदय (कविता)





पलपल मर्नुको मज्जा पनि त छुट्टै छ जीवनमा
बगरका ढुङ्गाजस्ता असमान ईच्छाहरु पालेर
रङ्गिन फूलहरू पनि लाशमा परिणत भए आज
मन्दिरको घण्टा जस्तो जीवन, मेरो तिम्रै कारण।

पूजा कसैको गरूँ, सुन्ला वा नसुन्ला प्रार्थना उसले
किन बेकारमा, आफ्नो रगत सुकाउँ भन्ने लाग्छ
सुन्नु पर्नेले कहिले सुनेन, अब म पत्थरमा जीवन खोजूँ?
अबिर दल्दैमा भगवान हुने भए, मेरो लाशमा दल।

फूलको बास्नाको मादकता, म तिमीमा खोज्दिन
म फेरी एकैनाशे भूल गरेर, मुटु छियाछिया किन पारूँ?
आफन्त त छैनन धरामा, केवल एक्लो हुनु नियती हो
तिमी वा म र म वा तिमी, पनि त एकाकार हुन सकेनौं ।

व्यर्थको चाहना पालेर, मन दुखाउनु वा मुटु फुलाउनु
किन पानीको मोलमा, तिमी रक्त कोषिका बेच्दै छौ
थाहा छ त, मसँग त्यति धेरै धैर्यता पनि साथमा छैन
कि पानी रगत बनुञ्जेल, आरामले पर्खन सकुँ एक्लै ।

विषको प्यालामा, म आफूलाई हराउन सकूँला कि
नत्र, तिम्रो सम्झना मात्र पनि त काफी नहुँदो होला
अविरल बगेको नदीको धारमा, म त हेलिन सक्दिन
तर तिमी धक्का दिन चाहन्छौ भने, म तयार छु है ।

भाग खोसेर खानेहरू यहाँ, सर्थवा माथि नै रहन्छन्
तर आज म त खोसेर पनि, तल परेको तुच्छ प्राणी हूँ
शितका थोपा पनि उष्ण लाग्ने मौसम, मेरा लागि
हिमवत पात्र कदापी नघुसाऊ है, मेरो दलन हृदयमा ।

असार २०७७

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...