Monday, June 29, 2020

अन्तिम चाहना (कविता)







मानवताको खोल ओडेर, तिमी कुन ओडारमा लुक्यौ
म रगतमा लत्पतिएका पाइला, लिएर आउँदा किन झुक्यौ
धूलो त धरतीको, सबैलाई गन्छ तर तिमी सक्दैनौ किन?
तिम्रो हृदय पाषाण भएको त, म जान्दिन तै पनि भन ।

आकाशबाट झरेका शितका थोपामा प्यास बुझाउँला
अनायाश रक्त पिपाशु लामखुट्टेको झैं भुनभुनाउँला
हावाले गति फेरे पनि, म उस्तै मूर्धन्य नै रहूँला लयमा
आफ्नै हृदयको चाल म सुन्न सक्दिन, आखिरी वयमा ।

जन्मेको पनि त कसैका लागि होईन, आखिर किन पीर
यो, त्यो, मेरो, तेरो पनि त मलाई लालसा छैन, जीवन भर
गर्भ तुहिएको भए पनि मृत्यु नै हो, अन्यथा अबको पनि
बाँचेर सार नहुँदा आफ्ना, कहाँ गनिन्छन् र प्यारो ठानी ?

तिम्रो इशारामा नाच्ने, कठपुतली नबनाऊ न है पियारी
म त जीवन मिमांसा बोकेर हेर्छु, सदा चौकोस उघारी
किन अब पानी अनि, रक्त कोषिका सुके मेरो तनमा
प्रेमिल मातृत्व त कहाँ लुक्यो, आज सफेद बादलमा ।

भगिनी अञ्जुली भरी माया, लिएर आइन मेरा साथमा
किमार्थ उठ्न सक्दिन आमा, तिम्रा हात देउन माथमा
चिताको धूँवा उठ्दै गर्दा आज, म बिकल्प बिहीन भएँ
रहू खुशी र सुखी पियारी तिमी, सदाका लागि बिदा भएँ ।

 २०७७ असार ।

Saturday, June 27, 2020

पोखिएको पिरती (कविता)



सगरमा चन्द्रमा देखिँदा, तिमी किन लुकेको आँचलमा
म मात्र हैन नि तिमीलाई लुकेर हेर्ने संसारमा, अरु नि छन्
आकाश चम्किदाँ म झसङ्ग भएको थिएँ, शायद त्यतिखेर
आफन्त हातमा काँडा बोकेर तिम्रो स्वागत गर्दैनन् र?

किन हो धरती त्यति खुलिनन् आज, म सँग रिस छ र?
लुकेका तिम्रा नजर फेरी झुक्न किन थाले होला
आँशु नबगाऊ तिमी, मसँग पुछ्ने हैसियत छैन
साथमा भएको रेशमी रुमाल पनि हावामा उड्यो।

खहरे झैं म गडगडाउन सक्दिन, म मा त्यति लचकता छैन
तिमी त तैपनि नारी हौ र त, म बाध्य पार्न सक्दिन आज
रुनु हाँस्नु नियती नै होला हाम्रो, र त धड्कन शुन्य छ
म कोषिकामा मात्र बहुँला भन्ने, रगत छरपष्ट छ आज।

पोखिएको पिरती म उठाउन सक्दिन, मेरा हात लुला भए
म अन्यमनस्क हेरिरहुँला तिमीलाई, तिमी न लजाउनु है
धरतीको धूलो पनि हावाको झोक्कामा केही उड्ला
तर रहन नसक्ला धेरै वेर व्योममा, अनि फेरी धरतीमा ।

पानीमा म छायाँ खोज्न पनि लागि परेको हो, तर स्थीर छैन
बहाव उसको उस्तै तर म रोकिन सक्दिन, उसका साथ
घडीको टिकटिक पनि मेरा लागि तोपका गोला लाग्छन
एकनाश सीमामा पड्किएका बन्दुकहरुले धुवाँ उडाए झैं ।

असार २०७७

Thursday, June 25, 2020

आमा, तिमी र चिताको धुँवा (कविता)

चाह म किन नगरुँला र तिम्रो समिप हुने सदैव
केवल बालुवामा पानी नहाली के को स्वार्थ होला र
आकाशले क्षितिज छोए झैं लाग्ने पनि उनलाई नै हो
म त उपवन भित्रको पतझड बूढो पंछी बिहिन रुख ।

आस्था केवल मनमा मात्र भएर हुने हैन नि त यहाँ
मन भन्दा माथी के होला र उत्पातै गर्नु पर्ने तिमीले
आमा अनि म सँधै साथमा हुँदा किन माया कम भन्नू
तिमी पनि आफ्ना ति सन्तानलाई दिनू नि मायाँ टन्न।

उदाउँदो सूर्यको लालिमा अनि पंछीको कलरब
तिमी चाहन्नौ चिहानको बाटो म हिँडेको केवल
देखेका कुरा मात्र सही नहोलान् भनेर पनि मान न
म त सधैं फूल बोकेर मन्दिर जान्न तर नि भगवान् छ।

आत्मा रोएको कसले देख्छ म त जन्मै नेत्रहीन हुँ
उनको हात नसमाएको पनि शताब्दि भए झैं लाग्ने
आमा थिइन् र पनि तिमी चाहिएको हो कि मलाई
ईशको दया होईन मलाई केवल प्रकृति भए हुन्छ।

म पूजा गर्दिन तिम्रो तर बरदान माग्छु मनले मात्र
भाव बुझ वा नबुझ त्यो तिम्रो साक्षरता हो है प्रिय
कल्पना पनि सुन्दर गर्न नसक्दा बेहाल छ मन यहाँ
किन आफूलाई जलाएको धुँवा देख्न सक्दिन र, म ??

२०७७ असार

Wednesday, June 10, 2020

बसन्त मन पर्दैन र ? (कविता)

तिमी नजिक हुन सक्दिनौ किन मलाई दोष दिन्छ्यौ
तिम्रो मन सँधै फराकिलो नै भयो केवल म संकुचित
चाहना हावामा कौवा खाने बेला तिमी मौन रह्यौ
मैले त्यो पनि त कहिले सिकिन तिमीबाट किन?

परिदृश्यहरु फेरिदैं गए तर मेरो मन कहिले फेरिएन
तिम्रा लागि मैले सँधै द्वार खुल्ला गरें तर केही लागेन
अरु कसैको प्रवेश पनि त स्वाकार्य भएन होला शायद
किन म आफूलाई एक्लो महसुस गर्न पाउँदिन र ?

आकाशले क्षितिज छोएको देखिन्छ सदा कसरी
तर तिमी नजिक हुनासाथ फेरी टाढा हुन्छ भ्रम मात्र
मृगतृष्णा पनि त बेकार नै साबित भएको भन्ने होइन
चाहनाका पुलती किन बेमौसमी फूलमा आकर्षित भए?

पवनलाई मन्द हुनु पर्ने अनि तिमी चाहिँ सदा तिब्र कसरी
आमाका माया  तिमीमा पाउन थालें भने त्यो के होला
उनी त गइन् तर तिमी साथमा हुन पनि त सकिनौ नि
दूधको मूल्य त चुकाउन सक्दिन तर म बिर्सन पनि चाहन्न।

केवल आफ्नो नियतीमा मात्र स्वार्थ तिमी नदेख न है
हावा र पानी पनि त जीवनका अंश हुन् ति तिमी समान
माया त पाउँला तर कहिले मन दुखाउनु हुन्न मैले
तिमी सदा त्याग्न उद्यत किन हो र बसन्त मन पर्दैन र ?

२०७७ जेष्ठ

Sunday, May 31, 2020

मेरो मन र प्रकृति (कविता)

आहा कति राम्रो छटा तिम्रो मन नै हर्ने सधैं
तर धेरै बेर रहेन तिम्रो त्यो रुप बदिलयो
मन खिन्न भयो अनि अविच्छिन्न यादहरु हराए
तिमी त प्रकृति हौ रुप फेर्न सक्छ्यौ तर म ?

म कहिले पनि तिम्रो सामुन्ने उदाङ्ग हुन सक्दिन
चाहेर पनि तिम्रो चाह भन्दा पृथक हुन सक्दिन
तर मेरो पनि त रक्तरंजित मन न हो खोलेर हेर्दा
जे होस् राम्रोको लागि होस् मात्र भन्न सक्दिन ।

बाढी पहिरो अनि हावाहूरी तिम्रा रुपहरु
केश फैलाउँदै दाह्रा किटेर किन गड्गडाएकी
आज त धूलोको चक्रवातमा तिमी नमिठो मुस्कायौ
म त झसङ्ग भएँ तर के गरूँ मेरो मुटु कामेन ।

आखिर कहिलेसम्म तिमी बिकृत रहने र भन्या
मलाई तिमी सुन्दर भएको मात्र मन पर्छ
सर्वथा त्यो पनि त नहोला कि मैले चाहे जस्तो
आखिर तिमी प्रकृति आफूमा सन्तुलित तिम्रो गुण ।

मलाई केही नभन केही नगर म भन्छु नै तर तिमी नसुन्ने
आमा रोएको अनि तिमी रोएको उस्तै लाग्छ मलाई
सन्तानका सुखका लागि रोऊ अझ रोऊ झमझम रोऊ
म रोक्न सक्ने हेसियत राख्दिन केबल म निरीह हेर्छु मात्र ।

२०७७ जेष्ठ

Saturday, May 23, 2020

देश अनि मानवता (कविता)

वरीपरी छरिएका धूलोका कणहरु
तिमी संगाल्न सक्दिनौ भने कदापी
किन अबिच्छिन्न यादहरु पालेकी छ्यौ र
मान वा नमान तिमी म भन्दा पृथक कण हैन ।

भावनामा तरङ्गित हुने तिम्रो पुरानो बानी हो
तर केशराशी किन फैलाएको तिमीले
उदार हुनु र मन दुख्नु फरक कुरा हो
तैपिन तिमी न उदार न दुःखी किन ??

देशको माटो प्यारो हुने यहाँ अनि कण पनि
विदेशी भूमिमा जीवन उत्सर्ग गर्दा पनि
माया देशकै लाग्ने मलाई हरदम प्रिय
म त छिन्नभिन्न हुन सक्दिन तिमी र देश बीच ।

म भन्दिन किन तिमी उदास अचेल पियारी
हावा सधैं मायालु पनि त नहोला जगमा
माया त आखिर माया नै हो जसरी बहे पनि
पानीमा बहेको माया हावा तिमी नखोज है ।

मलाई ईश बन्नु त छैन केवल मनुष्य हुँ
त्यो त उसै भइने रहेछ किन चाहियो र मानवता
मलाई उदास देखेर मानव भाग्यो भन्न मिल्दैन
उदासीनतामा तिमी र म उस्तो लाग्छ अमानव ।

आमा र प्रेयसी (कविता)

म कहाँबाट आएँ धरतीमा भनी कहिले सोधिन
आमा को हुन् भनि कसैलाई किन सोधुँ म तैपनि
जीवन केवल अंकुरण मात्र पनि त होईन होला
किन सँधै तिमी मेरी आमाको मात्र कुरा गर्छ्यौ ?

आमा मात्र मेरी जननी हैनन् उनी पूजनीय पनि हुन्
तिम्रा धारीदार शब्दहरु पनि हाँसेर सहन्छिन् उनी
मैले पूजा नगरे पनि सदैव आशिर्वाद उनकै हुन्छ
तिमी पनि आमा बन अनि ज्ञान होला महत्ता उनको ।

कोपर्नु अनि चिथोर्नु किन आमालाई दूधको धारा पिएपछि
नमागे पनि त तिमीले पाएकै हो धरतीमा जीवन आज
आमा मात्र तिम्रो मन हुन् न कि थुल शरीरको भारी
म त भन्छु मन्दिर किन जाने जहाँ पत्थर मात्र छ ।

मनको भगवान आमा अनि आमा नै प्रकृति हुन
तिम्रो नशा नशामा आमाका रगत बगेका छन् हैन र
तिमी दोषी नबन है प्रिय तिमी पनि त आमा बनौली
अनि दूधको धारा चुसाउँदै शैशवकाल महसुस गरौली ।

मन्दिर किन धाउने अनि भगवान किन पुज्ने यहाँ
मानव योनीमा जन्म दिएर अमृत पिलाउने काम गर्ने
आमा जब मसँग छिन् भने तिमी पनि सोच एकबार
जीवन कहाँ होला  र बिना आमा अनि तिमी पनि बन एकबार ।

२०७७ जेष्ठ

शक्तिहीन माया (कविता)

सागर किनारा लम्पसार परिरहेछ मायाका आधारहरु शक्तिविहीन भएका छन् केवल चरीले आवाज मात्र सुनाई दिन्छ तर चरी कहाँ छ कसैलाई थाहा छैन यस्तै-यस्तै भ...